नेपालीहरूको ठूला चाड पर्व क्रमशः नजिकिँदैछन् । बालकदेखि वृद्धसम्म हरेक उमेर समूहका आम व्यक्तिलाई यी चाडको रौनकले राम्रैसँग छुन्छ ।
जसरी आम व्यक्ति अनि हरेक क्षेत्रमा चाडबाडको रौनक हुन्छ, चलचित्र क्षेत्रका लागि पनि यी चाडबाड प्रतिक्षामा हुन्छन् । तीज, दशैं अनि तिहारमा ठूला लगानीका चलचित्रको प्रदर्शनमा प्रतिस्पर्धा हुन्छ । कारण हलमा बढी दर्शक आइपुग्ने र चलचित्रले राम्रो व्यापार गर्ने आशा । तीज त गइसक्यो । बिस्तारै दशैंको रौनक शुरू हुँदैछ ।
विगतजस्तै यसवर्षको दशैं पनि चलचित्र क्षेत्र र चलचित्रकर्मीका लागि प्रतिक्षित छ । यसवर्षको दशैंमा दुई ठूला ब्यानर र चर्चित अनुहारका चलचित्र प्रदर्शनमा आउँदैछन् ।
हप्तामै ३/४ वटा चलचित्र प्रदर्शनमा आउनु सामान्य नै बनिसकेको अवस्थामा यस वर्षको दशैंमा भने एउटा मितिमा एउटा मात्र चलचित्रले प्रदर्शनको अवसर पाएका छन् । असोजको तेस्रो सातादेखि कात्तिकको पहिलो सातासम्म प्रदर्शनमा आउने चलचित्रहरू यी हुन् जसलाई निर्माता, निर्देशकले दर्शकका लागि दशैंको कोशेली भनेका छन् ।
ʻनिर्जलाʼ
दशैंको दिनभन्दा झण्डै २ साताअघि सिनेमाघरमा चलचित्र ʻनिर्जलाʼ रिलिज हुँदैछ । राजु गिरीद्वारा निर्देशित चलचित्र आउँदो शुक्रबार अर्थात् असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको हो । ʻड्रिम गर्लʼ प्राविधिक कारण देखाउँदै पछि सरेपछि निर्जलाले सोलो रिलिजको मौका पाएको हो ।
चलचित्रमा किशोर खतिवडा, शुभेक्षा थापा, राजकुमार थापा, पल्पसा ढंगोल, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् । महिलाका विभिन्न कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा दशैं विशेष गीत समेत समावेश छ ।
ʻनिर्जलाʼलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । रवि कोइरालाको छायांकन, अशोक खड्काको द्वन्द्व, कमल राई र क्रान्ति केसीको नृत्य निर्देशन रहेको चलचित्रलाई तारा थापा ʻकिम्भेʼले सम्पादन गरेका हुन् । चलचित्रका निर्देशक गिरीले ʻनिर्जलाʼ आफ्ना अघिल्ला चलचित्रभन्दा पृथक रहेको बताएका छन् ।
ʻछक्का पञ्जा –३ʼ
ʻछक्का पञ्जा ३ʼलाई छायांकनताकाबाटै दशैंमा प्रदर्शन हुने भनेर प्रचारप्रसार गरिएको थियो । यो चलचित्र असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउँदैछ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रलाई वर्षकै बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।
चलचित्रमा दीपकराज गिरी, दिपिका प्रसाईं, केदारप्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), बुद्धि तामाङ, विल्सन विक्रम राई, निर शाह, शिवहरी पौडेले लगायतको अभिनय छ । चलचित्रमा नायिका प्रियंका कार्की अतिथि कलाकारको भूमिकामा देखिँदैछिन् ।
यस्तै नायिका वर्षा राउत, संजोग कोइरालाले चलचित्रमा समावेश गीतमा अभिनय गरेका छन् । कमेडीसँगै सामाजिक तथा शैक्षिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन्
भने सुमन गिरी ‘भाञ्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रूपमा रहेका छन् । चलचित्रमा समावेश ʻपहिलो नम्बरमाʼ र ʻपछि उमेर ढल्किन्छʼगीतलाई दर्शकले रुचाएका छन् ।
ʻजय भोलेʼ
दशैंमा ʻछक्का पञ्जा ३ʼसँग एउटै मितिमा प्रदर्शनमा आउने चर्चाका बीच पछि सरेको चलचित्र हो, ʻजय भोलेʼ । यो चलचित्र असोज ३० अर्थात् फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदैछ । अशोक शर्मा निर्देशित चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धारा भुसाल, लक्ष्मी गिरी लगायतको अभिनय छ ।
खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रको निर्मातामा किरण शर्मा, कृति शर्मा र अंकित शर्मा रहेका छन् । पुराना निर्माता तथा निर्देशक शर्मा झण्डै १२ वर्षपछि ʻजय भोलेʼमार्फत् चलचित्र निर्माणमा फर्किएका हुन् । कमेडी कथावस्तुमा निर्माण भएको यो चलचित्रलाई पनि दर्शकले वर्षकै प्रतिक्षित चलचित्रको रूपमा हेरेका छन् ।
ʻछक्का पञ्जाʼ र ʻजय भालेʼले एकअर्कामा असर
दशैंको अवसरमा फरकफरक मितिमा ३ चलचित्र प्रदर्शनमा आएपनि दुई चलचित्र भने एकअर्काको असरमा पर्नेछन् । असोज २४ अर्थात घटस्थापनाबाट प्रदर्शनमा आएको चलचित्र ʻछक्का पञ्जा ३ʼ को व्यापारलाई फूलपातीबाट प्रदर्शनमा आउने ʻजय भोलेʼले असर गर्ने देखिन्छ । त्यस्तै ʻजय भोलेʼको व्यापारलाई ʻछक्का पञ्जा ३ʼको असर रहनेछ ।
ʻछक्का पञ्जा ३ʼ ले ३० गतेसम्म सिंगल प्रदर्शनको अवसर पाएपनि ३० गतेबाट ʻजय भोलेʼ हलमा लागिसकेपछि छक्का पञ्जाको शो घट्नेछ । त्यस्तै ʻजय भोलेʼले पनि भनेजति शो नपाउने सम्भावना देखिन्छ ।