काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिनुभएको छ ।
काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७ औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुख भएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘लैंगिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो,’ उहाँले भन्नुभयो, ‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुसीको कुरा हो ।’
प्रतिनिधिसभाका १० मध्ये ६ वटा समितिमा महिला सांसदहरुले नेतृत्व गर्नुभएको छ भने राष्ट्रिय सभाका ४ मध्ये दुई र २ संयुक्त समितिमध्ये एकमा महिला सांसदले नेतृत्व गर्नुभएको छ ।
उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनका लागि मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन निर्माण भइसकेको स्मरण गराउँदै कानुन निर्माण प्रक्रियामा सहभागिता जनाउन कानुन व्यवसायी महिलाहरुलाई अपिल गर्नुभयो । उहाँले स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपमेयरले पाउनुलाई सुखद अवसर भन्दै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाहरुको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने अपेक्षा राख्नुभयो ।
यसैबीच शनिबार नै काठमाडौंमा तेह्रथुम सरोकार समाजले आयोजना गरेको कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फेले संविधान कार्यान्वयनमा सहयोगी हुन आग्रह गर्नुभयो । ‘सामाजिक संघ संस्थाले संविधान कार्यान्वयनमा सहयोग गर्न सक्छन्,’ उहाँले विशेष आग्रह गर्नुभयो, ‘तपाईंहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।’
कार्यक्रममा उपसभामुख डा. तुम्बाहाङ्फेसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाका सांसदद्वय डा. विजय सुब्बा र भवानी खापुङ तथा प्रदेशसभा सांसदद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वालाई सम्मान गरिएको थियो ।
Previous Articleतातोपानी कुण्डद्वारा वेभसाइट सञ्चालन, कुण्डलाई लकर सहयोग
Next Article रुप्से दैनिक ! असोज ७, २०७५