प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित रहेको तातोपानी कुण्डको आफ्नै वेभसाइट निर्माण भएको छ । कुण्डमा स्नान गर्न आउने सर्वसाधारणलाई लक्षित गरी तातोपानी कुण्ड व्यवस्थापन समितिद्वारा वेभसाइट निर्माण गरी सञ्चालन गरिएको हो ।
कुण्डको व्यवस्थापन समितिले बनाएको वेभसाइटको शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको कुण्डले जनाएको छ । सञ्चालनमा ल्याइएको वेभसाइडको नाम www.tatopanikunda.com राखिएको छ । जिल्लाभन्दा बाहिर रहेका तथा देश विदेशसम्म तातोपानी कुण्डको बारेमा इन्टरनेटको माध्यमबाट जानकारी गराउने उद्देश्यसहित वेभसाइट डिजाइन गरी सञ्चालनमा ल्याइएको जनाइएको छ ।
वेभसाइटको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले उद्घाटन गरेका थिए । यसैबीच तातोपानी कुण्डमा नुहाउन आउने सर्वसाधारणहरुको भीड लागेपछि आइतबारदेखि महिला र पुरुषको छुट्टाछुट्टै पालो निर्धारण गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिएका छन् ।
यसैगरी तातोपानी कुण्डमा नुहाउन आउने सर्वसाधारणहरुलाई लक्षित गर्दै लायन्स क्लब अफ बेनी महारानीले लकर सहयोग गरेको छ । कुण्डमा स्नान गर्न आउने सर्वसाधारणको कपडा राख्नका लागि १२ ओटा कोठा क्षमता भएको ३० हजार रुपैयाँ बराबरको लकर कुण्डलाई हस्तान्तरण गरिएको हो । कुण्डको माग अनुसार कुण्डमा नुहाउन आउने मानिसहरुको सरसामान, नगद र बहुमुल्य सामानलाई सुरक्षित गर्न लगर उपलब्ध गराइएको लायन्स क्लबले जानकारी दिएको छ ।
उक्त लकर लायन्स क्लबका एमजेएफ लायन सन्तोष रावल, रिजन चियरपर्सन दिपु श्रेष्ठ, जोन चियरपर्सन प्रमिला जोशी श्रेष्ठ, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष हिरा शर्माले कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा एमजेएफ सन्तोष रावल, जोन चियरपर्सन प्रमिला जोशी श्रेष्ठ र बेनी महारानीका अध्यक्ष हिरा शर्माले मन्तव्य राखेका थिए ।
कार्यक्रम तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यको अध्यक्षता, सचिव कृष्ण खड्काको सञ्चालन र सदस्य रामप्रसाद अधिकारीको स्वागतमा सम्पन्न भएको थियो ।
Previous Articleदशैंको टीकाको साइत बिहान १० बजेअघि नै
Next Article संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखदः उपसभामुख