-प्रताप बानियाँ
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा १३३ जना शेयर सदस्य रहेका छन्भने कुल शेयर पुँजी दुई करोड दुईलाख ३२ हजार ९०० रुपैयाँ रहेको छ ।
यसैगरी सहकारीले २७ करोड ५१ लाख ६५ हजार ५०९ रुपैयाँ लगानी गरेको छ भने २९ करोड ४२ लाख ६४ हजार १७३ रुपैयाँ बचत रहेको जनाएको छ । सहकारीले गृह निर्माण, व्यापार, कृषि, उद्योग, हायर पर्चेज, शिक्षा, वैदेशिक रोजगार लगायतका विविध क्षेत्रहरुमा लगानी गरेको जानकारी दिएको छ ।
साधारणसभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारी संघसंस्था समाज परिवर्तन र रुपान्तरणको संवाहक भएको बताएका छन् । उनले सहकारीले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिमा जोड दिनुपर्ने भन्दै अहिलेको परिवर्तित सन्भर्दमा राज्यले सहकारी संघसंस्थालाई लगाएको करको दायरामा समायोजन हुनुपर्ने बताएका थिए ।
सहकारीका सल्लाहकार हरिकृष्ण श्रेष्ठ र संस्थापक शेयर सदस्य प्रमोद श्रेष्ठले सहकारीमार्फत आर्थिक रुपमा विपन्नको जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रमहरु सञ्चालन गनुपर्नेमा जोड दिएका छन् । साधारणसभाको अवसरमा सहकारीले गत शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसइइमा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्ततितर्फ विश्वास केसीलाई प्रशंसापत्रसहित नगद सातहजार पाँचसय रुपैयाँले पुरस्कृत गरिएको थियो । त्यस्तै सुरभी श्रेष्ठ, मौनता श्रेष्ठ र सजिव श्रेष्ठलाई प्रशंसापत्रसहित नगद एक÷एक हजार रुपैयाँले पुरस्कृत गरिएको छ।
त्यसैगरी ज्येष्ठ नागरिक सम्मानतर्फ ज्येष्ठ शेयर सदस्य भेजबहादुर रावल, उत्कृष्ट कारोबार गर्ने संस्थातर्फ नेपाल बाल सङ्गठन बेनी म्याग्दी, उत्कृष्ट कारोबार गर्ने दिव्याकुमारी मल्ल र उत्कृष्ट कर्मचारीतर्फ सहकारीका कार्यालय सहयोगी लिलाबहादुर थापा क्षत्रीलाई दोसल्ला ओढाई प्रशंसापत्र, नगद र मायाको चिनो प्रदान गरेर सम्मान गरिएको थियो ।
साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष रमेश गिरीले प्रगति, कोषाध्यक्ष एकेन्द्रबहादुर रावलले आर्थिक र लेखा संयोजक माधवप्रसाद रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleरुप्से दैनिक ! असोज ६, २०७५
Next Article विश्वामित्र सहकारीको सातौं वार्षिक साधारणसभा