एजेन्सी – रेष्टुरेन्टको खाना खानु एकजना व्यक्तिका लागि यति महंगो सावित भएको छ कि उनले आफ्ना हात गुमाउनु परेको छ ।
दक्षिण कोरियामा एक जना व्यक्तिले आफ्नो हात गुमाएका छन् । उनले रेष्टुरेन्टमा गई सुशी नामक परिकार (माछा र भातबाट बनेको) खाएर फर्किएलगत्तै उनको हात एकाएक कुहिन थालेको हो ।
रेष्टुरेन्टबाट फर्केको १२ घण्टाभित्रै उनले आफ्नो हातको छाला कुहिन थालेको अनुभव गरे । हेर्दाहेर्दै उनको हत्केलामा ठूलो फोका उठ्यो । हत्केलाको माथिल्लो भागको छाला पनि गल्न थाल्यो अनि त्यस्तै बडेमाको फोका उठ्यो ।
दुई दिनसम्म उनले असहनीय पीडा झेले । त्यसपछि जब उनी डाक्टरकोमा पुगे तब उनको हात कुहिनुको कारण पत्ता लाग्यो । वास्तवमा मासु खाने ब्याक्टेरियाको संक्रमणका कारण उनको हात यस्तो भएको रहेछ । डाक्टरले तत्कालै उनको हातबाट पिप निकाले । तब त्यतिबेलासम्म ढिलो भैसकेको थियो ।
ती व्यक्ति पहिलेदेखि नै मधुमेहबाट पीडित थिए । उनी मिर्गौलाको पनि रोगी थिए । डाक्टरहरुले उनलाई सुईबाटै एन्टिबायोटिक्स औषधि दिए, जसले उनको अवस्था झनै गम्भीर भयो ।
उनको अवस्था झनै बिग्रिदै गएको र हातको संक्रमणमा पनि सुधार नआएको हुँदा डाक्टरहरुले ती ७१ वर्षे वृद्धको ज्यान बचाउनका लागि उनको संक्रमित हात काट्न बाध्य भए ।
हात काटेर फ्याँकेसँगै ती व्यक्तिको स्वास्थ्यमा तीव्र गतिमा सुधार आयो । डाक्टरहरुका अनुसार सुशी खाएकै कारण ती मानिसमा छालाको संक्रमण भएको हो ।