खाडी देशहरू साउदी अरब र कतारबीच चलिरहेको कूटनीतिक विवाद झनै चर्किएको छ ।
साउदी अरबका अधिकारीहरूले एउटा यस्तो नहर बनाउने योजना ल्याएका छन् जसले छिमेकी मुलुक कतारलाई प्रायद्वीपबाट पूर्ण द्वीप बनाउनेछ ।
साउदीका युवराज मोहम्मद बिन सलमानको वरिष्ठ सल्लाहकार साउद अल कहतानीले ट्विटरमा लेखे, ‘म व्यग्र प्रतीक्षाका साथ सलवा टापु परियोजना लागू हुने जानकारी समाचार कुरिरहेको छु । यो ऐतिहासिक परियोजनाले यस क्षेत्रको भूगोल परिवर्तन गरिदिनेछ ।’
यो योजना सफल भएमा कतार प्रायद्वीप भौगोलिक रूपमा नहरका कारण साउदी मुख्यभूमिबाट अलग्गिनेछ । यसो भएमा दुवै देशबीच विगत १४ महिनादेखि चलिरहेको विवाद झनै चर्किनेछ ।
यस विषयमा साउदी अरबले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन र कतारले पनि प्रतिक्रिया दिएको छैन ।
यसै वर्ष अप्रिलमा सरकारसमर्थक साउदी समाचार वेबसाइट सब्कले साउदी सरकार कतारसँगको सीमामा ६० किलोमिटर लामो र २०० मिटर चौडा नहर बनाउन चाहेको रिपोर्ट छापेको छ ।
रिपोर्टअनुसार, ७५ करोड डलर लागतमा बन्ने नहरबाहेक त्यहाँ आणविक फोहर फाल्नका लागि स्थान पनि बनाइनेछ ।
साउदी पत्रिका मक्काले जुनमा नहर बनाउने विशेषज्ञ पाँच कम्पनीसँग निवेदन मागिएको लेख्यो । विजेताको नाम सेप्टेम्बर महिनामा घोषणा गर्ने पनि लेखेको थियो ।
सन् २०१७ मा साउदी अरब, संयुक्त अरब अमिरात, बहराइन र इजिप्टले कतारसँग कूटनीतिक र व्यापारिक सम्बन्ध तोडेका थिए ।
उनीहरूले कतारमाथि आतंकवादलाई प्रोत्साहन गरेको र साउदीको घोर विरोधी इरानसँग निकट सम्बन्ध बनाएको भन्दै नाकाबन्दी लगाएका थिए । कतारले यी आरोपलाई अस्वीकार गर्दै आएको छ ।
अघिल्लो वर्ष उठेको विवादपछि प्रायद्वीपको कतारको एक मात्र स्थल सीमा साउदीले बन्द गरिदिएको थियो । बहिष्कार गर्ने छिमेकी मुलुकहरूले कतारको सरकारी विमानसेवालाई आफ्नो एयरस्पेस प्रयोग गर्न पनि प्रतिबन्ध
लगाएका थिए ।
हालत धेरै बिग्रेपछि यी देशले कतारका नागरिकलाई निकालेका थिए ।
बीबीसीबाट