एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । मलेसियामा बिहीवार सम्पन्न खेलमा युएईले नेपाललाई ७८ रनले निराश पार्यो ।
मलेसियामा २ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १७६ रन जोडेर निर्धारितभन्दा ७ बल अगावै अलआउट भयो ।
नेपालका लागि सुवास खकुरेलले ५०, दीपेन्द्र ऐरीले ४० र सोमपाल कामीले २७ रन जोडे पनि टोलीलाई जीतसम्म डोहोर्याउन सकेनन् । अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
युएईका अहमेद रजाले ४, मोहम्मद नभीदले ३ तथा अमिर हयातले २ विकेट लिए । बाँकी एक विकेट अस्फाक अहमेदको नाममा रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो ।
त्यसक्रममा चिराग सुरीले सर्वाधिक ६५ तथा अस्फाक अहमेदले ४५ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । १० ओभर बलिङ गर्दा २ मेडन राखेका लामिछानेले २४ रन मात्र खर्चिए ।
लामिछानेका अलावा वसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट हात पारे ।
आफ्नो पहिलो खेलमा युएईले सिंगापुरलाई पराजित गर्दा नेपालले ओमानसँग हार बेहोरेको थियो ।
प्रतियोगितामा नेपाल र युएईसँगै ओमान, हङकङ, सिंगापुर र मलेसिया सहभागी छन् ।
प्रतियोगिता जित्ने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्ने मौका पाउने छ ।