भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सदस्य राष्ट्रहरूबीच ‘कनेक्टिभिटी’ सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताएका छन् ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै मोदीले सो कुरा बताएका हुन् ।
व्यापारमा कनेक्टिभिटी, यातायातमा कनेक्टिभिटी, संस्कृतिमा कनेक्टिभिटी तथा जनतादेखि जनतासम्मको कनेक्टिभिटीले मात्र विकासको साझा लक्ष्य भेट्न सकिने उनको भनाइ थियो ।
उत्तरमा हिमालयदेखि दक्षिणमा बंगालको खाडी तथा हिन्द महासागरसम्म फैलिएका बिमस्टेक सदस्यहरू सबै विकासशील राष्ट्र रहेको भन्दै उनले आ-आफ्नो देशमा शान्ति, सुरक्षा र खुशी सबैको प्रमुख एजेन्डा भएको बताए ।
एक्लाएक्लै सो लक्ष्य पूरा गर्न नसकिने उनको भनाइ छ ।
साथै मोदीले बिमस्टेक सदस्य राष्ट्रहरूसामु विभिन्न अफरहरूसमेत गरे ।
आगामी महिना भारतमा संयुक्त सैन्य अभ्यास, जलवायु परिवर्तनको असरसँग लड्न जलवायु परिवर्तनसम्बन्धी सम्मेलन, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, भारतका विभिन्न विश्वविद्यालयमा सदस्य राष्ट्रका लागि छात्रवृत्ति, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनरोत्थानका लागि सहयोग, महिला सांसदहरूका लागि विशेष फोरम स्थापना लगायतका अफर मोदीले गरे ।
मोदीले आगामी अक्टोबरमा भारतमा हुने मोबाइल कंग्रेसमा सहभागी हुन सदस्य राष्ट्रहरूलाई निमन्त्रणा पनि दिए ।
उनले बिमस्टेकको चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकार र प्रधानमन्त्री ओलीलाई विशेष धन्यवाद दिए ।
भारत आगामी दिनमा पनि काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको उनको भनाइ थियो ।