‘ना उम्रकी सीमा हो, ना जन्म का हो बन्धन…
जब प्यार करे कोई, तो देखे केवल मन…’
प्रेमका लागि उमेरको सीमा र जन्मको बन्धनलाई तोड्ने कुरा गरिरहेको जगजित सिंहको यो गजल निकै चर्चित छ ।
प्रेममा उमेरको सीमालाई तोडेको यस्तै एक तस्बिर केही दिन अघि देख्न पाइयो, जब अभिनेत्री प्रियंका कार्कीले आफूभन्दा सात वर्ष कान्छा प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्गेजमेन्ट गरिन् ।
यो खबर सार्वजनिक भएपछि दुबै सेलिब्रिटीलाई बधाईको आइरो नै लाग्यो । दुबैको इन्गेजमेन्टको खबर र तस्बिर मिडियामा पनि निकै छाए ।
यस्तै, अर्की प्रियंका अर्थात् बलिउडकी प्रियंका चोपडाले पनि आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग भर्खरै इन्गेजमेन्ट गरेकी छिन् । यद्यपी, प्रियंका र अमेरिकी गायक निकले भने आफ्नो इन्गेजमेन्टको पुष्टि गरेका छैनन् तर उनीहरुले बधाईलाई पनि अस्विकार गरेका छैनन् ।
यी दुईको इन्गेजमेन्टको खबर पछि कुनै सम्बन्धमा उमेरको भिन्नताले के कस्तो महत्व राख्छ भन्ने मुद्दामा बहस हुन थालेको छ ।
जब महिला जेठी हुन्छिन्ः
एक वर्षअघि जब इम्यानुएल म्याक्रों फ्रान्सका राष्ट्रपति चुनिए तब उनी राष्ट्रपतिको गद्दीसम्म पुग्नुका साथै उनको वैवाहिक सम्बन्धले पनि चर्चा पायो ।
म्याक्रोंकी श्रीमती र फ्रान्सकी फर्स्ट लेडी ब्रिजेट म्याक्रों उनीभन्दा २४ वर्ष जेठी छिन् । जतिबेला इम्यानुएल स्कूलमा थिए तब ब्रेजिट उनकी शिक्षिका थिइन् ।
समाजमा एउटा आम धारणा छ कि विवाहका लागि महिलाको उमेर पुरुषभन्दा कम हुनुपर्छ ।
त्यसकारण यो प्रश्न उठ्छ कि महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग विवाह गरे यसले समाजमा वा व्यक्ति विशेषमा केही असर पुर्याउँछ ?
फोर्टिस र आइबीएस हस्पिटलमा म्यारिज काउन्सिलरको रुपमा काम गर्ने मनोवैज्ञानिक शिवानी मिसरी साढूले यसबारे बीबीसीसँग विस्तृतमा कुराकानी गरेकी छिन् ।
उनका अनुसार महिलाले कम उमेरका युवकसँग सम्बन्ध स्थापित गर्नु वा विवाह गर्नु, महिलाको पुरानो अनुभवको आधारमा हुन्छ ।
शिवानी यसबारे सम्झाउँदै भन्छिन्, ‘परिपक्व महिलाले आफ्नो पुरानो अनुभवबाट पाठ सिक्दै सम्बन्धलाई अघि बढाउँछन् । उनीहरुले आफ्नो जीवनमा केही सिकिसकेका हुन्छन् र एउटा उमेर पार गरेपछि आफूमाथि प्रभुत्व जमाउने खालका पुरुष चाहिँदैन भन्ने सोच्न थाल्छन् । यस्तो सोच राख्ने महिलाहरु कम उमेरका पुरुषसँग सहज महसुस गर्छन् ।’
समाजको दृष्टिकोणः
फिल्म ‘दिल चाहता हे’ मा अक्षय खन्नाले जुन पुरुषको भूमिका निभाएका छन्, उनलाई एक उमेरदार महिला मनपर्छ । उनलाई प्रेम गर्न थाल्छन् । यसबारे आफ्नो सबैभन्दा मिल्ने साथीलाई बताउँदा साथीहरुले उनको भावना बुझ्नुको साटो खिल्ली उडाउँछन् ।
यो फिल्ममा अक्षय खन्नामाथि खिल्ली उडाएको दृश्य वास्तवमा यस्तो प्रकारको सम्बन्धको वास्तविकता हो ।
काठमाडौंकी शान्ति पनि आफ्ना श्रीमान् भन्दा पाँच वर्ष जेठी छिन् । उनको विवाह २०६९ मा भएको थियो । श्रीमान्–श्रीमतीबीच आपसी सम्बन्ध निकै राम्रो छ तर कहिलेकाँही शान्तिका साथीहरुले उनलाई ‘तिमीले बच्चासँग विवाह गर्यौ’ भन्दै जिस्काउँछन् ।
शान्तिले यसको जवाफ हाँस्दै दिन्छिन् तर यस्ता ठट्टाले गम्भीर परिणाम निम्त्याउने शिवानी बताउँछिन् ।
म्यारिज काउन्सिलर शिवानीले यस्तो परिणामबारे भन्छिन्, ‘मेरोमा यस्ता व्यक्तिहरु आउँछन् जो आफ्ना साथीहरुको ठट्टा र आफन्तको टोकेसोका कारण झगडा हुने गरेको बताउँछन् । उमेरमा भिन्नता हुने भएकाले यसमा थप समस्या निम्तिन सक्छ ।’
उमेरमा भिन्नताको परिणामः
यदि जोडीबिच उमेरमा धेरै वर्षको ग्याप छ भने त्यसका विभिन्न परिणाम निम्तिन सक्छन् । जस्तै, यदि महिलाको उमेर ४० भन्दा बढि छ र उनको भर्खरै विवाह भएको छ भने गर्भाधान वा त्यससँग सम्बन्धित समस्या निम्तिन सक्छ । यस्तै, उमेर बढेसँगै मानसिक रोग पनि बढ्न थाल्छ ।
यदि दुई व्यक्ति समान उमेरका छैनन् भने उनीहरुको एक–आपसमा तालमेल स्थापित गर्न समस्या हुनसक्छ । बीबीसी रेडियो वानको एक रिपोर्ट अनुसार कम उमेरका व्यक्तिको सोच्ने तरिका भिन्न हुन्छ जबकी उमेरदार व्यक्तिको सोच फरक हुन्छ । त्यसकारणसोच्ने बुझ्ने कुरामा धेरै पटक मतभेद हुन्छ ।
यद्यपी, आपसी समझदारीको कुरा विभिन्न उमेरसमूह अनुसार परिवर्तन हुने गरेको उनी बताउँछिन् । यसबारे शिवानीले बिस्तारमा सम्झाउँछिन्, ‘जस्तै, एक जोडीमध्ये एकको उमेर २० वर्ष छ र अर्कोको ३० छ भने उनीहरुबीच आपसी मतभेद देख्न सकिन्छ तर अर्को जोडी ५० र ६० वर्षका छन् भने उनीहरुको समान मुद्दामा सहमती देख्न सकिन्छ । दुबै जोडीबीच १० वर्षको भिन्नता छ तर सम्बन्धमा एज बार महत्वपूर्ण हुने गर्छ ।’
शिवानी भन्छिन्, ‘जब हामी जवान हुन्छौं तब हाम्रो आशा, महत्वाकांक्षा भिन्न हुन्छन् । त्यतिबेला पाँच वर्षको भिन्नताले पनि फरक पार्छ तर जब उमेर ढल्कँदै जान्छ तब यही भिन्नता अनुभवमा परिवर्तन भएर सहमतीतर्फ ढल्कने गर्छ ।’
अमेरिकाको इमारी विश्वविद्यालयको एक अनुसन्धानका अनुसार यदि उमेरको भिन्नता अत्यधिक छ भने उनीहरु बीच सम्बन्धविच्छेदको आँकडा बढ्ने गर्छ । र्यान्डल ओल्सनले इमोरी युनिभर्सिटीको यो शोधमा what makes for a stable marriage ? नामबाट दुई भागमा रिपोर्ट जारी गरेका थिए । यी दुई भागमा बताइए अनुसार कुनै जोडीबीच उमेरको भिन्नता जति बढ्छ सम्बन्धविच्छेदको सम्भावना पनि त्यति नै धेरै बढ्ने गर्छ । यद्यपी, यो रिपोर्ट अमेरिकी जोडीमाथि आधारित छ ।
कस्तो हुन्छ सोच ?
पहिलो प्रश्न यो पनि उठ्छ कि आफूभन्दा कम उमेरका पुरुषसँग सम्बन्धमा रहनुपूर्व कुनै पनि महिलाको दिमागमा कस्तो विचार आउँछ ?
यो प्रश्नको जवाफमा शिवानी भन्छिन्, ‘हुन त सबै सम्बन्ध आपसी सहमति र रुचीका साथ सुरु हुन्छ । आफूभन्दा कम उमेरका पुरुषलाई मन पराउने बेला महिलाको दिमागमा एउटा मात्र कुरा चल्छ – पुरानो सम्बन्धलाई बिर्सनु । वास्तवमा युवासँग सम्बन्ध स्थापित गर्दा महिला पनि आफूलाई युवावस्थामा फर्किएको महसुस गर्छन् । उनलाई महसुस हुन्छ कि उनी अहिलेपनि आफूभन्दा युवालाई आकर्षित गर्न सक्छिन् ।’
यसको विपरित एक पुरुष आफूभन्दा जेठी महिलासँग सम्बन्ध कायम गर्ने बेला के कुरा सोच्छन् ? यसबारे शिवानी भन्छिन्, ‘पुरुषका लागि यस्तो सम्बन्ध एक तरिकाले कम जिम्मेवारीपूर्ण हुनेछ । उनीहरु एक अनुभवी साथीको साथ पाएर धेरैजसो जिम्मेवारीबाट बच्ने गर्छन् ।’
शिवानी थप्छिन्, ‘यो सम्बन्ध दुबैका लागि WIN-WIN को स्थिती हुन्छ । यदि दुबैको आपसी समझदारी राम्रो छ भने महिला र पुरुष एक अर्काको आवश्यकतामाथि पूरा ध्यान दिन्छन् । उमेरदार महिला आत्मनिर्भर हुन्छन् त्यसकारण पुरुषले उनीबारे धेरै चिन्ता गरिराख्नु पर्दैन ।’
यस्तो प्रकारको सम्बन्धमा पहिले नै बच्चाबारे योजना बनाइसकिएको हुन्छ । यदि एक २० वर्षका पुरुष र ३० वर्षकी महिला डेट गरिरहेका छन् भने सायद परिवारको योजनाबारे उनीहरु धेरै स्पष्ट नहोलान् तर यदि ३० वर्षका पुरुष र ४० वर्षकी महिला डेट गरिरहेका छन् भने उनीहरुबीच परिवारको योजनाबारे सहमती बन्ने गर्छ ।
उमेरको भिन्नताका कारण सम्बन्ध सफल र असफल भएका थुप्रै घटना छन् । बलिउड नायक सेफ अली खान र उनकी पहिलो श्रीमती अमृता सिंहबीच उमेरको ठूलो भिन्नता थियो, उनीहरुको विवाह सफल हुन सकेन । पछि सेफले आफूभन्दा धेरै कान्छी करिना कपुरसँग विवाह गरे ।