काठमाडौं, २६ असोज- नेपालीहरुले मान्दै आएको बडादशैंको टीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार गरेपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको छ । अमेरिकी राजदूतले दशैको टीका लगाएको र मुस्लिम धर्म मान्ने राष्ट्रियसभाका पूर्व अध्यक्ष मोहम्मद मोहसिनले दशैंको टीका लगाएको तस्बिर र उदाहरण दिंदै पत्रकार भानुभक्त आचार्यले प्रधानमन्त्री प्रचण्डलाई छविलाल काकाको नाममा संवोधन गर्दै लखेको छन्-
मान्यवर मान्यवर छविलाल काका,
देशको प्रधानमन्त्री तपार्इं टीका बहिष्कार गरेर बालुवाटारमै बस्नुभो भन्ने समाचारहरु आएका छन् । प्रधानमन्त्रीका रुपमा तपार्इंसँग टीका थाप्न चाहनेहरु कि शीतलनिवास (राष्ट्रपति कहाँ) गए, कि त निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र कहाँ) । आगामी निर्वाचनमा तपाइँका मतदाता बढे कि घटे होलान्, हिसाब गर्दै गर्नुहोला ।
कुनै धर्म वा संस्कृति मान्ने वा नमान्ने स्वतन्त्रता तपार्इंलाई छ । तर, दशैंमा टीका लगाएको भए, सांस्कृतिक पोशाक दौरासुरुवाल लगाइदिएको भए तपाइँको कथित क्रान्तिकारी छवि बिग्रने थिएन । बरु, ८१ प्रतिशत नेपालीहरुसँग सांस्कृतिक सद्भाव र सामिप्यता अझै बढ्ने थियो । अझ राजनीतिक नेताहरुले त जनसम्पर्कका लागि सांकेतिक रुपमा सबै कुराको नेतृत्व लिनु पर्ने हुन्छ ।
यहाँलाई थाहै होला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मोहम्मद मोहसिन दशैंको टीका थाप्न राजदरबार जान्थे । उनी जन्मजात मुस्लिम थिए, तर उनको टीका ग्रहण धर्मान्तरण थिएन, बहुसंख्यक नेपालीहरुप्रति उनले दर्शाएको सद्भाव थियो किनभने उनका धेरै मतदाता हिन्दु थिए । उनी सांस्कृतिक रुपमा सबैसँग जोडिन चाहन्थे । वर्तमान अमेरिकी राजदूत एलाइना बी. टेप्लिजले आजै दशैंको टीका जमरा लगाएर नेपालीहरुको सांस्कृतिक पर्वप्रति सद्भावना प्रकट गरिन् । उनी धर्मले क्रिस्चियन हुन् । तर, उनी बहुसंख्यक नेपालीहरुले खुसी साटेको बेलामा त्यसमा सरिक हुन चाहिन् । उनी हिन्दु भएकी होइनन् ।
अमेरिकी राष्ट्रपति, बेलायत र क्यानडाका प्रधानमन्त्रीले दीपावली पर्व मनाएर हिन्दु धर्मावलम्बीहरुको मन जितिरहेका छन् । गत वर्षको होली महोत्सवमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हिन्दुधर्मावलम्बीहरुसँग धुमधाम होली खेलेका थिए । राजनीतिक नेताहरुले सांस्कृतिक सहभागी हुनु भनेको चुनावमा भोट बढाउनु पनि हो । तपाइँले १२ वर्षमा मनाइने पचली भैरवको जात्रामा जान अस्वीकार गरेका कारणले पूर्वराजा ज्ञानेन्द्रलाई १० दिन अघि स्थानीयवासीले राजाकै हैसियतमा बोलाए । यसले तपार्इंको कद होचिँदै गएको अनुभव गर्न सकिन्छ । अझ स्पष्ट भन्नु पर्दा तपाइँको हेलचेक्र्याइँले राजतन्त्रवादीहरुलाई अझ बल पुग्यो । यति सामान्य गणित तपाइँले बुझ्नु भएन ।
तपाइँको जीवनकालमै माओवादी केन्द्रमा दुइचारजना आसेपासे बाहेक कोही नरहने अवस्था आउन सक्छ । सांस्कृतिक विखण्डनले निकै दूरगामी असर पारेका अनेक घटनाहरु इतिहासमा दर्ता भएका छन् । प्रधानमन्त्रीको टेबलमा सजाइएका तीन थान डिक्सनरीहरु मात्रै नपढ्नुस्, झिनामसिना ठानिएका व्यवहारिक कुराले अझै महत्वपूर्ण र रणनीतिक भूमिका खेल्छ । तपाइँको चेत खुलोस् । तपार्इं अझै धेरैको साझा प्रधानमन्त्री बन्न सक्नुहोस् ।
शुभेच्छुक
भानुभक्त आचार्य
सन्दर्भ दशैको टीका : पत्रकार भानुभक्तले लेखे प्रचण्डलाई पत्र
Previous Articleआतंकवाद, अपराध र अतिवाद नै विकासको बाधक – नेपाल
Next Article तस्विरमा वडादशैंको शितल निवास…..