नेदरल्याण्ड्ससँगको पहिलो ओडिआई खेलमा नेपाल ५५ रनले पराजित भएपनि नेपाली खेलाडीहरुले केही कीर्तिमान बनाए । सोमपाल कामीले नेपालको लागि पहिलो ओडिआई विकेट लिए भने ज्ञानेन्द्र मल्लले पहिलो अर्धशतक प्रहार गरे ।
यस्तै ज्ञानेन्द्रले नै पहिलो ओडिआई ४ प्रहार गर्दा दीपेन्द्र सिंह ऐरीले पहिलो छक्का प्रहार गरे । पहिलो इनिङ्समा कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि नेदरल्याण्ड्स ४७.४ ओभरमा १८९ रनमा अलआउट भएको थियो ।
पारसले आफ्नो पुरै १० ओभर स्पेल बलिङ गर्दै २६ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिए । डेब्यु ओडिआईमा उत्कृष्ट प्रदर्शन गर्ने पारस खड्का पहिलो कप्तान बनेका छन् । यसअघि जिम्बावेका डनकन फ्लेचरले कप्तानको रुपमा डेब्यु गर्दै १९८३ मा अष्ट्रेलिया विरुद्ध ४२ रन खर्चेर ४ विकेट लिएका थिए ।
यस्तै ओडिआई डेब्युमा सर्वाधिक विकेट लिने खेलाडी भने दक्षिण अफ्रिकाका खगिसो रबाडा हुन् । उनले सन् २०१५ जुलाईमा बंगलादेश विरुद्धको ओडिआई डेब्यु खेलमा ८ ओभर बलिङ गर्दै ३ मेडन राख् मात्र १६ रन खर्चर ६ विकेट लिएका थिए ।
त्यसअघि २००३ वेष्टइन्डिजका फिलेड एडवार्ड्सले जिम्बावे विरुद्ध ७ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ६ विकेट लिएका थिए ।