नेपाल वायुसेवा निगमले केही समयअगाडि भित्र्याएको वाइडबडी विमानले बुधबार (आज) देखि कतारको दोहाबाट व्यावसायिक उडान सुरु गर्दैछ । निगमको पहिलो वाइडबडी विमान ‘९–एन–एएलवाई’ बुधबार राति ९ः२५ बजे कतारको दोहाका लागि प्रस्थान गर्दैछ ।
‘पहिलो वाइडबडी विमानमार्फत् पहिलो उडान कतारको दोहाबाट सुरु गर्दैछौं,’ निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले भने, ‘वाइडबडीको यो पहिलो व्यावसायिक उडान हो ।’ अन्नपूर्णलाई दोहाका लागि नियमित उडानको सेड्युलमा राखिएको छ ।
नियमित उडानको सेड्युलमा राखिए पनि यात्रुको चापका आधारमा उडानको सेड्युलमा राखिने प्रवक्ता श्रेष्ठले बताए ।
२७४ सिट रहेको विमानमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् । पहिलो उडानामा अप–डाउनमै सबै सिट भरिने निगमको अपेक्षा रहेको श्रेष्ठले बताए ।
निगमले दुई वटा वाइडबडी भित्र्याएसँगै कतारसँगै पहिलो चरणमा दुबईमा उडान भर्नेछ । दुबईमा दसैं अगाडि नै र दोस्रो चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेबियाको रियाद उडान भर्ने निगमको योजना छ ।