नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल सुरु भएको छ । खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले यो समाचार तयार पार्दासम्म ४ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै जम्मा १८ रन बनाएको छ । नेपालका सोमपाल कामीले डानियललाई आउट गराएका हुन् ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।
नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।
नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् ।
नेपाल र नेदरल्याण्डबीच आम्स्टरडममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।