बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले निकै चर्चामा छिन् । त्यसको कारण हो, उनले अमेरिकी प्रेमी निक जोनासनसँग इन्गेज्मेन्ट गर्नु । त्यति मात्रै होइन, उनी सलमान खानको फिल्म ‘भारत’ बाट बाहिरिइन् ।
केही सातादेखि भारतको सुटिङ निरन्तर भइरहेको छ ।
निर्देशक अलि अब्बास जाफरले केही दिनअघि ट्विटरमार्फत भारत फिल्मबाट प्रियंका आउट भएको खबर दिएका थिए । प्रियंकाले बिहेको बाटो रोजेकाले फिल्म भारतमा काम गर्न नभ्याएको दाबी निर्देशक जाफरले गरेका छन् ।
उनले प्रियंकालाई भनिएको भूमिकामा छिट्टै नै अर्की हिरोइनलाई खेलाइने बताएका छन् । उनले एउटा अन्तर्वार्तामा प्रियंकाको ठाउँमा क्याट्रिना कैफ पनि हुन सक्ने संकेत गरेका छन् ।
उनले भनेका छन्, ‘मलाई सलमान र क्याट्रिनासँग काम गर्न निकै आनन्द लाग्छ । गत वर्ष टाइगर जिन्दा हैमा पनि सलमानसँग क्याट्रिना थिइन् । त्यसैले भारतमा उनी हुन नसक्लिन्चाहिँ भन्दिनँ ।’
निर्देशक जाफरले अब कुन हिरोइनलाई लिने भन्ने कुरा केही दिनमै फाइनल गर्ने बताएका छन् । सलमानका बाबु सलिम खानले प्रियंकाले भारत किन छोडिन् भन्ने थाहा नभएको बताउँदै फिल्म उद्योगमा यस्तो घटना सामान्य भएको उल्लेख गरेका छन् ।
सलमान पनि फेरि एकपटक क्याट्रिनासँग काम गर्न उत्सुक भएकाले भारतमा उनको जोडी क्याट्रिना नै हुने अनुमान लगाइएको छ ।