
प्रविधिको क्षेत्रमा दिनानुदिन भइरहेको विकासक्रमले हाम्रो जीवन सहज मात्र बनाएको छैन अचम्ममा समेत पारिदिएको छ । नयाँ नयाँ प्रविधिले हाम्रा आवश्यकताहरू परिपूर्ति गर्न सजिलो त भएको छ साथै नयाँ नयाँ आवश्यकता समेत थपिँदै गएका छन् ।
अब मोबाइल फोनकै कुरा गरौँ- दस-पन्ध्र वर्षअगाडिसम्म विलासिताको सामग्रीको रूपमा हेरिने मोबाइल अब आम मानिसको पहुँच भित्र आइसकेको छ । त्यति मात्र होइन यसमा नयाँ नयाँ सुविधाहरू समेत थप भइरहेका छन् ।
नयाँ नयाँ पुस्ताको मोबाइल प्रविधिले भ्वाइस तथा डेटा प्रयोगको अनुभवलाई अविश्वसनीय रूपले नवीकरण गर्दै गइरहेको छ । मोबाइल प्रविधि टू-जी, थ्री-जी, फोर-जी हुँदै अब पाँचौं पुस्ता अर्थात फाइभ-जीसंम पुग्न गइरहेको छ । र जति जति प्रविधि नयाँ पुस्तातर्फ बढ्दै छ सूचनाको आदान-प्रदान त्यति नै सहज र भरपर्दो हुँदै गइरहेको छ ।
तर जेजस्तो प्रविधि आएपनि आजसम्म मोबाइल फोनमा नभइ नहुने एउटा उपकरण हो ‘सिम कार्ड ।’ ‘सिम कार्ड’ले प्रत्येक मोबाइल फोनलाई एउटा डिजिटल पहिचान उपलब्ध गराउँदछ जसको सहायताले एउटा निश्च्चित फ्रिक्वेन्सीको रेडियो संकेत उस्सम्म पुग्ने गर्दछ जसलाई समान्य शब्दमा मोबाइल नेटवर्क भनिन्छ ।
तर प्रविधि विकसित हुँदैजाँदा अब मोबाइलमा ‘सिम कार्ड’ नै राख्नु नपर्ने हुन सक्छ । एकदमै नयाँ मानिएको यस प्रविधिको नाम ‘इम्बेडेड सिम’ या ‘इ-सिम’ भनिएको छ । सन् २०१६ को वर्ल्ड मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको उक्त प्रविधि अब धेरैदेशहरूमा एकैपटक उपलब्ध हुन सक्छ । यसो भएको खण्डमा मोबाइलभित्र अलग्गै सिम राख्ने झन्झट हट्ने छ ।
‘इ-सिम’ पनि सामान्य सिम जस्तै एक प्रकारको माइक्रो चिप्स हो जसलाई मोबाइल सेटलाई नेटवर्कसँग जोड्ने गरेर बनाइएको हुन्छ । फरक यतिमात्र हो कि यसमा मोबाइल सेवा प्रदायक फेर्न चाहेको खण्डमा सिम फेरिराख्नु पर्दैन ।
उपभोक्ताले नयाँ सेवा लिन चाहेको खण्डमा सेवा प्रदायकले उक्त ग्राहकको मोबाइलमा समान्य सफ्टवेयर अपडेट गर्दा पुछ । यसको प्रयोग एप्पल वाच र स्यामसुङले घडीहरूमा प्रयोग गरिसकेको छ ।