वामपन्थीको शक्तिशाली सरकार गठनसँगै सुस्त बनेको प्रमुख प्रतिपक्षी कांग्रेस पछिल्लो समय भूमिका बढाउने उपाय खोजिरहेको छ। चिकित्सा शिक्षा विधेयकको विरोधमा डा।गोविन्द केसीले अनशन सुरु गरेपछि उनको मागमा ऐक्यवद्धता जनाउँदै कांग्रेस सदनसँगै सडकमा उत्रियो।
सरकार–केसीबीच सहमति भएपछि कांग्रेस मुद्दा सकियो भन्नेहरू पनि छन्। के साच्चै कांग्रेसको मुद्दा सकिएको हो त भन्ने जिज्ञासामा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मा भन्छन्, ‘हामी डा।केसीको मागमा ऐक्यवद्धता जनाउन मात्रै आन्दोलनमा उत्रिएको सत्य होइन। केसीले उठाएका माग हाम्रो पनि एउटा मुद्दा थियो नै। सरकारले एकपछि अर्को असंवैधानिक निर्णय गरेपछि हामी आन्दोलनमा होमिन बाध्य भएका हौं।’
आफू निकट वकिलहरूको नवलपरासी भेलामा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले सरकारविरुद्ध आन्दोलन जारी रहने उद्घोष गरी कांग्रेस सरकारविरुद्धको आन्दोलनलाई निरन्तर दिने मनस्थितिमा रहेको प्रष्टै पारेक छ।
प्रवक्ता शर्मा भन्छन, ‘निषेधाज्ञा, मूल्यवृद्धि, पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णयलगायतमा कांग्रेसको असहमति हो। त्यसको विरोध गर्न कार्यक्रम अघि बढाइएको हो।’
कांग्रेसले प्रतिनिधिसभामा सभामुख र उपसभामुख मध्ये एउटा अन्य पार्टीलाई दिनु पर्ने, संसदीय समितिमा भागवण्डालगायतका मुद्दा पनि उठाउँदै आएको छ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि भन्छन, ‘सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्ने प्रावधान संविधानमै व्यवस्था छ। संसदीय समितिमा सम्मानजनक भाग नपाए पुनः सदन अवरुद्ध हुनसक्छ। हामीले सदन र सडक दुवैवाट सरकारलाई दबाब दिन्छौं।’
अन्नपूर्ण पोस्टबाट