प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन्।
जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
‘दुवै जनाले पेस गरेका ल क्याम्पसका प्रोग्रेस रिपोर्ट भिडाउने हो भने एउटा गलत निस्कन्छ,’ दुवै जनाको अभिलेख रहेको संवैधानिक परिषद सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइका क्रममा उठेको यस्तो गम्भीर प्रश्नको छानबिन हुनुपर्छ।’ बिहीबारको संसदिय सुनुवाइमा सांसद योगेश भट्टराईलगायतले जोशीको शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भेटिएको बारे प्रश्न उठाएका थिए।
सचिवालय स्रोतले उपलब्ध गराएको प्रतिलिपिअनुसार २०३० साउनमा नेपाल ल क्याम्पसमा ‘प्रमाणपत्र तह’ मा भर्ना भएका जोशीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या ५३३८ उल्लेख छ । २०३१ साउनमा भर्ना भएका गोपाल पराजुलीको प्रोग्रेस रिपोर्टमा क्रम संख्या १३४७६ उल्लेख छ । दुवैको रिपोर्टको ढाँचा एउटै छ।
एक वर्षमा प्रोग्रेस रिपोर्टको क्रम संख्या ८ हजार १ सय ३८ ले बढेको देखिन्छ। त्यति बेला कानुन पढेका जानकारहरूका अनुसार यति छोटो अवधिमा त्यति धेरै विद्यार्थीको चाप कुनै हालतमा सम्भव थिएन । ल क्याम्पसका एक अध्यापकले भने, ‘दुवै प्रोग्रेस रिपोर्टमा उल्लिखित क्रम संख्यामध्ये एउटा गलत हुन सक्छ । दुइटै सही कुनै हालतमा हुन सक्दैनन्।’
कान्तिपुर दैनिकबाट