नेदरल्याण्डसमा गर्भवती महिलाहरूमा भियाग्राको चिकित्सकीय परीक्षणका क्रममा ११ जना नवजात शिशुको मृत्यु भएपछि उक्त परीक्षण रोकिएको छ ।
उक्त अनुसन्धानमा संलग्न महिलाहरूलाई यौन उत्तेजक औषधि भियाग्रा सेवन गर्न लगाइएको थियो । यो शोध गर्भमा कमजोर नाल भएको शिशु रहेका महिलाहरूमा गरिँदै थियो ।
शोधमा संलग्न चिकित्सकहरूका अनुसार शरीरमा रक्तप्रवाह बढाइदिने यस औषधिले गर्भमा रहेको बच्चाको फोक्सोमा गम्भीर असर पुऱ्याएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर उनीहरूले यसबारे विस्तृत जाँचपछि मात्रै थाहा हुने बताएका छन् ।
यसअघि पहिले ब्रिटेन, अस्ट्रेलिया और न्युजिल्याण्डमा गरिएका यह्स्तई प्रकृतिका अनुसन्धानहरूमा कुनै नोक्सानी भएको थिएन तर ती शोधहरूबाट केही प्रत्यक्ष फाइदा भएको कुरा पनि सामुन्ने आएको थिएन ।
रोगी बच्चाहरूको उपचार
कमजोर नालका कारण जन्मिएका बच्चाहरूमा विकासको प्रक्रिया रोकिने गर्दछ । यो एउटा गम्भीर स्वास्थ्य समस्याको रूपमा लिइदै आएको छ र यसको कुनै उपचार हालसम्म उपलब्ध छैन ।
यस्तो समस्याका कारण बच्चाहरू महिना नपुगेरै जन्मिने गर्दछन् र जन्मिएपछि पनि उनीहरूको बाँच्ने सम्भावना न्यून रहन्छ ।
उक्त परीक्षणमा गर्भमा रहेको बच्चाको वजन बढाउने र उनीहरूको जन्मको समयलाई पछाडि धकेल्ने औषधिको रूपमा भियाग्राको
प्रयोग भैराखेको थियो ।
प्रतिरूप औषधि
उक्त शोधका क्रममा ९३ महिलाहरूलाई भियाग्रा दिइएको थियो भने ९० महिलाहरूलाई भियग्राको प्रतिरूप औषधि दिइएको थियो ।
जन्मपछि २० बच्चाहरूमा फोक्सोसम्बन्धी संक्रमण देखियो । यसमा तीन त्यस्ता बच्चा थिए जसका आमाहरूले प्रतिरूप औषधि सेवन गरेका थिए जबकि १७ बच्चा ती थिए जसका आमाहरूलाई भियाग्रा दिइएको थियो । संक्रमितमध्ये ११ जना बच्चाको ज्यान गएको थियो र ती सबै भियाग्रा सेवन गरेका आमाबाट जन्मिएका थिए ।
ब्रिटेनमा गरिएको यस्तै प्रकृतिको अनुसन्धानमा संलग्न लिभरपुल विश्वविद्यालयका प्राध्यापक अल्फिरेभिचले नेदरल्याण्डसमा देखिएका नतिजाहरूलाई अप्रत्याशित भनेका छन् ।
उनी भन्छन्, ‘ब्रिटेन, न्युजिल्याण्ड र अस्ट्रेलियामा गरिएका यस्तै प्रकृतिको शोधका नतिजाहरूमा कुनै प्रकारका जटिलता आएनन् । यसबारे विस्तृत जाँच हुनु आवश्यक छ ।’