पाकिस्तानमा बुधबार सम्पन्न आमनिर्वाचनको प्रारम्भिक नतिजाअनुसार पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । प्रारम्भिक नतिजा आइरहँदा इमरानले जनताले आफूलाई म्यान्डेट दिएको बताउँदै आफ्नो पार्टी विजयी भएको दावी गरेका छन् ।
यद्यपी विपक्षिले भने चुनावमा धाँधली भएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । ६० प्रतिशतभन्दा बढी मतगणना भइसक्दा इमरानको पार्टी पाकिस्तान तेहरिक ए ईन्साफ पिटिआई अग्रस्थानमा रहेको छ । पिटिआई १ सय १८ स्थानमा अगाडी छ ।
सरकार गठनका लागि १ सय ३७ सिट आवश्यक पर्ने भएकाले पीटीआईले जित हासिल गरे पनि सरकार बनाउन भने अन्य दलको समर्थन जुटाउनु आवश्यक छ । सन् १९९२ को विश्वकप क्रिकेट विजेता पाकिस्तानका कप्तान रहेका ईमरान खानलाई सेनाको समेत समर्थन प्राप्त छ ।