बुधबार पाकिस्तानमा संसदीय चुनाव भएको थियो । २७२ संसदीय सिटमा मतगणना जारी छ । संसदीय चुनावका साथै प्रान्तीय चुनावका लागि पनि मतदान भएको थियो ।
आम चुनावको परिणाम आउने क्रम जारी छ । पूर्व क्रिकेटर इमरान खान लहरका अगाडि कैयौं दिग्गज पछाडि परेका छन् । अहिलेसम्मको नतिजा अनुसार इमारन खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ११३ सिटमा अगाडि रहेको छ । सबैभन्दा ठूलो दलका रुपमा उदाउँदै गरेको पीटीआईका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज) ६९ सिटमा अगाडि रहेको छ । साथै पीएमएल–एन बाट प्रधानमन्त्रीका उम्मेदवार शहबाज शरीफ आफैले चुनाव हारेका छन् ।
त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपल्स पाटी(पीपीपी) ३८ सिटमा अगाडि रहेका छन् । बिहीबार बेलुकासम्म पूर्ण नतिजा अाइसक्ने पाकिस्तानी निर्वाचन अायाेगले जनाएकाे छ ।