पाँचहजार बर्ष अघि हिम मानवहरुले के खान्थेहोला भन्ने रहस्यलाई वैज्ञानिकहरुले अध्ययन गरी निश्कषृ निकालेका छन् । त्यतीखेर हिम मानिशले बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू खाने गरेको अनुसन्धानमा संलग्न बैज्ञानिकहरुले बताएका छन् ।
ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि त्यसमा बोसोको मात्रा भने धेरै रहेको वैज्ञानिकहरूले बताएका छन् ।
त्रिपन्न सय वर्षअघि ओएट्जी जीवित थिए । उनको मृत्यु एउटा जमेको हिमतालमा भएको थियो । सन् १९९१ मा फेला नपर्दासम्म उनको शरीर हजारौँ वर्ष त्यहीँ सुरक्षित रहेको थियो ।
मृत्यु हुनुभन्दा अघि उनले के खानेकुरा खाएका थिए लगायतका बारेमा वैज्ञानिकहरूले ओएट्जीका जीवनका विभिन्न पाटाहरू पत्ता लगाएका छन् । उनीहरूका अनुसार ती हिममानवले जङ्गली बाख्राको बोसो, रातो मृगको मासु, आइन्कोर्न भनिने जङ्गली गहुँ र विषालु उन्यू खाएका थिए ।
तर बैज्ञानिकहरुका अनुशार ति खानेकुराहरु अत्याधिक चिल्लोले भरिएका थिए । उनको खानामा चिल्लो पदार्थ ५० प्रतिशत थियो । त्यो मात्रा औसत आधुनिक खानामा हुने १० प्रतिशत भन्दा पनि अत्यधिक हो । हिममानवले सिकार गर्ने गरेको उचाइलाई ध्यानमा राख्ने हो भने तपाईँलाई त्यस्तै किसिमको ऊर्जा आवश्यक पर्छ युर्याक रिसर्च इन्स्टिच्युट फर मम्मी स्टडिज, इटलीका डाक्टर फ्रान्क माइक्स्नर भन्छन् ।
उनका अनुशार त्यस्तो कठिन वातावरणमा बाँच्न आवश्यक ऊर्जा पाउने उत्तम उपाय भनेको चिल्लोपदार्थ खाएर नै हो ।
करेन्ट बायोलोजी भन्ने जर्नलमा प्रकाशित सो अध्ययनले ताम्रयुगमा कस्तो खाना हुन्थ्यो भन्ने दुर्लभ झल्को भने दिन्छ । हिममानवको खान्कीको पहिला पनि विश्लेषण भएका थिए तर यसरी विस्तृत रूपमा भने अध्ययन गरिएको थिएन । यो अनुसन्धान चाहिँ उनको पेटमा रहेका वस्तुमा आधारित छ ।
उनको शरीर प्राकृतिक रूपमै सुकेर एवं खुम्चिएर कालान्तरमा परिरक्षित हुँदा पेट पनि स्वाभाविक स्थानमा थिएन । त्यसैले उनको पेट भर्खरै पत्ता लाग्यो ।
उनको पेटमा रहेको चिल्लो दूधजन्य पदार्थबाट नआएको बरू युरोपको एल्प्स पर्वतमालामा बस्ने जङ्गली बाख्राको एउटा प्रजाति एल्पाइन आइबेक्सको रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।
हिममानवको खानामा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थको सम्मिश्रण थियो, माइक्स्नरले भने । आश्चर्यजनक कुरा चाहिँ उनले खाएको धेरै मात्राको चिल्लोपना नै हो ।
ओएट्जी यही खानाको भरमा हिउँमा हिँड्न सके होलान् तर त्यो खासै स्वादिलो नभएको हुनसक्छ । बाख्राको बोसोको स्वाद कस्तो थियो भनेर कल्पना गर्न पनि कठिन छ, डाक्टर मेइक्सनरले भने । त्यतिबेला नुन पाइदैनथ्यो भन्ने मान्यतालाई स्वीकार गर्ने हो भने चाँहि यो पक्कै पनि हिजोआज हामीले खानेजति स्वादिलो भने हुँदैनथ्यो । त्यतिबेला नुन पनि हुन्नथ्यो भन्ने कुरा ख्याल गर्ने हो भने मासुको स्वाद, चिल्लो खानेकुरा सोच्दा मलाई लाग्छ यो मुस्किलले खान सकिन्थ्यो होला उनले भने ।
ती हिममानवले प्रशोधित खानेकुरामा भर पर्नु नपर्ने भए पनि उनको खानामा नकारात्मक पक्ष भने रहेको बैज्ञानिकहरुले बताएका छन् । मृत्यु हुँदा उनका रक्तनलीहरू बन्द भएका सङ्केतहरू देखिएका छन् । उनको मृत्यु लडाइँ गर्दागर्दै भएको हुन सक्छ । किनभने उनले तामाको हतियार बोकेका थिए र उनको शरीरमा कैयौँ घाउहरू भएका थिए । अनुसन्धानकर्ताहरूले उनको पेटमा एक किसिमको उन्यू भेटेका थिए ।
यसलाई ती हिममानवले जडीबुडी प्रयोग गरेको सङ्केतका रूपमा बुझ्न सकिन्छ । अथवा उनले उन्यूका पातमा खानेकुरा बेरेको पनि हुनसक्छ । त्यसो गर्दा दुर्घटनावश उन्यूको विषालु बीउ उनको पेटमा पुगेको हुनसक्छ । उनले मासु आलै वा सुकुटी बनाएर खाएको हुनसक्ने अनुसन्धानमा संलग्न वैज्ञानिकहरु बताउँछन् ।