कृष्ण प्रसाद शर्मा
गत हप्ता जाजरकोटमा नुन खानी छ भन्ने एउटा समाचार पढें । दुई चार जनाले लाईक गरेका रहेछन् सामाजिक संजालमा । सोही पेजमा गोरेको सुन काण्ड रहेछ । धेरैले पढेका र सेयर गरेका रहेछन् । यहीँबाट थाहा लाग्छ हाम्रो मगजले पनि कस्तो समाचार खोज्छ भन्ने । भोटमा नुनका लागी पुगेको कथा पढ्दा अचम्म मान्ने शहरमा छन्भने ढिका नुनका लागी दुई दिन हिडेर अझै सरदमुकाम पुग्ने नेपाली छन्भन्दा कतिलाई विश्वास लाग्दैन तर पत्ताए पनि नपत्ताए नि जड र मुल कुरा यही हो । कामरेड भनेको साथी हो तर जय नेपाल काँग्रेसको जस्तै कामरेड कम्युनिष्टको ट्रेडमार्क बनेको छ । यहाँ ट्रेडमार्कमै रहेर कुरा गरौं । गत महिना एक जना कामरेडको जनबादी बिबाह भयो । त्यो पनि पाँचतारेमा । निम्तालु खचाखच थिए । जय नेपालहरू पनि बाक्लै थिए । जनबादी भनिएकी दुलही । जनबादी विवाहमा दुलही भन्छ की अरू नै थाहा भएन । उनको शरीर सुनले लिपेको थियो । शरीर टायल बिछ्याए जस्तै थियो । भोलीपल्ट समाचारमा पढें । फलानीको जनबादी विवाह भयो । तडकभडक खर्च नगरी बिबाह खर्च कटाएर रु एक लाख फलानोलाई सहयोग भनेर । त्यो रकम जुन पिडितले पाए असाध्यै राम्रो तर बिवाह खर्च कटाएर भनेको देख्दा त्यो शरीर लिपेको सुन र पाँचतारेको खचाखच याद आयो ।
सुनप्रति कति मोह रहेछ भन्ने यो उदाहरण पछि भर्खर बजार खाएको अर्को बिषय हो मन्त्रीहरूको सम्पति विवरण । लगभग सबै मन्त्रीसंग सुन जम्मा भएको देखियो । यो सुन काँग्रेसका मन्त्रीहरूले देखाएका भए जनताले पुँजिबादी काँग्रेस भनेर चित्त बुझाँथे होला तर कम्युनिष्टको सरकार अझै भर्खर चौबीस क्यारेटको माओबादी पनि एकिकरण भएको पार्टिका मन्त्रीहरुबाट आए पछि जनताले जिब्रो काडे । कसैले जिब्रो काडेर हुने त केही होईन तर पनि नाम र कामको जलप उप्केका कारण छक्क परे जनता । यहाँ कुन ब्यक्तिको कति सुन लेख्न अवश्यक रहेन किन कि सुन नभएको कोही थिएन । सोच्दै नसोचेका केही मान्छेहरू सँग पनि उल्लेख्य सुन देख्दा उदेक नै लाग्यो । अहिले फिर्ता भएको भए भगवान जानुन नत्र नारायणकाजी श्रेष्ठ, प्रचण्ड, मात्रिका यादबहरूले आफ्नो सम्पति पार्टिलाई दिए भनेर समाचार पढिएको थियो । धेरैको नाम थियो अहिले यिनैको नाम याद भयो ।
अहिलेको सम्पति बिवरणमा मात्रिका यादवको पनि तीन ठाउँमा घरसहित सुन देखियो । देख्दा सम्पति पार्टिलाई दिएको भन्ने तर धनाढ्य मन्त्रीको सुचीमा पर्दा मानिसहरूको मनमा नेताहरूको बारे थप शंकै शंका छ । पर्यटन राज्यमन्त्रीले १५० तोला सुन देखाए यतिका सुन कसरी आयो होला कहिँकतै चर्चा रहेन बरु जग्गा बेचेर आएको पैसालाई चन्दा उठाएर जम्मा पारिस भनेर लालबाबुका पछि लाग्ने केही देखिए । लालबाबुले स्पष्ट आफ्नो सम्पतिको बारेमा भनि सकेपछि पनि पछि लाग्नुको तुक छैन तर जो आँफुहरू एक सरो कपडासँग बिवाह गरेर ल्याएको भनेर जनबादी विवाहको ठुलो वकालत गर्छन् तिनीहरूको यति विध्न दाईजोको नाममा कसरी पैसा र सुन देखियो त ? बाहिर जनबादी भित्र दाईजोबादी भए की अवैधानिक पैसा श्रीमतिका नाममा राखे यो खोजको बिषय हो ।
हाम्रा मन्त्रीहरूले जस्तै विकशित देशमा कुनै मन्त्रीले सम्पत्ति विवरण बुझाएको हुन्थ्यो भने आजसम्म उसको साखा सन्तान ससुराली खलक सबै अनुसन्धानमा तानिने थिए आज हिरासतमा हुन्थे तर हामी कहाँ दाईजो पाएको भनेर सबैलाई आँखा छारो हाले । हुन त सबैले बुझेका छन् यो पैसा अबैध हो भन्ने तर उच्च कसैले बोले भोली आफ्नो पनि त्यसै गरी पोल खुल्ला भनेर चुप छन । सामान्य जनता जो बोल्छन् तिनीहरूका कुरा कसैले सुन्दैनन् । अख्तियरले विवाहमा कतिजना जाने जस्ता नियम पनि निकाल्छ बेला मौकामा यि सब हात्तीका दाँत भए । यदि कानुनको कार्यन्वयन गर्न होभने सामाजिक सुधार ऐन अनुसार यतिका सम्पति ल्याउनेलाई कानुन बमोजिम मुद्धा लागेर सजाय हुनु पर्ने हो तर कसले झुण्डाओस् घाँटीमा घण्टी यहाँ ।
गाई काटेर खाएकोमा जसरी खोजी–खोजी जेल हालिन्छ त्यसरी घुस खाएकोमा खोजेर हाल्ने कोही छैन । गाई खानेलाई जेल हाल भन्ने नबुझ्नु होला फेरी । घुस खाँदा मान्छेलाई बास्ता नगर्ने अनि सुन आउँदा दङ पर्ने भएको छ । माक्र्सबादको ब्याख्या हामीले के गरौ र निजी सम्पतिबारे माक्र्सका कुरा नसम्झने तर बर्ग संघर्षका कुरा सम्झने हाम्रा कामरेडहरूको यो पारा कहिलेसम्म चल्ने हो । दुई बर्षको अन्तरालमा चालिस लाख खातामा बढ्दा न कुनै बैंकले सोध्छ न कुनै अख्तियारले । बैंकलाई पैसा भए पुग्यो राख्ने घुसखोरीलाई सुरक्षित र ब्याज आए पुग्यो । सबैले आँखा बन्द गरेर आँगनमा बसेपछि घरै भएपनि चोर पस्नु ठुलो कुरा रहेन । काठमाण्डौमा जनताले आयोडीन नुन खानु पर्छ भनेर नत्र गलगाँड सरकार बिज्ञापन गर्छ । जनता ढिके नुनका लागी सदरमुकाम पुग्छ तर त्यो दुखले नेताहरूको दिमाखमा गलगाँड कहिलै आएन । कडा कानुन भएको भए यो देखिएको सुन जफत हुने थियो तर कसले गर्ने । गोरेहरूले सुन आफ्ना लागि मात्र बोक्दैन यस्तै सुनका भोगीहरूका लागी पनि बोक्छन् नत्र यति सानो देशमा कसरी टनका टन सुन आईपुग्छ । त्यसैले कामरेडहरुको सुनमा घुन नलागेसम्म जनताले नुन पाउने छैनन् ।