पर्वतको फलेवास नगरपालिका र बागलुङको जैमिनी नगरपालिकाले प्रदेशको प्रस्वातीत तथा अस्थाई राजधानिको रुपमा रहेको पोखारालाई दुरीका हिसावले छोट्याउने प्रयासमा लागेका छन् । दुवै नगरपालिकाले संयुक्त लगानीमा बैकल्पिक सडक निर्माणको काम थालेबाट पोखरा नजिक बनाउने साझा अभियानको रुपमा बुझ्न सकिन्छ । पोखरा बागलुङ राजमार्ग साविकको धौलागिरीका चारवटै जिल्लाका लागि एक मात्र सडक मार्ग हो । दुरीका हिसावले जैमिनी र फलेवासको अपायक पर्ने सडकको रुपमा रहेको बागलुङ पोखरा राजमार्गको विकल्प खोज्दै राजधानीसँग जोड्ने छोटो बाटोको खोजीमा नगरपालीकाले थालेको अभियानले सकारात्मक स्वरुप पाउने देखिन्छ । कालिगण्डकीले काटेर वारीपारी बनाएका दुई नगरपालिकाले संयुक्तरुपमा निर्माण गर्न लागेको बैकल्पिक सडकले एकातर्फ जैमिनीको केन्द्रलाई सिधै राजधानी पोखरासँग जोड्नको लागि मद्दत गर्ने छ भने अर्को तर्फ यो वैकल्पिक सडकको अधिकांश भाग फलेवास नगरपालिकामा पर्ने भएकाले फलेवास नगरपालिकको सडक बिस्तारमा टेवा पुग्ने छ ।
त्यो मात्रै हैन आसपासका गाउँपालिका तथा नगरपालिकाहरुलाई समेत यो सडकले दुरी छोटो बनाउनमा सहयोग गर्ने छ । जैमिनीको केन्द्र कुश्मीशेरा बजारदेखी पोखरा सम्म फलेवासको बाटोहुँदै निर्माण हुने सडकको लम्बाई ५७ किलोमिटर कायम हुने प्राबिधिक स्टीमेटले देखाईरहेका बेला जैमिनीबासीले कुश्मा सम्मको १४ किलो मिटर र कुश्मा देखी पोखरा सम्मको ५८ किलोमिटर दुरी रहेको बाटोलाई घटाउने छ । पैदल यात्रा गर्दा धौलागिरी बासीले कार्कीनेटाको बाटो प्रयोग गर्थे । पोखरा बागलुङ राजमार्ग स्थापना भएपछि यो पैदलबाटो हराएको थियो । यो बाटोका पुराना व्यपारिक केन्द्र अव फेरी जुरमुराउने संभावना छ । यो सडकका कारण फलेवास नगरपालिकाको दुरी समेत १२ किलोमिटर कम हुन आउने छ ।
सडकको बिकासको लागि जैमिनी नगरपालिका र फलेवास नगरपालिकाले देखाएको सदासयता र एकताको भावना सडक निर्माणमा मात्रै काम लाग्ने छैन यो भावनालाई धौलागिरीका सबै स्थानीय तहले सिक्न जरुरी छ । धेरै स्थानीय तहको हितमा हुने गरी निर्माण हुने योजनाहरुमा धेरै तहले संयुक्त लगानी गर्न सकेमा बिकासले छिटो गति लिने र सस्तो व्ययभार पर्नेमा शंका छैन । व्यक्ति र संस्थागत स्वार्थ जस्तै स्थानीय तहहरुले पनि तह गत स्वार्थ भन्दा माथि उठेर यस्ता खालका योजनाहरुको निर्माणमा ध्यान पु¥याउन आवश्यक छ । जैमिनी र फलेवासको नमुना कामलाई अन्यले पनि सहकार्यको थालनी गरुन् । यो अभियानले पोखराबागलुङ सडकको बिकल्पको काम पनि गर्नेछ । दक्षिण बागलुङको बरेङ गाउँपालिका, पर्वतको बिहादी लगायतलाई पनि यो सडकले उत्तिकै फाइदा दिने आकंलन गरिएको छ । यस्ता बैकल्पिक सडकहरुको खोजी गर्दा नयाँ बस्ती बिकास हुने, सडकको चाप कम गर्न सकिने र लामो दुरी घटाउन पनि मद्दत पुग्नेछ ।
Previous Articleकानुन निर्माण लगायतमा प्रदेश सरकारको उपलब्धि
Next Article कामरेडलाई सुन, गरिबलाई ढिके नुन