पोखरा, १३ जेठ – पोखराको फेवातालमा आइतवार दिउँसो हावाहुरीका कारण डुंगा पल्टँदा एकजना बेपत्ता भएका छन् । यो घटनामा ४ जनाको उद्दार गरिएको छ । पाँचजना साथीको समुह फेवातालमा डुंगा खेल्दै गर्दा एक्कासी चट्याङसहित हावाहुरी चल्दा पल्टिएको हो । डुंगा पल्टँदा रामेछाप बेथान घरभई भत्तपुर बस्ने बर्ष १८ का सुप्रिम लामा बेपत्ता भएको कास्की प्रहरीले बताएको छ । ४ जनालाई भने एपीएफ कालिका गणबाट खटिएका उद्धार टोलीले उद्दार गरेको हो ।
सिन्धुली घर भएका बर्ष १८ का विशाल थापा, काठमाडौं सीतापाइलाका वर्ष १७ का अनिल रोकाहा, भक्तपुरको सूर्यविनायकका बर्ष १९ का मन्दीप महत र सल्लाघारी भक्तपुरका बर्ष १७ का शुशील कुँवरको उद्दार गरिएको सशस्त्र प्रहरी कालीका गणका डिएस्पी गौतमराज कुँवरले बताए ।
उद्दार गरिएका युवाहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाले जानकारी दिए । दिउँसो सवा तीन बजेको समयमा फेवातालको सेदी क्षेत्रमा डुंगामा खेलिरहेका बेलामा आएको हावाहुरीका कारण डुंगा पल्टिएको हो । प्लस टुको पढाई सकेर उनीहरु पोखरा घुम्न आएका थिए । हराएका लामाको गोताखोरको प्रयोग गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रानाले जानकारी दिए ।