काठमाडौं, १४ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’ बनाउने उद्देश्यमा केन्द्रीत भएर सरकारले नीति तथा कार्यक्रम ल्याएकाले कार्यक्रम केही महत्वकांक्षी हुनु स्वभाविक भएको बताएका छन् । गत सात गते संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा छलफलका क्रममा संसदहरुले उठाएको प्रश्नको आइतबार प्रतिनिधि सभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई धनी बनाउने हिसाबले नीति तथा कार्यक्रम ल्याएको बताएका हुन् ।
‘नेपाल र नेपाली जनतालाई सम्बृद्ध बनाउने उदेश्यले सरकारले नीति तथा कार्यक्रम ल्याएको हो । कुनै नेपालीले खान, लाउन बस्न, उपचार गर्न पाइन भन्नु नपरोस्, भुगोल भाषा र आस्थाका हिसाबले म पछि परेँ भन्ने अवस्था नहोस्, न्याय समानताबाट बन्चित हुनुनपरोस्, अधिकार प्रयोग गर्न पाइनँ भन्ने अवस्था नहोस् भन्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको हो’ प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा भने ।
नीति तथ कार्यक्रम काम गर्न सक्ने हिसावले ल्याएको भन्दै यसले तीव्र विकास र परिवर्तनको आकांक्षा बोकको दावी गरे । ‘असम्भव महत्वकाक्षा बोकेको होइन, बोक्दैन । सम्भव हुने र सम्भव बनाउन सक्ने र सकिन गरि ल्याएको हो ’ प्रधानमन्त्रीले भने, ‘सम्बृद्ध नेपाल र सुखी नेपालीको उद्देश्यमा केन्द्रीत छ । यो सानो आकांक्षा होइन, राष्ट्रिय आकांक्षा र आवश्यकता हो । यो आकाक्षा पुरा गर्न हामी अघि बढ्नुपर्छ भनेर भनेको छ । उद्देश्य राखेको मात्रै होइन, उद्देश्य प्राप्तिको लक्ष्य पनि नीति तथा कार्यक्रमले राखेको छ’, ओलीले भने ।
देश र जनताका निम्ती सुरक्षा, सम्मान, विकास र यसबाट जनतामा सम्बृद्धि र सुख प्राप्त गर्न राजनीतिक क्षेत्रमा लोकतान्त्रिक प्रणाली अपनाउदै सरकार अघि बढेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘नयाँ उद्योग खोल्ने, व्यापार खोल्ने नीति सुशासन बिना अघि जान सकिँदैन । त्यसका लागि भ्रष्टचार नियन्त्रणमा कार्यक्रममा प्रश्ट भनिएको छ । विकासको पुर्वाधारका रुपमा आवश्यक बाटो निर्माण गरिन्छ, यो बास्तविकता र यर्थाथ हो ।’
पानीजहाजको कुरा गर्दा बाल्टीमा कागज हाले !
पानी जहाजको कुरा गर्दा बाल्टीमा कतिले कागज हालेको स्मरण गर्दै ओलीले पानी जहाज नयाँ र नौलो कुरा नभएको दावी गरे । उनले नयाँ कुरा बुझ्नलाई समय लाग्ने बताए । पानी जहाज मजाक गर्ने कुरो नभएको भन्दै यसलाई उडाइएकोमा ओलीले गुनासो समेत गरे । नेपाल भन्दा दुर्गम देशले सयौं पानीजहाज चलाएको उदाहरण दिँदै उनले यो विषयलाई नउडाउन आग्रह गरे । उनले पूर्व पश्चिम र उत्तरदक्षिण रेल नेपालमा कुदेरै छोड्ने भन्दै त्यसका लागि सम्झौता भएको बताए ।
उनले ५ बर्षभित्र काठमाडौ–रक्सौल रेलका लागि सम्झौता भएर सर्भे भइरहेको पनि बताए । तीन बर्षभित्र काठमाडौमा मेट्रो चलेरै छोड्ने उनले बताए । लोडसेडिङका लागि विद्युत उत्पादनमा समेत नीति तथा कार्यक्रममा योजनामा राखिएको उनले बताए । विद्युत, उत्पादन हाइड्रो र बैकल्पिक उर्जालाई प्रयोग गरेर अघि बढ्ने नीति लिएको ओलीले बताए । समाज विविधतायुक्त भएको भन्दै प्रम ओलीले भौगोलिक कारणले जटिलता भएपनि समस्याको समाधान गर्ने बताए । उनले तराइमा नागरिकता लगायतका समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्ने बताए ।
संविधान संशोधन हुन्छ
प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सकिने बताए । उनले भने, ‘यो अपरिर्वतनीय होइन । संशोधन आवाश्यकताअनुसार, देश र जनताले मागे अनुसार संसोधन र निर्माण हुन्छ । हुनै सक्दैन भनेर धेरै चर्चा भयो । तर विश्वास गर्नुस् संविधान संसोधन हुन्छ ।’ देशलाई अगाडि बढाउन औचित्य र आवश्यकताका आधारमा आफू अघि बढ्न तयार रहेको उनले बताए । ‘यस्तो विषय छलफलमा बसेर गर्ने हो चर्चा गर्ने होइन, समस्या निकाल्ने होइन, समाधान गर्ने हो’ उनले भने ।
सामाजिक न्याय र समानताका आधारमा अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए । कतिपय कानुन बन्ने क्रममा रहेकाले त्यो क्रम पनि अव छिटो अघि बढाइने बताए । बैमनश्यता भन्दा पनि पारस्पारिक सहिष्णुता र सहअस्तित्वका आधारमा सरकार अघि बढ्न चाहेको प्रधानमन्त्री ओलीको भनाई छ । ७५३ वटा स्थानीय निकाय नेपाल सरकारकै भएको भन्दै नीतिहरु छुट्टै नभएको बताए ।
भारतसँगको सम्बन्धमा उपलव्धि
आन्तरिक मामिलामा निर्णय गर्न सरकार आफै स्वतन्त्र भएको भन्दै त्यसवारे कुरा गर्दा चित्त दुखाउनु आश्चार्यजनक भएको भन्दै प्रधानमनत्रीले एकताबद्ध भएर अव अघि बढ्नुपर्ने बेला आएको बताए । एकअर्काप्रति सहयोगी भावना भएमात्रै एकता र राष्ट्रियता बलियो हुने हिसावको उद्देश्य नीति तथा कार्यक्रमले बोकेको बताए । उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा नाकावन्दी भएको वेलाको स्मरण गर्दै आज गौरवपूर्ण ढंगले सार्वभौम छिमेक सम्बन्धमा असाधारण सुधार आएको बताए ।
विराटनगरबाट भारतीय क्याम्प हटाएको भन्दै उनले भारतसँग बाँधबारे कुरा भइरहेकोले तत्काल संयुक्त टोलीले स्थलगत अनुगमन गर्ने बताए । आफ्नो भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हेर्दा पनि सम्बन्ध कस्तो छ भन्ने बुझ्न सकिने प्रम ओलीले बताए । १९५० को सन्धी समाधान गर्न निश्कर्षको अन्त्यमा पुगिएको पनि ओलीले बताए । सन्तुलित परराष्ट्र नीतिमा सरकार प्रतिवद्ध भएको भन्दै उनले त्यसमा आपत्ति जनाउनुपर्ने नभएको बताए ।
पर्यटन विकास
पर्यटन विकास गर्न प्राकृतिक, सांस्कृतिक लगायत थुप्रै विषयमा समझादारी गरेर पर्यटन विकास गर्ने दिशामा सरकारको ध्यान गएको बताए । उनले लुम्बिनी, जनकपुर, मुक्तिनाथ लगायतलाई समेटेर पर्यटन विकास गर्न सकिने बताए । सरकारको सय दिन भर्खर भएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षले सय दिन पूरा गर्न दिदैनौं भनेर दिएको खवरदारीलाई धन्यवाद दिए ।
सिण्डीकेट तोड्नु सरकारको उपलव्धि भन्दै उनले हवाई क्षेत्रमा समेत २१ घण्टा त्रिवि विमानस्थल सुचारु गरेर राम्रो कामको सुरुवात भएको बताए । उनले काठमाडौको धुलो नियन्त्रणमा पनि सुधार आएको दावी गरे । स्वच्छ हावामा सास फेर्न पाउने मानिसको अधिकार केही बर्षमै ग्यारेन्टी गर्ने सरकारको तयारी भएको बताए ।
धरहरा जस्ताको तस्तै
दुई वर्ष अघि आफूले शिल्यान्यास गरेको धरहरा जस्ताको तस्तै र रानीपोखरी सुकेको भन्दै प्रधानमन्त्री ओलीले तीन बर्षमा नभएको काम तीन महिनामा किन नभएको भनेर प्रश्न गर्नेहरुलाई धन्यवाद दिन चाहेको पनि बताए । उनले लोकतन्त्रमा सरकार शासक नभएर सेवक र रक्षक भएको बताए । ‘जनताका पिरमार्का हटाउन ध्यान दिने, कठिनाइ हटाउने काम सरकारका हुन् । यो सरकारले अवसर, सुरक्षाको ग्यारेन्टी गर्छ ,’ प्रधानमन्त्रीले बताए ।
प्रधानमत्रीले त्रिवि भन्सार बाहेक अन्य रुटमा भइरहेको सुन तस्करी र कालोबजारीबारे छानवीन खोजी भइरहेको पनि बताए । ‘भ्रष्टचारउन्मुलन र नियन्त्रण, वैदेशिक रोजगारीमा रहेका विकृतिको अन्त्य गर्ने सरकारको लक्ष्य छ । कर्मचारी वा कुनैपनि प्रशासनिक संयन्त्र ठिक ढंगले परिचालन गरिन्छ । यी काम गर्न नीति तथा कार्यक्रमले लक्ष्य लिएको छ ’ प्रधानमन्त्रीको भनाई छ । सरकारले खान नपाएर कोही कसैलाई मर्न नदिने भन्दै प्रधानमन्त्री ओलीले दाङमा भएको झाडापखाला नियन्त्रणका लागि सरकार लागिपरेको पनि बताए ।
नीति तथा कार्यक्रमलाई ‘पहिलो पटक’ विपक्षीको समर्थन
आर्थिक वर्ष २०७५/७६ कोलागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा अर्थात हुन्न भन्ने आवाज विपक्षी बेन्चबाट आएन । सभामुख कृष्णवहादुर महराले ‘यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्’ भन्दा कसैको आवाज आएन । हुन्न भन्ने आवाज नआएपछि सत्तापक्षका सांसदहरुले र मन्त्रीहरुले विपक्षी बेञ्चतिर हेरे । कांग्रेस सांसदहरुले मौनतापूर्वक नीति तथा कार्यक्रमको समर्थन गरे ।
हुन्छ भन्ने सांसदहरुको स्वर गुन्जिएसँगै सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।नेपालको संसदीय इतिहासमा अपवादबाहेक सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षले समेत समर्थन गरेको यो सम्भवतः पहिलो अभ्यास हो । सबै दलहरु सम्मिलित अन्तरिम सरकारलाई अपवाद मान्ने हो भने,सत्तापक्ष र प्रतिपक्ष भएको बेला नीति तथा कार्यक्रममा प्रतिपक्षले हुन्न भन्ने गरेको पाइन्छ ।
प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले तीब्र विकासमार्फत सुखी नेपाली, समृद्ध नेपाल बन्ने कुरामा कांग्रेसको विरोध नरहेकाले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गर्न सघाएको बताए ।
उद्देश्यमा केन्द्रीत सरकारको नीति तथा कार्यक्रम-प्रधानमन्त्री
Previous Articleफेवातालमा डुंगा पल्टिँदा रामेछापका सुप्रिम लामा बेपत्ता
Next Article आधारभूत तहमै टिक्दैनन् विद्यार्थी !