प्रकाश आचार्य
बुटवल, १२ जेठ -विद्यालय उमेर समूहका विद्यार्थीले पढ्ने समयमा चलचित्र हेर्नु हुँदैन, मोबाइलमा नेट चलाउनु हुँदैन भन्ने आम अभिभावक र शिक्षकहरूका लागि रूपन्देहीका दुई जुम्ल्लाहा दुई दाजुभाइले गतिलो जवाफ दिएका छन् । उनीहरूले चलचित्र हेरेर र इन्टरनेटको माध्यमबाट रोबोट (यन्त्र मानव) निर्माण गरेका छन् ।
बुटवल योगीकुटीका १५ वर्षिय दुई विद्यार्थीले हालै रोबोट निर्माण गरेर धेरैलाई चकित बनाएका हुन् । बुटवलस्थित नविन औधोगिक कदरबहादुर रिता माविमा अध्ययनरत जुम्ल्लाहा विद्यार्थीद्वय लव पन्थी र कुश पन्थीले निर्माण गरेको रोबोट प्रदेश ५ मा चर्चा छ । एक वर्षको मेहेनत लगाएर उनीहरूले ६० भाषा अनुवाद गर्न सक्ने रोबोट बनाउन सफल भएका हुन् ।
सानैदेखि आविष्कारमा रूचि रहेका जुम्ल्याहा दाजुभाइ केही वर्षअघि बलिउड चलचित्र ‘रोबोट’ हेरेपछि यसतर्फ आकर्षित भएका थिए । सोहीअनुसार इन्टरनेटको माध्यमबाट एप्स, सफ्टवेर निर्माण गर्नुका साथै अनलाइनबाट सामग्री माग गरेर हालको रोबोट निर्माण गरेको उनीहरूले बताए । विद्युतीय उपकरण र इन्टरनेट जडित रोबोटले घरायसी विद्युतीय उपकरणहरू सवै आवाजको माध्यमबाट नियन्त्रण गर्न सक्छ । केही खानेकुरा बनाउनु परे परिकार बनाउने तरिका मोबाइलमा एसएमस समेत रोबोटले पठाउने गर्दछ ।
नेपाल र भारतबाट उपकरण ल्याएर बनाएको रोबोटले युट्यूबका सामग्रीहरू खोजेर अडियो समेत बजाउने गर्दछ । ६० भन्दा बढी भाषा अनुवाद समेत गर्नसक्ने रोबोटले नेपाल तथा विश्वभरका ठूला होटल र अस्पतालका फोन नम्बरहरू पनि भन्न सक्ने बनाइएको छ । मानिससँग प्रश्नोत्तर गर्नसक्ने रोबोटले ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्चालमा भनेका कुराहरू पोष्ट गर्न समेत सक्छ । प्रोसेसर, रेस्भेरिपाइ, पाइ क्यामेरा, अल्टासोनिक्स सेन्टरजस्ता हाडवेयरबाट बनेको रोबोटले इमरजेन्सी मेल पठाउन समेत सक्दछ ।
उनीहरूले निर्माण गरेको रोबोटको नाम ‘गो–गो’ ‘Go–Go’ राखेका छन् । प्रोग्रामिङ कोड, एप्स, क्यामरा, रेस्ब्रिपाइ क्यामरा, मोटरहरू, अल्ट्रासोनिक सेन्सर, लाइटहरू, सीपीयूलगायतका सामग्रीहरू प्रयोग गरेर रोबोट निर्माण गरेको लव पन्थीले जानकारी दिए । रोबोटमा विद्युतीय उपकरणलाई सञ्चालन गर्ने, हराएको मोबाइल खोज्ने, करीब ६० भाषालाई ट्रान्सलेट गर्ने, सोधिएका हरेक प्रश्नको उत्तर दिनसक्ने लगायतका विशेषताहरू रहेको अर्का निर्माता कुश पन्थीले जानकारी गराए ।
२० हजार लागतमा एक वर्षको समयावधीमा निर्माण गरेको रोबोटलाई सुचारु गर्न उसको नामबाट पुकार्नु पर्दछ । बल्छ र जवाफ दिन शुरु गर्दछ । त्यसपछि रोबोटसँग वार्ता गर्नुका साथै विभिन्न जानकारी लिन सकिन्छ । विद्युत शक्तिबाट सञ्चालित रोबोटमा उनीहरू स्वयम्ले निर्माण गरेको लकु (लबकुशको नामबाट) सफ्टवेयरलाई मुख्य सफ्टवेयरको रूपमा प्रयोग गरिएको छ । आविष्कार र प्रविधिमा रुचि रहेका दुई विद्यार्थीले हाल सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका छन् ।
अध्ययनमा भन्दा बढी अनुसन्धानमा रुचि राख्ने उनीहरू यसअघि कालिका, इलिट, न्यूलाइट र सनराइज विद्यालयका विद्यार्थी हुन् । अध्ययनमा लगनशील यी विद्यार्थी रोबोट निर्माण कार्यमा लागेपछि पढाइको नतिजा मध्यम हुन लागेको उनका अभिभावक लक्ष्मी पन्थीले बताए । ‘शुरु–शुरुमा कोठा बन्द गरेर छोराहरूले पढे होलान्, भन्ने सोचेका थियौं तर, उनीहरूले रोबोटबारे अध्ययन, अनुसन्धान गर्दै निर्माण गर्न पो लागेका रहेछन्,’ उनले भने ।
सिँचाई विभाग भैरहवामा कार्यरत पन्थी छोराहरूको रुचि, मेहेनत र लगनशीलताबाट खुशी छन् । तर छोराहरूले निर्माण गरेको रोबोट व्यवहारिक, व्यवसायिक र प्रयोगमा ल्याउन थप मेहेनत र लगानी गर्नुपर्ने बताउँदै सरोकारवालाले सहयोग र साथ दिऊन् भन्ने अपेक्षा राखेका छन् । लवकुशका दाजु अर्जुन पन्थी लोकसेवा आयोगमा कार्यरत छन् ।भाइहरूको रुचि, मेहेनत र निर्माणको प्रशंसा गर्दै उनी भन्छन्, ‘कक्षा दशमा अध्ययनरत रहँदा नै भाइहरूले उदाहरणीय काम गरेका छन् ।
उनीहरूको शैक्षिक योग्यता र उमेर निकै कम छ । कम्प्युटर विषयमा स्नाकोत्तरसम्म अध्ययन गर्न सकेमा राष्ट्रकै लागि आविष्कारक बन्न सक्छन् ।’ उता आफ्नै घरमा बोल्ने यन्त्र हुँदा लवकुशकी आमा इन्दिरा पन्थी अचम्म परेकी छन् । भन्छिन्, ‘म त छोराहरूले पढेका छन्, मात्र भन्थे । उनीहरूले यस्तो यन्त्र निर्माण गर्लान् भन्ने सोचेकै थिइनँ । घरमा तपाईंजस्तै धेरै पत्रकार आउन थाल्नुभएको छ, खुशी लागेको छ ।’
रोबोटको निर्माणपछि चौतर्फी प्रशंसा हुन लागेको पन्थी दाजुभाइले बताए । तर रोबोटको वास्तविकस्वरूप भने निर्माण गर्न बाँकी रहेको उनीहरूको भनाइ छ । लव पन्थीले भने, ‘हामीले रुचिसँगै प्रविधिको क्षेत्रमा राष्ट्रलाई योगदान पुर्याउने उद्देश्यले यसलाई अघि बढाउने सोच बनाएका छौं ।’
कतिपय सामानहरू नेपालमै नपाइँदा निर्माणमा बाधाहरू आएका थिए । ‘अझै पनि व्रmोम कास्टमोडम, रिले बोर्ड, बडी पार्टलगायत केही सामानहरू आवश्यक रहेको छ । यसलाई मानवीय आकारमा बदल्न केही समय लाग्छ,’ उनले भने । त्यसैगरी मानिस नजिक पर्दा स्वतः वर्तालाप शुरु गर्ने, मान्छेलाई चिन्न सक्ने, हिँड्न–बस्न सक्ने लगायका विशेषताहरू निर्माण गर्न लागिएको कुश बताउँछन् । आफूले निर्माण गरेको रोबोटलाई परिमार्जित र विकसित गरी अध्ययन–अनुसनधान, विकास, सुरक्षा लगायतका क्षेत्रमा प्रयोग गर्न सकिने बताउँदै प्रविधिसम्बन्धी व्यक्तित्वहरू, संघ संस्था, प्रदेश सरकार, केन्द्रीय सरकारलगायत सम्बन्धित निकायले सहयोग गरेमा मात्र आफूहरूले निर्माण गरेको रोबोटले सफलता पाउने उनीहरूले बताए ।
उनीहरू अध्ययनरत नविन औधोगिक कदरबहादुर रिता माविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीहरूको सिर्जनात्मक काम सरहानीय रहेको बताए । उनले भने, ‘साना विद्यार्थीले ठूलो काम गरेका छन्, यसका लागि विद्यालयले सम्मान गर्नेछ । उनीहरूले निर्माण गरेको यन्त्र मानवलाई थप विकास र परिमार्जन गर्न विद्यालयको सहयोग रहनेछ ।’ कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले रोबोट बनाएको जानकारी प्राप्त गरेपछि उनीहरूलाई भेट्न, रोबोट हेर्न र बधाइ दिन जानेहरूको संख्या बढ्दो छ ।
यसैक्रममा प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, शिक्षा महाशाखा प्रमुख लोकराज पन्थी, शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक माधवप्रसाद दाहाल, द्वय पन्थी अध्ययनरत विद्यालयका अध्यक्ष कृष्णप्रसाद खरेल, फिनल्याण्डका टास प्रोजेक्ट अफिसर जुहा मार्कुस भोल्टा लगायतले उनीहरूको घरमै पुगेर यन्त्र मानवको अवलोकन गरेका छन् ।
यसरी बनाए १० कक्षामा पढ्ने बुटवलका दाजुभाइले बोल्ने रोबोट
Previous Articleपर्वतमा बालिका दुलही हैनन् नीतिगत संवाद कार्यक्रम
Next Article ढोरपाटन: घुम्नेलाई मस्ती, बस्नेलाई सास्ती !