तारा घर्ती ‘अन्जली’ माओवादी जनयुद्धको सुरुवातकी अगुवा कार्यकर्ता हुन् । उक्त आन्दोलनमा पहिलोपटक बन्दुक पड्काएका तीनजनामध्ये एक घर्ती त्यसपछिका अनेकन् युद्धमोर्चामा सहभागी पनि भइन् । हाल माओवादी केन्द्रकी नेता रहेकी घर्तीले पहिलोपटक बन्दुक पड्काएदेखि जनयुद्धका विभिन्न कालखण्डका स्मृति यसरी साटिन्ः
पहिलोपटक बन्दुक समाउँदा
२० वर्षको उमेरमा मैले पहिलोपटक बन्दुक पड्काएको हुँ । महिला भएर बन्दुक बोक्न सक्दैनन् भन्ने हाम्रो समाजको मान्यता तोडेर हामी वर्गसंर्घषको भट्टीमा होमिन तम्तयार भएर मर्ने–मार्ने खेलमा होमिँदै थियौँ । पार्टीले जनयुद्धको सुरुवात गर्दै थियो, त्यसकै पूर्वतयारीका क्रममा ०५२ भदौमा पहिलोपटक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमरेडको उपस्थितिमा रोल्पाका हामी तीन महिलाले बन्दु पड्काउने ‘रिहर्सल’ गरेका थियौँ । हामीलाई बन्दुक यसरी पड्काउने, पोजिसन यसरी लिने भन्ने जस्ता सामान्य तालिम त्यसवेला दिइएको थियो, त्यो पनि कोठाभित्र ।
त्यतिवेला मेरो जिम्मेवारी एकातिर सुरक्षा दलको हैसियतमा पार्टीको एरिया कमिटी सदस्यका रूपमा थियो भने अर्काेतिर महिला संगठनको भने जिल्ला सदस्यको भूमिका निर्वाह गरिरहेको थिएँ । जनयुद्धको तयारी प्रशिक्षण भनेर रोल्पाको पाछावाङमा प्रचण्ड जानुभएको थियो । त्यहाँ हामी सुरक्षामा खटिएका थियौँ । प्रचण्डलाई बिदाई गर्दा सुरुमा बन्दुक पड्काउने हामी तीनजना महिला थियौँ, हालका सभामुख ओनसरी घर्ती, म र गीता विक ।
तयारीको मिटिङ सकिएपछि हामी अब ‘एक्सन’मा जाने निर्णयमा पुग्यौँ । ०५२ फागुन १ को अघिल्लो दिन सातु पिसेर सबै तयारी गरिसकेका थियौँ । तर, कहाँ जाँदै छौँ भन्ने थाहा थिएन । तथापि, कुनै आक्रमणमा जाँदै छौँ भन्ने थाहा थियो । होलरी रहेछ गन्तव्य । त्यहाँ हामी पुगेपछि फस्ट एसल्टमा वर्षमान पुन (अनन्त), नन्दबहादुर पुन (पासाङ), कुलप्रसाद केसी(सोनाम)हरू जानुभयो । त्यहा“ दाङबाट आउने र नुवागाउँतिरबाट जाने दुईवटा बाटा थिए, एकातिर ओनसरीजी बस्नुभयो, म अर्काेतिर बसेँ ।
हामीले रोल्पाको होलरी चौकीमा रातको ११ बजे आक्रमण सुरु ग¥यौँ । लगभग चार घन्टाजति हामी लड्यौँ । फर्किनुपर्ने स्थान धेरै टाढा थियो । हामीले सके त्यसलाई कब्जा गर्ने, नसके पनि आफ्नो मिसन सुरु भएको जानकारी दिने उद्देश्यले पर्चा छर्ने लक्ष्य बनाएका थियौँ ।
हामीले आक्रमण गरेपछि उताबाट पनि फायरिङ भयो, हामीले पनि गर्यौँ । अनन्तले राजनीतिक कमिसारको र पासाङले फौजी कमान्ड सम्हाल्नुभएको थियो । हामी ३५ जना त्यो आक्रमणमा संलग्न थियौँ । त्यसपछि सुरु भयो हाम्रो आरोह–अवरोहपूर्ण जिन्दगी । त्यस दिनबाट हाम्रा लागि रात दिन र दिन रात हुन थाले । दिनभरि हामी सेल्टरमा बस्थ्यौँ, रातभरि हिँड्ने काम गथ्र्याैं । त्यहाँबाट सुरु भएको हो हाम्रा संर्घषका कठिन दिन ।
मंगलसेनको त्यो भिडन्त
पहिलो शान्तिवार्ता भंग भएपछि पार्टीले आक्रमणको गति तेज बनाउने निर्णय गर्यो । शाही नेपाली सेनामाथि पार्टीले ०५८ मंसिरमा दाङको घोराहीमा आक्रमण ग¥यो । मेरा श्रीमान् सोनामजीलगायत कमरेड त्यहाँ आक्रमणका लागि पुग्नुभएको थियो । म भने भेरी–कर्णाली क्षेत्रमा पार्टी कामको सिलसिलामा थिएँ । पार्टीले दाङ, स्याङ्जा, सोलखुम्बुलगायत ठाउँमा एकैचोटि आक्रमणको निसाना बनाएको थियो ।
केही महिनापछि अछामलाई निसाना बनाइयो । तथापि, पार्टीले अछाम आक्रमण गर्ने विषयमा हामीलाई जानकारी दिएको थिएन । सो आक्रमणमा मेरो जिम्मामा स्वास्थ्य विभाग तय गरिएको रहेछ । आक्रमणका वेला भएको कोचिङमा खुट्टामा लागेको चोटका कारण म पुग्न सकिनँ । दैलेखको अन्तिम सेल्टरमा पुगेपछि मैले आराम गर्नुपर्ने अवस्था आयो । एसल्टमा जान पाइँदैन कि क्या हो भन्ने भयो । त्यहाँबाट सक्छु भनेर गएँ । मायाप्रसाद शर्मा पनि पार्टीको काम परेकाले पछि पुग्ने कार्यक्रम रहेछ ।
वनको खोल्सामा सबै टोलीलाई भात पकाई खुुवाएर हिँड्ने तयारी गरिएको रहेछ । जाँदै गर्दा टाकुराजस्तो ठाउँमा रहेछ हाम्रो एसल्ट । पश्चिम साइडको टोली नपुग्दै पूर्वदक्षिण टोलीले फायरिङ खोलेछ । त्यसपछि क्रस फायरिङ सुरु भइहाल्यो । बारीका पाटाहरू नाघेर हामी एउटा घरमा पुग्यौँ । त्यही घरमा उपचार गर्ने भन्ने रहेछ । लडाइँ सुरु भएको केही समयपछि नै घाइते साथीहरू आउन सुरु भयो । उपचारमा आएकालाई प्राथमिक उपचार गदैँ डोकोमा हालेर पठाउने गरियो । हामी रहेको ठाउँपट्टिको कमान्डर हुनुहुन्थ्यो, शरदजी । उहाँ नै घाइते भएर आउनुभयो । यतापट्टिको कमान्डर नै घाइते भएपछि उहाँलाई पनि प्राथमिक उपचार गरेर बोकाएर पठायौँ ।
केही घन्टाको लडाइँपछि हामीले सेनाको ब्यारेक कब्जा गर्यौँ । सशस्त्र प्रहरीको ब्यारेक बाँकी नै थियो, उज्यालो भइहाल्यो । हेलिकोप्टर आएर हवाई फायरिङ सुरु गरेपछि हामी फर्कियौँ । हामी हिँड्दा अछामको सदरमुकाममा धुवाँको मुस्लो आइरहेको थियो । हाम्रा टाउकामा सेनाका हेलिकोप्टर घुमिरहे । हामी जहाँ सेल्टर बस्न जाँदै थियौँ, जहाँ हाम्रा लागि खाना बन्दै थियो, त्यहीँ सेना गएर बसिदिएछ । त्यो ठाउँ थियो, रामारोशन ।
हामीले सेल्टर लिन खोजेका ठाउँमा सेना गएको थाहा भएपछि हामीले बाटो मोडयौँ र दैलेख हानियौँ । कर्णालीको पुल तरेर जानुपथ्र्यो दैलेख । त्यहाँ पनि सेना आएर बसेको सूचना आयो । अन्योल भयो । तर, सेना कालिकोटको मान्मातिर लगेछ । हामी अघि बढ्यौँ । दैलेख पुगेपछि हामी लामबद्ध भएर हिँडेका थियौँ । माथि देखियो, हेलिकोप्टर, केही ठूलो चिज बोकेर उडिरहेको छ । हामीलाई लाग्यो, सेनाले ठूलो बम बोकेर ल्याइरहेको छ ।
तर, होइन रहेछ । हेलिकोप्टरले अर्काे हेलिकोप्टरलाई बोकेर ल्याइरहेको रहेछ । त्यसलाई हाम्रै साथीहरूले मान्मामा खसालिदिएका रहेछन् । हेलिकोप्टरले अवरोध नगरेपछि हामी आफ्नो गन्तव्यमा पुग्यौँ । दैलेखका धेरै भूगोल परिवर्तन गर्दै पछि जाजरकोटमा छिर्यौँ ।
केटी बेच्ने दलाल ठान्दा पक्राउ
०५८ चैततिर पार्टीले सोनामजीसहित मलाई बाग्मती सरुवा गर्यो । पार्टीले उपत्यकाआसपासका क्षेत्रलाई रिङ क्षेत्र बनाएर त्यसको इन्चार्जसिपको जिम्मा सोनामजीलाई दिएको रहेछ । त्यहीँ बसेर मैले पनि काम गरेँ । त्यसवेला मलाई अल्सर भएको थियो । त्यसले गर्दा खुबै समस्या भइरहेको थियो । दोस्रो वार्ताका क्रममा काठमाडौंमा जाँच गर्दा अल्सर भइसकेको पत्ता लागेको थियो । वार्ता भंग भएपछि खानपिन मिलेन, फेरि बल्झियो । ०६१ को वैशाखमा भारतमा उपचार गर्न गएँ ।
सहिद रामवृक्ष यादवकी छोरी सुनीता यादव र म उपचार गर्न बिहारको पटना प्रस्थान गर्यौँ । म टप लगाएर सारीमा थिएँ । सामान्य मेकअप पनि गरेकी थिए“ । मान्छेले हम्मेसी शंका नगरून् भनेर त्यसरी गएको थिए“ म । सुनीता परिन् मधेसी मूलको, म पाहाडी मूलको ।
सुनीता र म रिक्सामा गइरहेका थियौँ । हामीलाई लैजाने अर्काे मधेसी मूलकै साथी अर्काे रिक्सामा बसेर गएका थिए । सुनीता र उनी भाइबहिनी भएर बसेको भए सहज हुने रहेछ । मसँग उनी बसेपछि मलाई त केटी बेच्न लाने मान्छे सोचेछ प्रहरीले । रक्सोल पुगेका थियौँ, केही मान्छेले ‘हामी नेपालबाट आएका पुलिस हौँ, फर्कनुस्’ भनेर पक्राउ गरिहाले ।
मलाई र सुनीतालाई पाँच दिनसम्म माइती नेपालमा राख्यो । माइती नेपालले हामी माओवादी हो भन्ने थाहा पाइहाल्यो । पहिले सुनीतालाई बयान लिएको थियो, उनले सबै बताइछिन् । बुबा, भिनाजु, दाइ सबै सहिद भएको बयान दिइछन् । मलाई पनि सोधे । मैले चाहिँ ‘मेरो श्रीमान् पार्टीमा हिँडेको हो, तर म होइन, म शिक्षण गर्छुु’ भनेँ । तिनलाई सबै भन्ने कुरा पनि भएन । माइती नेपालका मानिसलाई चाहिँ मैले सबै ढाँटिरहेको छु भन्ने परेछ क्यार । दुई–तीनपटक बयान लिएपछि माथि खबर गरेछन् । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले हामीलाई काठमाडौं ल्याउन निर्देशन दिइछन् ।
काठमाडौंमा त हामीलाई चिन्न सक्थे । पुलिस हामीसँगै गयो भने भाग्न सक्दैनौँ, गएन भनेचाहिँ भाग्ने है भनेर सुनीता र मैले सल्लाह गर्यौँ । हामीलाई लिन हेटौंडाबाट दुईजना प्रहरी पठाइएको रहेछ, नागरिक पोसाकमा । प्रहरीको बीचमा हामीलाई राखेर काठमाडौं जाने बसमा हालिदिए । म माइती नेपालकी अधिकारीसँग थिए“ अगाडि । हेटाैँडामा आइसकेपछि भने ती पुलिस झरे । प्रहरी झरेपछि मलाई भाग्नुपर्छ भन्ने लाग्यो ।
हामीलाई लिएर जाने माइती नेपालकी महिलाले त्यसैवेला ‘अगाडि सेनाको ब्यारेक आउँछ, तिमीहरू केही नबोल्नु सबै म भन्छु’ भनिन् । यसले अब फसाउँछे होली भन्ने लाग्यो मलाई । कन्डक्टरलाई ‘यहीँ रोक्नोस्, हामी झर्छाैं’ भनेँ । उनले ‘तपार्इंहरू काठमाडौं, पुग्ने होइन र ?’ भने ।
माइती नेपालकी महिला अलमलमा परिन् । मैले ‘होइन, बहिनी र म यहीँ झर्छाैं, उहा“ काठमाडौं जानुहुन्छ’ भनेँ । झोला बोकेर म स्वाट्टै तल झरिहालेँ । सुनीता बहिनीलाई समाइहाल्यो । सुनीतालाई ‘टर्चर’ दिने हो कि ? सेनालाई भनिदिने हो कि ? भनेर तनाव भयो तर फेरि फर्कने कुरा भएन । झोलामा एक जोर कपडा पनि थियो । सडककै अर्काे साडडतिर गएर मैले कपडा फेरेँ ।
त्यसपछि ट्रकमा चढेर हेटौंडा फर्किएँ । ट्रक ड्राइभरलाई ‘एनजिओमा काम गर्छु, फापरबारीतिर जान लागेको हो । त्यताको गाडी लाग्ने ठाउँमा झारिदिनु है’ भनेँ । उनले त्यसै गरे । म गाडीमा चढेर फापरबारीतिर लागेँ ।
तर, कहाँ जाने ठेगान थिएन । त्यसैले गाडीको अन्तिम गन्तव्यसम्म जाने योजना बनाएँ । अन्तिममा तीनटी महिला, एउटा केटा र म मात्र बाँकी रह्यौँ । त्यहाँबाट झरेपछि एनजिओमा काम गर्ने मान्छे हुँ भन्नुपर्यो र उनीहरूसँगै जानुपर्यो भन्ने सोचेँ । महिलाहरूसँग कुरा गर्न थालेको छु, उनीहरू सेनाका श्रीमती रहेछन्, त्रिशुली ब्यारेकमा रहेका आफ्ना श्रीमान्लाई भेटेर फर्किरहेका रहेछन् ।
म ती भाइसँग कुराकानी गर्दै अघि बढेँ । उसैकहाँ खाना खाएँ । उनी दलित परिवारका रहेछन् । उनको परिवारका सदस्यले ‘गाउँमा हिजो बिहान मात्रै सेना आएको र खानतलासी गरेर गएको’ भने । त्यसो भनेपछि ‘फेरि आइरहेको पो छ कि, वा यतै कतै छ कि’ भन्ने लाग्यो । जे त पर्ला भनेर साँझ सुत्ने वेलामा आफू माओवादी भएको बताएँ ।
‘म माओवादीमा काम गर्ने मान्छे हुँ । सेना आयो भन्नुहुुन्छ तपार्इंहरू । यतै बसौँ कि अलि सुरक्षित स्थानमा जाऔँ भन्नुहुन्छ भने जाम’ भनेँ । उनीहरूले ‘अब ठीकै छ, आज हाम्रै घरमा बस्नोस्’ भने । आँटिला रहेछन्, उस्तै खालका मान्छे भए डराइहाल्थे । उनीहरूले ‘सेना आइहाल्यो भने बुहारी वा केही भनौँला भनेर आश्वासन पनि दिए । अर्काे दिन फापरबारीतिर लागेँ ।
फापरबारीतिर लाग्दा फेरि अनौठो भयो । हाम्रो क्षेत्रीय हेडक्वार्टरका भाइ नवीन ‘अञ्जली दिदी गिरफ्तारीमा पर्नुभयो’ भन्ने खबर हेडक्वार्टरमा दिएर फापरबारीबाट फर्किरहेका रहेछन्, म फापरबारीतिर गइरहेको । नवीन भाइसँग हाम्रो सेनाका केही साथी पनि रहेछन् । हाम्रो देखादेख भयो । उनीहरूले गिरफ्तारीमा परेपछि म आत्मसमर्पण गरेर आएको होला भन्ने ठानेछन् । गाडी रोकेपछि मलाई सोधे, ‘पाँच दिनअघि गिरफ्तार परेको भन्ने मान्छे कसरी आउनुभयो ?’
मैले ‘भागेर आएको’ भनेँ । उनीहरूले पत्याएनन् । उनीहरूले शाही सेनासामु आत्मसमर्पण गरेर आएको होला भनेर धेरै बेरसम्म पत्याएनन् । सेनाले घेरा गरिरहेको होला भनेर नवीन भाइ धेरै बेरसम्म बोल्न पनि डराए । उनीहरूलाई यसरी आएको हो भनेर फेहरिस्त लगाएपछि बल्ल पत्याए । र, मलाई सेल्टरमा लगे ।
पटनामा गिरफ्तारीमा पर्दा
अल्सरले असाध्यै च्यापेपछि म केही हप्तापछि नै उपचारका लागि फेरि पटनामा गएँ । उपचार गरेँ । अन्तिम उपचारका लागि डाक्टरले बोलाएको थियो । सोनामजीहरू पनि त्यो बैठक सकेर पटना आउनुभएको थियो ०६१ जेठ १९ गते । २० गतेको दिन मलाई बोलाएको थियो डाक्टरले । २१ गते सोनामहरू पूर्व हिँड्ने, म मकवानपुरतिर फर्कने योजना थियो । तर, जेठ २० गते अचानक गिरफ्तारीमा परियो ।
‘आत्मसमर्पण गर । हतियार बुझाओ ।’ भन्दै हामीलाई घेरियो होटलको कोठामा । ढोका खुल्यो, प्रहरी हतियार तेस्र्याउँदै भित्र आए । समातेर हामीलाई अमलपुरा थानामा पुर्याए । तीन दिनसम्म त्यहीँ राख् । यातना दिए । पछि सोनामजीकी श्रीमती भनेपछि मलाई त्यत्ति सास्ती दिएनन् । उनीहरू ‘प्रचण्ड कहाँ छन् भन, नत्र नेपाल पठाइदिन्छौँ’ भनेर धम्की दिन्थे । तीन दिनपछि मलाई फुलबारी जेल लगियो, सोनामजीहरूलाई बेउर जेल लगिएछ । ६ महिनापछि मलाई पनि बेउरमै लगे । त्यहाँ दुई वर्ष बस्यौँ । ०६३ जेठ २६ गते छुटेर आएँ ।
वर्गीय मुक्ति र महिला शक्तिका लागि आन्दोलनमा होमिएका थियौँ भनेर हामीलाई गर्व छ । अहिले पनि त्यो कायमै छ । हामीले त्यति त्याग, बलिदान, रगत, पसिना बगाएकै कारण देशमा गणतन्त्र आएको हो भन्ने लाग्छ । धर्म निरपेक्षता, समावेशी, समानुपातिक भएको छ । संविधानसभाबाट जनताकै प्रतिनिधिले संविधान बनाएका छन् । गाउँगाउँका जनतालाई प्रशिक्षित दिएर चेतनशील बनायौँ । त्यो गैरवको विषय छ । प्रस्तुति: रामकृष्ण अधिकारी
तारा घर्ती ‘अन्जली’ को स्मृति…२० वर्षमै बन्दुक पड्काउँदा
Previous Articleचिठ्ठी र हुलाकीदेखि इमेल र इन्टरनेटसम्म
Next Article एसियाली छनोटकाे पहिलो खेलमा नेपाल ६ विकेटले पराजित