बागलुङ, ११ जेठ-नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. जीवराज पोखरेलले विश्वका ठूला देशले उत्सर्जन गरेको कार्वनले नेपालको जलवायु परिवर्तनमा असर परेको बताएका छन् । उनले कार्बन उत्सर्जनलाई घटाउने अभियानमा उत्सर्जन गर्ने देशको अगुवाई हुनुपर्ने भन्दै नेपालीले पनि न्युनिकरण अभियानमा अग्रसरता देखाउनुपर्नेमा जोड दिए । उनले शहरी क्षेत्रमा बिरवा रोप्ने बानीको विकास गर्ने र ग्रामीण क्षेत्रमा खेतबारीको काठ र दाउरा कुहाएर मल बनाउँदा कार्वन उत्सर्जन घटाउन सकिने बताए । प्रतिष्ठानले स्थानीय बिद्यामन्दिर माविको सहकार्यमा संचालन गरेको जलवायु परिवर्तनको असर र न्युनिकरणको उपाया बिषयक अन्तरक्रियामा कार्वन उत्सर्जन घटाउन सबैको साझा चासो आवस्यक भएकोमा जोड दिएका थिए । ‘साना गल्तीबाट वातावरण बिनासमा ठूलो असर परिरहेको छ, हामीले त्यस्ता कुरा बुझ्न जरुरी छ’ पोखरेलले भने, ‘जलाउने बस्नुलाई कुहाएपनि कार्वन उत्सर्जनमा धेरै कमी आउँछ ।’ बालबालिकाको तहमा यस्ता जानकारी बढाउन सकियो भने दिर्घकालिन समाधान हुने उनले बताए । ग्रामीण क्षेत्रका पानीका मुहान सुक्ने, बाढी पहिरोको प्रकोप, अतिवृष्टी र अनावृष्टीका समस्या समेत यस्ता गल्तीबाट भएको उनले प्रष्ट पारेका थिए । विकसित मुलुकले उत्सर्जन गरेको कार्वनको असर नेपालमा परेको टिप्पणी भैरहेपनि नेपालले उत्सर्जन घटाएर अन्तराष्ट्रिय जगतबाट फाइदा कमाउन सकिने उनको आग्रह थियो । मानवीय त्रुटीले धेरै समस्या सिर्जना भएको र नेपाल बढी मानवीय समस्याकै चपेटामा परेको समेत स्पष्ट पारेका थिए । पछिल्लो समय नदी दोहन बढ्नुले वातावरणमा नकारात्मक असर परेकोमा टिप्पणीहरु शुरु भएका छन् । कालीगण्डकी यस्तो समस्याबाट ग्रसित भएको छ । ग्रामीण सडक खन्ने क्रममा जथाभावी डोजरको प्रयोगले पानीका मुहान सुक्ने र चौताराहरु मासिने क्रम बढेको समेत सहभागिको टिप्पणी थियो । प्रतिष्ठानले सबै प्रदेश तहमा पुगेर सचेतना अभियान संचालन गर्न विद्यालय तहका बालबालिकालाई तालिम दिने, छलफल र अन्तरक्रिया गर्ने काम गर्दै आएको बरिष्ठ बैज्ञानिक बिमला देबकोटाले बताईन् । बागलुङका १२ बिद्यालयका बालबालिका माझ उनीहरुले सचेतना अभियान, जलवायु परिवर्तन सम्बन्धी छलफल र हाजिरीजवाफ जस्ता क्रियाकलाप संचालन गरेका थिए । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले विकसित मुलुकले उत्सर्जन गरेको कार्वनका कारण भएको जलवायुको परिवर्तनको असरमा नेपाल र नेपाली परेकोमा चिन्ता व्यक्त गरे । उनले नेपाल जस्ता कम विकसित मुलुकले क्षति व्यहोर्नु परेको र क्षतिपूर्ति पाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेय, धौलागिरी बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्याक्ष डिल्लीराज गौतम, समाजसेवी देवबहादुर श्रेष्ठ, लालचन्द्र राजभण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रमको बिषयमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका बरिष्ठ बैज्ञानिक डा. बिमला देवकोटाले जानकारी गराएकी थिईन । चार सत्रमा बिभाजन गरिएको कार्यक्रममा उद्घाटन, हाजिरजवाफ, अन्तरक्रिया र पुरस्कार बितरण गर्दै सम्पन्न भएको नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले जनाएको छ । देशव्यापी कार्यक्रम अन्तर्गत ५५ औं जिल्लाको रुपमा बागलुङमा बिहिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्र बिद्यामन्दिर मावि व्यवस्थापन समितीका अध्यक्ष सुवासचन्द्र राजभण्डारीको अध्यक्षता, प्रधानाध्यापक जगन्नाथ आचार्यको स्वागत र शिक्षक छविरमण रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।