बागलुङ, १० जेठ– नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बर्डले बुधबार बागलुङमा सञ्चालित बिभिन्न सिपमुलक कक्षाहरुको अवलोकन गरेका छन् । डिआईआरडिसीले सञ्चालन गरेको ३ सय ९० घण्टे पलम्वर, सिलाईकटाई तालिम र धौलागिरी बहिरा आवासिय माध्यामिक बिद्यालयमा सञ्चालित सिकाई कक्षाहरुको स्थलगत अवलोकन गरेका हुन् । राजदुत बर्ड र प्रदेशसभा सांसद ईन्द्रलाल सापकोटाले धौलागिरी बहिरा आवासिय माध्यामिक बिद्यालयमा चित्रकला शिक्षण कक्षा र कम्प्युटर मर्मत वर्कशपको एक समारोहका बीच उद्घाटन गरेका थिए । अष्ट्रेलियन राजदुतावासको सहयोगमा डिआईआरडिसी र धौलागिरी बहिरा आवासिय माध्यामिक बिद्यालयमा सञ्चालित सिपमुलक कक्षाहरुको अवलोकनका लागि बर्ड बागलुङ आएका थिए ।
अवलोकन पछिको बिदाई कार्यक्रममा बोल्दै राजदुत बर्डले राजदुतावासको लगानीले ल्याएको परिवर्तनले आँफु खुसी भएको बताएका थिए । बिद्यार्थीलाई व्यवहारिक र सिपमुलक ज्ञान दिएर बिद्यालयले धेरै राम्रो काम गरेको भन्दै उनले आफ्नो देशले गरेको लगानीको राम्रो प्रतिपल आएको बताए । सामाजिक समावेशीकरण अहिलेको प्रमुख बिषय भएको भन्दै उनले समावेशी हिसाबले सिपमुलक क्षेत्रमा लगानि गर्नुपर्नेमा जोड दिए । बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलियन राजदुतावासको सहयोगमा सञ्चालन गरिएको शिक्षकहरुका लागि पाँच दिने बालमैत्री तालिमका सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रदेशसभा सांसद इन्द्रलाल सापकोटा र राजदुत पिटर बर्डले एक साथ शिक्षकहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । यसअघि राजदुत बर्डले बानपा– १ रामरेखामा सञ्चालित ३ सय ९० घण्टे पलम्वर तालिम र सिलाईकटाई तालिमको अवलोकन गरे । तालिमको अवलोकनका क्रममा उनले शिपले मानिसलाई आत्मनिर्भर बनाउने भन्दै महिलाहरुको सहभागिता उत्साहजनक भएको बताए । ‘तपाईंहरुले सिकेको सिपले घरपरिवार र समाजमा राम्रो प्रभाव पार्न सक्छ’ तालिम कक्षमा सहभागी भेट्न पुगेका राजदुत बर्डले सहभागीलाई भने ‘सिकेका कुरालाई व्यवहारमा उतार्नुस् ।’ झण्डै चार घण्टा अवलोकनमा बिताएका बर्डलाई तालिममा सहभागीले ढाका टोपी लगाएर सम्मान गरेका थिएभने धौलागिरी बहिरा आवासिय माध्यामिक बिद्यालयका बिद्यार्थीहरुले आँफैले बनाएको चित्रकला मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।
बिद्यालयमा नै सिलाई बुनाई सिप लिईरहेका बहिरा बिद्यार्थीहरुले बर्ड र अष्ट्रेलियन राजदुतावासका स्रोतव्यक्ति कृष्ण कार्कीलाई अल्लोको झोला उपहार दिए । कार्यक्रममा बिद्यालयका संस्थापक तथा डिआईआरडिसीका अध्यक्ष केवी राना मगर र कार्यक्रम संयोजक सालिकराम शर्माले कार्यक्रमको बिषयमा जानकारी गराएका थिए ।