काठमाण्डौ, १० जेठ– संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए ।
अहिले एक लाख १७ हजार दरबन्दी रहेपनि एक लाख ६ हजार कर्मचारी कार्यरत रहेका छन् । संघका प्राविधिक तहका कर्मचारी– इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उनले जानकारी गराए । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ । उनका अनुसार सबभन्दा थोरै प्रदेश सरकार मातहतमा कर्मचारी रहनेछन् । एउटा प्रदेश सरकारमा तीन हजारका दरले २१ हजार मात्र कर्मचारी रहने अनुमान गरिएको छ । यसअघि स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहने मन्त्रि परिषद्ले निर्णय गरिसकेको छ । यसैगरी, विभिन्न मन्त्रालयमा रहेका कर्मचारीलाई कटौती गरेर प्रदेश र स्थानीय तहमा पठाइने समेत सहसचिव अधिकारीले बताए । मन्त्रालयमा रहेका २१ देखि ५४ प्रतिशत कर्मचारी कटौती गरिएको छ ।
Previous Articleबजेटमा पर्वतले गौरव गर्ने ठाउँ–तिमिल्सिना
Next Article डेढ वर्षे कार्यकालः पछाडि फर्केर हेर्दा