बागलुङ, २९ साउन – जिल्ला विकास समिति बागलुङले जिल्लाका विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७२/०७३ मा गरेका कामको बार्षिक समिक्षा गरेको छ । कार्यालयले गाविस, बिषयगत कार्यालय तथा गैससहरुको काम कारबाहीका बारेमा जानकारी लिदै २ दिने प्रस्तुतिकरण कार्यक्रम गरी सम्पन्न गरेको छ ।
समिक्षामा स्थानीय विकास अधिकारी भरत गौतमले अघिल्लो बर्षको समिक्षा गरेर आगामी कार्ययोजना तय गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सो अवसरमा जिल्लाका सरकारी तथा गैससहरुले बर्षभरि सञ्चालन गरेका बिकास तथा पुर्वाधार निर्माणका काम तथा खर्च विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बाढी तथा पहिरोबाट पिडित बनेका पश्चिम क्षेत्रको सम्पुर्ण घरधुरी एवं विस्थापितको जनसंख्या गाविस सचिवहरुले ल्याउनुपर्ने बताएका थिए । सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप विस्तार गर्नुपर्ने भन्दै विकास निर्माणमा लाग्न आग्रह गरेका थिए ।
गैससबाट विभिन्न क्षेत्रमा खर्च गर्ने रकमको सही सदुपयोग गर्न सुझाव दिदैँ सहभागीले आगामी योजना प्रभावकारी बनाउन आग्रह गरेका थिए । सांसद नरबहादुर थापाले हरेक बर्ष भएका उपलब्धीमुलक कामलाइ जिविसले पनि सूचिकृत गरेर राख्न सुझाव दिएका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, सरोकारवालाहरुले सहभागीता जनाएका थिए । कार्यक्रम स्थानीय विकास अधिकारी भरत गौतमको अध्यक्षता र योजना अधिकृत प्रेम सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।