बागलुङ, ९ जेठ– बागलुङ नगरपालिकाले सदरमुकाम भित्र मापदण्ड विपरित बनाइएका घरका पेटी भत्काउन सुरु गरेको छ । नगर क्षेत्र भित्र सडक साँघुरो भएपछि फराकिलो बनाउन शिवधारा चोकबाट भत्काउने अभियान थालिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पहिलो पटक मापदण्ड विपरीत सडकमा बनेका संरचनाहरु हटाएर सडकलाई ८ मिटर फराकिलो बनाउन लागिएको बागलुङ नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । सडक फराकिलो बनाए संगै सडकको आवश्यकता अनुसार कालोपत्रे तथा ढलान गरिने लक्ष्य राखिएको नगरप्रमुख जनकराज पौडेलले बताए । शिवधाराचोक देखी थालिएको अभियान सदरमुकाम क्षेत्र भरीका मापदण्ड विपरित रहेका सडक पेटीलाई हटाइने भएको हो । क्याम्पसदेखी शिवधारा चोक सम्मको सडक विस्तारका लागि ३४ लाख रुपैँया लागत अनुमान गरी काम थालिएको पौडेलले बताए । नगरपालिकाले स्थानीयबासीहरु संग समन्वय गरेर थालेको अभियानमा अहिले सम्म कुनै पनि स्थानीयबासीको अबरोध नरहेको नगर प्रमुख जनकराज पौडेलले बताए । उनले सबैले सहयोग गरेकाले पहिले सडकलाई व्यवस्थित गरेर अन्य काम सञ्चालन गर्ने बताए । नक्सा पास भन्दा बढी जग्गा मिचेर बनाएका संरचनालाई कडाईका साथ भत्काउने भन्दै उनले आगामी बर्ष सम्म चोक सुधार गरी सडक फराकिलो बनाउने बताए । आर्थिक बर्ष ०७४÷७५ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार नगरपालिकाले सडक पेटी एवं नाली भत्काएर पुन निर्माण गर्ने बताएको छ । अहिले ऐश्वर्य चोक, अदालत रोड, क्याम्पसको पश्चिम भेग संगै सहिद चोक देखी बुद्ध चोक हुदैँ कम्फु टोल सम्म सडक विस्तार गरिने भएको छ । विकासका योजना निर्माण गर्दा आपसी विवादका कारण काम ठप्प हुने गरेको भएपनि यस अभियानमा सबैको साथ पाएको नगर उपप्रमुख सुरेन्द्र खड्काले बताए । नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरिले असार मसान्त सम्म सक्ने गरी काम अगाडी बढेको बताए । आठ मिटर भित्र पर्ने भवन हटाउने कार्यपालिकामा निर्णय नभएकाले अहिले सडक पेटी मात्रै हटाउन लागेको गिरिले बताए । सदरमुकामका मुख्य सडकहरुमा रहेका घरका पेटीहरुमा व्यापार व्यवसाय सञ्चालन गर्दा यात्रुहरुलाई समस्या हुने गरेको छ । निर्बाध रुपमा मान्छे हिड्न पाउनु पर्नेमा सडक पेटीमै ब्यापार ब्यावसाय गर्नेहरुका कारण नगरको सुन्दरतानै कुरुप बन्दै गाएको छ ।
बागलुङ नगरभित्रका मापदण्ड बिपरितका पेटी भत्काउन सुरु
Previous Articleअसन्तुष्ट रावललाई नेकपा विधान मस्यौदा निर्माणको जिम्मा
Next Article ९ जेठ २०७५, ढोरपाटन दैनिक