पक्राउपछि गोरेले देखाए अनौठो व्यवहार
बागलुङ, ९ जेठ-सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् । मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु-याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे सुन काण्डबारेको बाँकी धेरै रहस्य खुल्ने बयान दिएका हुन् ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम रहेको छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रुपैयाँ लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसएसपी खत्रीको नाम लिँदै आएका छन् ।
खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा समेत पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो । पुनः सुनकाण्डमा उनको संलग्नता रहेको पाइएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि हाजिर हुन बोलाएको थियो । तर, उनी फरार रहँदै आएका छन् । यस्तै, गोरेले बयानकै क्रममा सुनका लगानीकर्ता मोहन अग्रवाल रहेको समेत खुलाएका छन् ।
गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको भन्दै लगानीकर्ता मोहन अग्रवाल रहेको बयान दिएका हुन् । उनी काठमाडौंको गौरीघाटस्थ्ति आफ्नै घरनजिकबाट मंगलबार बिहान साढे पाँच बजेतिर पक्राउ परेका हुन । पक्राउपछि गोरेले आफूले सुन व्यवस्थापन मात्रै गरेको र तस्करीमा आफुभन्दा माथि धेरै जना रहेको खुलाएको स्रोतले बतायो ।
सुन तस्करीमा प्रहरीसँग सहयोग लिएको र त्यसवापत आफूले रकम दिने गरेको पनि उनले पुष्टि गरेका छन् । पक्राउपछि गोरेले अनौठो व्यवहार देखाएको समितिका एक सदस्यले बताए । ‘एकैछिनमा रुने, गम्भीर हुने र मरौँमरौँ लागेको बताउने गरेका छन्,’ ती सदस्यले भने, ‘प्रहरीसमक्ष मलार्य बचाईदिनुस् भन्दै रोए ।’ प्रारम्भिक बयानमा गारेले समातिएकाहरु सबै सुन तस्करीमा संलग्न रहेको स्वीकारे पनि माथिलो तहबारे खुलाएको छैनन् ।