‘गोरे’ लाई अदालतमा पेश गरियो
काठमाडौँ, ८ जेठ – तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन्। मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा आफूले तस्करीको सुन व्यवस्थापन गर्ने र क्यारिङ गर्नेमात्र गरेको बताएको समिति स्रोतले जानकारी दियो।
बयानमा गोरेले भनेका छन्, ‘मेरा बारेमात्र धेरै कुरा आए। मभन्दा माथि काम गर्ने अरु पनि छन्। उनीहरुको बारेमा पनि खोल्नु पर्छ।’ फागुन पहिलो साता अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै रहेको गोरेले समितिलाई बताएका छन्। ‘फागुन ९ गते विमानस्थल हुदै आएको ३३ किलो सुन मोहनकै हो, त्यो सुन ठाउँमा पुर्याउने जिम्मा मेरा केटाहरूको थियो, सेटिङ मैले गरिदिएको हो, सुन लुटियो त्यसमा भुजुङ गुरुङ समूहको हात छ, मलाई सिध्याउन सुन लुटिएको हो,’ समितिसँगको बयानमा गोरेले भनेका छन।
उनले एकैदिनमा ८६ किलोसम्म सुन विमानस्थलबाट बाहिर ल्याएको पनि बताएका छन्। ‘मलाई मुख्य मान्छे भनिएको छ, म नै ठूलो मान्छे होइन, अदालतमा मुद्दा दायर भएका ६३ जनामा केही जनासँग मिलेर काम गर्ने गरिन्थ्यो, एकै दिनमा ८६ किलोसम्म सुन ल्याएका थियौं,’ गोरेले बयानमा भनेका छन्। उनले भुजुङ गुरुङसँग पछिल्लो समयमा नराम्रो हुदै गएको पनि बताएका छन्।
‘भुजुङ र उनको सालो छिरिङले मलाई फसाउन खोजेका थिए, त्यही सिलसिलामा ३३ किलो सुन लुटिएको हो। सुन लुटेर दोष मेरो थाप्लोमा हाल्ने काम उनैले गरेका हुन् ,’ गोरेले भनेका छन्। गोरेले आफूसँग मिलेर काम गर्ने केही व्यक्तिको बारे पनि समितिलाई सुचना समेत दिएका छन्। तीमध्ये केही उच्च प्रहरी अधिकारी पनि छन्। समितिका संयोजक ईश्वरराज पौडेलले गोरेले दिएको सूचनाका आधारमा पक्राउ पर्न बाँकीलाई कानुनी दायरामा ल्याइने बताए।
यसैविच, ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ। पक्राउ परेपछि उनलाई आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो। मोरङ जिल्ला अदालतमा गोरे सहित ६३ जनाका विरुद्ध सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुद्दा चलिरहेको छ।
गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग लागेको छ। यस्तै सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।
अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै !
Previous Articleअपमानजनक पदावली सभामुख र अध्यक्षलाई प्रयोग गरेको भन्दै संशोधन
Next Article एसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्ने गोरेको बयान