काठमाडौँ, ८ जेठ – सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रममा तीन पार्टीले ६ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसका १७ जना सांसदले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले सम्वोधनमा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै प्रतिनिधि सभामा संशोधन गर्दा गराएका हुन् । उनीहरुले अध्यक्ष र सभामुखलाई राष्ट्रपतिले सम्मानजनक पदावली प्रयोग गर्नु पर्ने भन्दै संशोधन हालेका हुन् ।
समाजवादी फोरम र राजपाका सांसदहरुले संविधान संशोधन गराउनु पर्नेमा जोड दिएका छन् । संशोधन गर्ने समय मंगलबार अपरान्हसम्म निर्धारण गरिएको थियो । संघीय समाजवादी फोरमका प्रदीप यादवले राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरिने भन्ने थप गर्नु पर्ने, जन्मसिद्ध नागरिकता लिएका सन्तानलाई नागरिकताको हकबाट बञ्चित गराइने छैन जनसंख्यामा र मानव विकास सुचकाङ्कको उपचारमा प्रदेशलाई अनुदानको रुपमा उपलब्ध गराइने छन भन्ने बुँदा थप गर्न भन्दै संशोधन दर्ता गराएका छन् ।
फोरमकै सांसद रामसहायप्रसाद यादवले पनि संविधान संशोधन हुनु पर्नेमा संशोधन दर्ता गराएका छन् । फोरमकै सुरेन्द्रकुमार यादव, रेनुका गुरुङले पनि संशोधन दर्ता गराएका छन् । राजपाका सांसद अनिलकुमार झा र लक्ष्मण लाल कर्णले नीति तथा कार्यक्रमको दुई वटा बुदामा संशोधन दर्ता गराएका छन् । उनीहरुले सहिद परिवारको भरणपोषणको व्यवस्था गर्नु सरकारको दायित्व हुने, शोषित, उत्पीडित र बहिस्कृत समुदायको अधिकारको लागि संविधान संशोधन गरिनेछ भन्ने वाक्य थप गर्नु पर्ने भन्दै संशोधन दर्ता गराएका हुन् ।
राष्ट्रिय सभामा दुई वटा संशोधन परेको छ । त्यसमा राजपाका बृषेशचन्द्र लालले बाढी नियान्त्रणको परिणाममुखी रणनीति तयार गरी बाढी पीडितहरुको पुर्नबासको लागि बाढी पुनर्निर्माण तथा पुर्नस्थापना आयोजनाको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने बुँदा थप गर्नुपर्ने संशोधन हालेका छन् । कांग्रेसका ११ जनाले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई अपमान गरिएकोमा सम्मानजनक पदावली प्रयोग गरिनु पर्ने भन्दै संशोधन दर्ता गरेका हुन् । प्रतिनिधिसभामा बुधबारदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने संसद सचिवालयले जनाएको छ ।
अपमानजनक पदावली सभामुख र अध्यक्षलाई प्रयोग गरेको भन्दै संशोधन
Previous Articleको को परे नेकपाका केन्द्रीय सदस्यमा ? (सूचीसहित)
Next Article अनामनगरबाट लुटिएको ३३ किलो सुन मोहन अग्रवालकै !