बागलुङ, ८ जेठ– बागलुङ नगरपालिका–३ मा रहेको नगरपालिकाको कार्यालय बजार क्षेत्रमा सार्न नगरबासीले दबाव दिन थालेका छन् । कार्यालय अपायक पर्ने स्थानमा रहेको भन्दै उनीहरुले बागलुङ बजारमा कार्यालय स्थापना गर्नुपर्ने माग गरेका छन् । रात्माटामा रहेको कार्यालय आउन–जान अपायकमा रहेको र टाढाका नगरबासीलाई सास्ती हुने गरेको बानपा–१२ अमलाचौरका राजु शाहीले बताए । सार्वजनिक सवारी साधन प्रयोग गर्नेहरुलाई कार्यालय अपायक भएको भन्दै सर्वसाधारणले कार्यालय बागलुङ बजारमा सार्नुपर्ने माग गरेका हुन् । सर्वसाधारणको प्रत्यक्ष जीवनसँग जोडिएका सबै काम गर्नुपर्ने कार्यालय अपायकमा रहेकाले कार्यसम्पादनमा समेत समस्या हुने गरेको वडा नं. ११ रायडाँडामा निर्माणाधिन आफ्रे–सल्र्याङ मोटरबाटो निर्माण समितिका अध्यक्ष पदम थापाले बताए ।
‘हामी दुरीका हिसाबले टाढा रकेका वडाहरुलाई नगरपालिकाको कार्यालय अपायक पर्ने ठाउँमा छ’ थापाले भने– ‘सबैलाई सहज हुने र सार्वजनिक यातायात प्रयोग गरेर तत्काल पुग्न सकिने ठाउँमा कार्यालय सार्नुपर्ने हाम्रो माग छ ।’ कार्यालयबाट सुबिधा लिनको लागि लामो समय खचर्नु पर्ने र सानो कामको लागि समेत ठुलो खर्च गरेर बजारमा बस्नु पर्ने अवस्था रहेको थापाले बताए । ‘आफ्नो साधन नहुने हामीहरु अर्कैको साधन खोजेर सदरमुकाम जानु पर्छ’ थापाले भने– ‘बजारसम्म मात्रै जाने सवारी साधनले नगरपालिकाको कार्यालयसम्म पु¥याउँदैनन्, हिँडेर जाँदा समय लाग्छ ।’
हाल नगरपालिकाको कार्यालय रहेको स्थानमा कामका लागि लामो समय कुर्नु पर्दा खाजापानी आदिको लागि समेत व्यवस्था नभएकाले सुबिधा सम्पन्न ठाउँमा कार्यालय सार्नुपर्ने अवस्था रहेको वडा नं १२ का वडा अध्यक्ष गुरुदत्त पाठकले बताए । ‘कार्यालयमा पुग्दा कहिले कर्मचारी नहुने र कहिले जनप्रतिनिधि नहुने समस्या हुन्छ’ पाठकले भने ‘कामका लिनका लागि लामो समय पर्खनु परेमा पानी खाने ठाउँ समेत नजिकमा छैन् ।’ पाठकको नेतृत्वमा यसै साता कार्यालय सार्न माग गर्दै बानपा–१२ का सर्वसाधारणले नगर प्रमुखको ध्यानाकर्षण समेत गराएका छन् । अमलाचौरबाट आएको वडाबासीको टोलीले नगरप्रमुख जनकराज पौडेललाई भेटेर कार्यालय सार्ने बिषयमा ध्यानाकर्षण गराएको वडा अध्यक्ष पाठकले बताए ।
वडा अध्यक्षको नेतृत्वमा भेट्न आएको टोलीलाई नगरप्रमुख पौडेलले आगामी श्रावण महिना भित्रमा कार्यालय स्थानान्तरण हुने आश्वासन दिएका छन् । नयाँ आर्थिक बर्षमा बजारबाट नै कार्यालयका काम हुने व्यवस्था मिलाउन लागिएको आँफुहरुलाई बताएको अमलाचौरका स्थानिय राजु शाहीले बताए । कार्यालय स्थानान्तरणको माग उठेपछि नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘कार्यालय अपायकमा रहेको भन्दै बजारमा सार्न आग्रह गर्नुभएको छ’ पौडेलले भने– ‘यो बिषयमा नगरपरिषदमा छलफल गर्ने योजनामा छौं ।’ नागरिक तहबाट उठेको बिषयलाई परिषदले सम्बोधन गर्ने पौडेलले बताए । ‘हामीले आगामी नगर परिषदमा यो मुद्धालाई टेवल गर्छाैं’ प्रमुख पौडेलले भने ‘परिषले गरेको निर्णय नै अन्तिम निर्णय हुने छ ।’ कार्यालय सार्ने बिषय गहन बिषय भएकाले आँफु एक्लैले वा कार्यापालिकाले मात्रै यसको बिषयमा निर्णय गर्न नहुने पौडेलको भनाई छ ।