कृष्ण प्रसाद शर्मा
२००६ सालमा पुष्पलालले सोचेको बृहत कम्युनिष्ट पार्टिको अवधारण नै अहिले आएर पुरा भएको भनी पार्टिको घोषणा सभामा पुर्व एमालेका अध्यक्षले भने जस्तै के साँच्चै यो पार्टिको जग पुरानो हो ? यो कसैले दाबी गरेर हुने कुरा रहेन । अहिले बजारमा रहेका कम्युनिष्ट नामका अरु पार्टिले पनि आँफुहरूलाई चौबीसै क्यारेटको कम्युनिष्ट भन्दै आएका छन् तर नाप्ने र जाँच्ने उनीहरूका आ–आफ्नै तुला र बईखाता छन् । त्यसैले सबै आफ्नै गोरूका बाह्रै टक्का गरिरहेका छन् । गएको चुनाव अघिसम्म कम्युनिष्ट पार्टिका नाममा थुर्प्रै पात पतिङगर थिए । चुनावमा लेनदेन र धाक–धम्कीका कारण कतिपय एमालेमा त कतिपय माओबादीमा छिरेभने अलिकति पसलहरू अझै टाँडमा सामान नभए पनि सटर खुलै राखेर साहुजी बनेका छन् ।
माओबादी कत्तिको कम्युनिष्ट छ भन्ने कुरा पार्टिबाट निकालिएका आहुती र गोपाल किराँतीले भनिरहेका छन् । यसको मतलब यिनीहरूको बोली ब्रम्हबाणी भन्या होईन फेरी । अर्कोतिर एमाले कति कम्युनिष्ट थियो भन्ने कुरा घनश्याम भुसालहरूले समेत बेला मौकामा लेखिरहेका छन् । यसबाट केही बुझ्न सकिन्छ । माओबादीले आँफुलाई कम्युनिष्ट भने पनि उनीहरूका लगानी डिस्टिलरी रहेको कुरा आईरहेको छ । यसको अर्थ कम्युनिष्टका नाममा हिजो गाउँमा कोदोको रौसी बनाउने भट्टी फोडेर आज आँफु डिस्टिलरीका मालिक भए भन्छन् कतिपय मान्छेहरू । कम्युनिष्टको आचारण भनेको कोकाकोला खाएपछि यसको स्पष्टीकरण पार्टिलाई दिनुपर्ने कुनै बेलाको माले, आजको भुपु एमालेका नेताहरूको चालचलन हेरौं । यो अतिबादी सोच थियो की कोकाकोला खाँदा स्पष्टीकरण माग्ने र दिने चलन तर आज कम्युनिष्टका घरमा सुईमिङ पुल हुनु खासै नौलो रहेन ।
माओबादी छोडेर बाहिरिएका बाबुरामदेखी बिप्लब सम्मले माओबादी केन्द्रले पुर्ण रुपमा बाटो छोडेको र यसलाई अब कम्युनिष्ट नभन्दा ठीक भनिरहेका छन् । प्रचण्ड स्वंयले एकपटक भनेका थिए अब यस्तै गरी सबैले निहुँ खोजे रुसमा जस्तै म पनि पार्टि विघटन गर्छु भनेर । नभन्दै माओबादी केन्द्र विघटन नै गराए । कार्यकर्ता पंक्तिमा काम गरेर खानेभन्दा गफ गरेर खाने परिपाटी विकास गराएका थिए प्रचण्डले । सधैजसो धाकधम्की देखाएरै खाने अझै पारा गएको छैन । अहिले देशैभरि ठेक्कापट्टा कसका बढी छन् ? सडक समयमा नबनाउनेलाई जेल हाल्न भन्ने राम बहादुर थापालाई पक्कै थाहा होला की देशका नामुद ठेकेदार को–को छन् भन्ने । बिद्यार्थी संगठन नेबि संघदेखी अखिलसम्म यिनीहरूका अधिकांश नेताहरू ठेकेदार छन् । ढुङ्गा बालुवाका ठेकेदार पक्कै पनि चौबिस क्यारेटकै कम्युनिष्ट हुनै पर्छ । काँग्रेसमा ठेकेदार छैनन् भन्या होईन की काँग्रेसको त अब तल झर्ने ठाउँ छैन । अलि–अलि थियो फौजदारीवालालाई साँसद नबनाए संसद अवरुद्ध गर्छु भने पनि अब काँग्रेस सुरुङमै पुग्यो यसलाई निकाल्न खोज्नु मुर्खता नै हुन्छ । एमालेले राजनैतिक रुपमा जनताको बहुदलीय जनबादमा हिडिरहेको थियो । यसभित्र आवधिक निर्वाचनदेखी प्रेस स्वतन्त्रतासम्म पर्छ । अहिले एमालेले यसलाई छोडेर जनता जनबादमा रहने गरी पुगेको छ । अबको बाटो के हुन्छ ? यसलाई उग्र कम्युनिष्टका विचारमा छलाङ हुने र भद्र कम्युनिष्टका हिसाब स्खलन रहेको एमालेकै पुराना नेताहरू नै भनिरहेका छन् । माओबादीलाई आफ्ना कार्यकर्ताको व्यवस्थापन गर्न हम्य भईरहेको थियो । पदका आकांक्षी निकै भएका कारण समेत पाँच हजार जनाको केन्द्रिय कमिटी बनाईएको थियो । जसका कारण पनि पार्टि कमिटी जोक बनिरहेको थियो । जनयुद्धले केही कुराहरू स्थापित गर्यो, त्यसलाई अग्रगामी कदमका रुपमा भनि रहेपनि जनताले खुलेर मत प्रकट गरेनन् । एक हिसाबले पछिल्लो समय पार्टि बचाउनै निकै गाह्रो भईरहेको देखिन्थ्यो । जसको परिणाम पार्टिको अवतरण गर्नु नै थियो जसलाई विघटन गरेका रुपमा लिईएको छ कतिपयको भनाईमा । विश्वभक्त दुलालहरू आज पनि पार्टि विघटन गरिएको हो त्यसैले पहिले जुन आधारमा पार्टि खडा भएको थियो त्यसैलाई अगाडी बढाउने बताईरहेका छन् । डा. बाबुराम भट्टराईले नेकपाको दस्तावेजमा जनयुद्ध राख्नु कागको पखेटामा मयूरको प्वाखँ हाले जस्तै हो भनी टिप्पणी गरे जसको अर्थ माओबादीले अझै जनयुद्ध भनिरहनु र एमालेले जनयुद्ध ठीक छ भनेर राख्नु विघटन र स्खलित दुबैको उदाहरण हो भन्दा फरक नपर्ला । माओबादी जनयुद्व शुरु हुँदा जुन–जुन माग उठाएर शुरु गरियो आज तिनमध्ये अधिकांश मागहरू जिउँदैछन् । जसका लागि सत्र हजारको ज्यान गयो तिनीहरूका सन्तानबारे दुई पटक सरकारमा पुग्दा पनि माओबादीले सोचेन । अझै शरीरमा गोली बोकेर हिँडिरहेका हजारौ घाइतेहरूको वास्ता गरेको छैन भनि रहेका बेला जसरी पार्टि छोडेर नयाँ पार्टि खोले यो विघटन नै हो । भाषागत हिसाबले यो ६ सालको पार्टि भनिए पनि प्राविधिक हिसाबले यो पार्टि २०७४ सालमा जन्मिएको पार्टि नै हो ।
एकै दिन विघटन भएका दुई पार्टि एउटा विघटित हुने अर्को फेरी स्खलित हुने कसरी सम्भव छ भन्ने प्रश्न उठ्न सक्छ । यसको कारण हो माओबादी जुन जगमा उभिएर पार्टि गठन भएको थियो त्यसको आज न राजनैतिक (माओबाद), विचारधार न कार्यनीतिक जनवादी (राज्य सत्ताबाट) आउने कुनैपनि अस्तु बाँकी नरही सकिएको दिन होभने एमालेको राजनैतिक हिसाबले (बहुदलिय जनबाद) चुनावी प्रतिस्पर्धामै रहने गरी अपनाईएको तर बहुदल छोडेर (जनताको जनबाद) जसको गन्ध फरक हुन्छ कम्युनिष्टमा र कार्यनीतिक नरमपनमा रहेका कम्युनिष्टका आर्दशबाट स्खलित भएको बुझाई रहेको छ । अस्थिरताका कारण विकास भएन भनिरहेका बेला एउटा ठुलो पार्टि बन्नु सुखदै हो । अब सबै खाले क्षमालाई जनताले अनुमोदन गर्ने होभने अबको पाँच बर्षमा यो पार्टिले एक खालको विकासको खाका देखाउन सक्नु पर्छ नत्र फेरी अर्को पाँच बर्षमा आजका बृहत कम्युनिष्ट पार्टीलाई जनताले खुम्चाईदिने छन् ।