बागलुङ, ७ जेठ – बालबालिकाको पढाई तथा लेखन शिप बढाउन विद्यालय तहमा पढाई तथा लेखाई मेला शुरु गरिएको छ । यस्ता मेलामा बालबालिकाले तोकिएको समयमा पढ्ने र लेख्न सक्ने क्षमताको मूल्यांकन गरिन्छ । साथै रमाएर पढ्ने लेख्ने बानीको बिकास समेत गरिन्छ । यस्तो मेलामा अभिभावक, शिक्षक र विद्यार्थीहरु सबै भेला भएको समयमा विद्यार्थीहरुलाई खुला प्रतिष्पर्धा गराईन्छ ।
यस्तो प्रतिष्पर्धाका लागि यसअघि नै जानकारी गराउने र बालबालिकालाई बर्षभरि नै पढ्ने लेख्ने क्षमताको विकास गराइएको हुन्छ । विशेषगरी नेपाली भाषामा बालबालिका कमजोर भएपछि कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षित गरेर यस्तो अभियान संचालन गरिएको हो । प्लान नेपालको सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको आयोजनामा जिल्लाका ३५ विद्यालयमा संचालित पढाई विकास कार्यक्रममार्फत यस्तो अभियान संचालन गरिएको हो । ‘नेपाली भाषामा राम्रो दक्षता पाएको खण्डमा बालबालिकाले पछिसम्म भाषामा विकास गर्न सक्छन्, नत्र कमजोर भएको पाईयो’ शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख गुरुप्रसाद पौडेलले भने, ‘सानो कक्षामा भाषाको ज्ञान दिन सकेनौं भने भविष्यमा पछुतो मात्र हुन्छ ।’ बालबालिकालाई आराम रुपमा बस्ने व्यवस्थापन गर्ने, सिकाईका तरिका परिवर्तन गर्ने तथा पढाउने संस्कृतिमा सुधार गरेपछि आएको उपलब्धी परीक्षण गर्नका लागि मेलाको आयोजना गरिएको हो । मेलामा हरेक कक्षाका बालबालिकालाई लेख्ने, पढ्ने तथा सुनेर लेख्ने, पढेर सम्झने लगायतका प्रतियोगिता गराईन्छ । यस्तो प्रतियोगिताका लागि तोकिएका प्रश्नपत्र तथा मूल्यांकन समिति बनाईन्छ ।
अभिभावकलाई समेत साथैमा राखेर आयोजना गरिने मेलामा अभिभावकले पनि बालबालिकाको मूल्यांकन गर्ने अवसर पाउँछन् । यो अभियानले अभिभावकलाई समय समयमा विद्यालयमा आएर बालबालिकाको पढाई तथा सिकाई अवस्थाको मूल्यांकन गर्ने अवसर मिलेको बलेवास्थित आधारभूत आधारभूत विद्यालयका प्रअ उमानाथ रिजालले बताए । उक्त विद्यालयले आयोजना गरेको मेलामा कक्षा!स् १ का सुमन नेपालीले तोकिएको ५ मिनेटमा १ सय १५ शब्द लेखेर प्रथम भएका थिए ।
उनलाई शैक्षिक सामाग्री सहितको पुरस्कार समेत दिईयो । त्यस्तै सृष्टी नेपालीले तोकिएकै समयमा १ सय ४ शब्द लेखेर दोश्रो भएकी थिइन् । कक्षा १ लाई शब्द लेख्ने, कक्षा २ मा अनुलेखन र कक्षा ३ मा श्रुति लेखन लगायतका प्रतियोगिता गराइएको फाउण्डेसनका दिननाथ आचार्यले बताए । बागलुङका ३५ र म्याग्दीका २५ वटा बिद्यालयमा यस्ता सिकाई कार्यक्रम संचालन गरिएको छ । सबै विद्यालयमा शैक्षिक तथा पढाई लेखाई मेला आयोजना गरिएका छन् । ती मेलाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । यस्तो मेलाले बालबालिकामा उत्साह थपेको, भाषाका पुस्तक पढ्ने बानीको विकास भएको, नियमित विद्यालय आउने लगायतको सुधार भएको समेत शिक्षकहरुले बताए । यो अभियानको अनुगमनका लागि शिक्षाका अधिकृतहरु तोकिएका विद्यालयमा पुगेका थिए । उनीहरुले यो अभियानले गुणस्तरीय शिक्षा विकासका लागि योगदान पुगेको बताए ।
Previous Articleजडीबुटी संकलन नहुँदा राजस्वमा कमी
Next Article ७ जेठ २०७५, ढोरपाटन दैनिक