बागलुङ, ७ जेठ– प्रसस्त संभावना भएर पनि बागलुङका अधिकांस वन जंगलबाट जडिबुटी संकलन, प्रशोधन र निकासी हुन सकेको छैन । जंगलमा प्रसस्त पाइएपनि कानूनी जटिलता, संकलन र विक्रिका लागि कार्यक्रम नभएपछि लाखौं राजश्व समेत गुमिरहेको छ । आफ्नो गाउँपालिका र नगरपालिकाको आम्दानीको श्रोत बनाउने लक्ष्य राखेका स्थानीत तह र जनप्रतिनिधिले पनि जडिबुटी संकलन तथा निकासीको अभियानलाई बेवास्ता गरेका छन् ।
बरु सबै बजेटलाई भौतिक पूर्वाधारमा खर्च गरेका छन् । जडिबुटीको अध्ययन समेत नभएपछि राजश्व आउने क्षेत्र ओझेलमा परेको हो । स्थानीय तह स्थापना र गठनको एक बर्ष बितेपनि जनप्रतिनिधिले जडिबुटीलाई प्राथमिकतामा राखेका छैनन् । चुनावी नारामा भने सबैले जडिबुटी प्रचुर संभावनाको क्षेत्र भएको भाषण गर्थे । बागलुङका हरेक जंगलमा कुनै न कुनै जडिबुटी पाईने भएपनि गाउँ र नगरपालिकाले त्यस क्षेत्रमा बजेट बिनियोजन समेत नगरेको सहायक वन अधिकृत रामबहादुर बिकले बताए ।
जिल्ला वन कार्यालयका अनुसार जिल्लाका बनमा डेढसय प्रजातीका जडिबुटी पाइन्छन् । तीमध्ये बढी निकासी योग्य र बजारमा मूल्य पर्ने २० प्रकारका छन् । ‘कम्तिमा पहिलो बर्ष अध्ययनका लागि बजेट छुट्टयाएको भए अर्को बर्षदेखि कार्ययोजना बनाएर निकासीको काम गर्न सकिन्थ्यो’ बिकले भने, ‘जनप्रतिनिधिमा यो बिषयको ज्ञान कम रहेछ, अहिलेसम्म चासो राख्नु भएको छैन ।’ संकलन र निकासीका लागि बजारको खोजी अभावमा अहिलेसम्म ठूलो मात्रामा जडिबुटी निकासी हुन सकेको छैन ।
गत बर्ष बागलुङबाट २ लाख ५२ हजार रुपैयाँको मात्र जडिबुटी निकासी भएको थियो । चालु बर्षपनि उत्तिकै मात्रामा मात्र निकासी हुने संभावना रहेको बिकले बताए । ‘गत बर्ष ठूलो मात्रामा निकासी भएको चिराईतो यो बर्ष अहिलेसम्म माग आएको छैन’ बिकले भने, ‘माग गर्नेहरु अझै सम्पर्कमा आएका छैनन् ।’ बागलुङका जंगलबाट विशेषगरी सतुवा, वन लसुन, अतिस, सुगन्धवाल, बोजो लगायतका जडिबुटीको निकासी हुने गरेको हो । संकलन गरेर व्यवस्थित तरिकाले निकासी गर्न सकेमा करोडौं रुपैयाँ संकलन गर्न सकिने उनले बताए । जिल्लाका ४ नपा र ६ गाउँपालिकामध्ये बडिगाढ गाउँपालिकाले मात्र चालु बर्ष बन डढेलो सचेतना र वातावरण संरक्षण बिषयक एउटा अन्तरक्रिया मात्र राखेको छभने अन्यले त्यतिमात्र पनि नगरेका हुन् । चालु बर्षको बजेट भने सबै तहले पूर्वाधार विकासका लागि मात्र खर्चेका छन् ।
Previous Articleस्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना
Next Article पढाई मेलामा रमाउँदै सहभागी भए बालबालिका