सूचना तिमल्सिना
यादको लहरी बनेर तिम्रो सम्झना आइरहँदा फेसबुक पल्टाउँछु । तिमीले केही नलेखी डट दिँदा त्यो आशाको झिल्को पर्दाफास हुन्छ र तिम्रो उत्तरको प्रतीक्षारत रहन्छु । तिमी डटलेखि अड्किरहन्छौ । अनि म अन्योलतामा तड्पिरहन्छु । म तिमीलार्ई लेख्न चाहन्छु, मेरो मुटुको धड्कन, तिमी डटमा सीमित हुँदा के लेख्ने भनेर काँपेको मेरो हात तर म ती सब लेख्न नसकी धेरैबेरको तिम्रो प्रतीक्षापछि बल्ल सोध्छु के छ तिम्रो खबर ?
तिम्रो साहित्य र भाव मिश्रित उत्तरमा म तिम्रो सन्चो विसन्चो खोजिरहन्छु । तिमी कुन अवस्थामा छौ भनी अलमल परिरहन्छु । जब तिमी मेरो नाम भ्यान्डोल भनी लिन्छौ । मैले सोधेको प्रश्नको उत्तर पाएझैँ रमाउँछु । उत्तर हजुर, उम् केही नराखी तिम्रै पारामा डट राख्न खोज्छु । फेरि तिम्रो स्टाइल चोरेको दोषारोपण गरौला भनी प्रतिजवाफ हजुरमा टुङ्ग्याउँछु ।
मैले तिमीलार्ई अस्ति राखेको प्रपोजको उत्तर पाउन बेचैन छु । उत्तरको आशामा तिम्रो एक एक म्यासेज केलाईरहन्छु । तिमी भने मौन छौ । मानौ तिमीलार्ई मेरो प्रश्नले केही असर पारेको छैन । मानौँ तिमीले मेरो प्रश्न पाएकै छैनौँ । अनि मसँग फटाफट च्याट गरिरहन्छौँ । म तिमीलाई त्यही प्रश्न बारबार सोध्न चाहन्छु । तिमीलार्ई याद दिलाउँन चाहन्छु । फेरि तिम्रो मौनताको आदर गर्नुपर्छ भन्दै आफू छटपटिँदै तिमीलार्ई चयन मिलोस् भनी गम खान्छु ।
मलार्ई थाहा छ, तिमी स्वतन्त्रताको इतिहास कोर्न चाहन्छौ । तिमीले पाएको धोकाको कहानीलार्ई निमिट्यान्न पार्न एक्लो जीवन शान्त र स्वतन्त्र हुन्छ भनी विश्वास गर्न चाहन्छौ । बेला बेला तिमीलार्ई सताउने यादहरूलाई भुलाउन एक्लो जीवन ठीक भनी आफूलाई सम्हाल्छौँ । उदासीन र धोकामा अल्झेका सम्झनाहरूले गर्दा तिमीले अरूलाई विश्वास गर्न छोड्नु स्वाभाविक हो । तर प्यारी म तिमीलाई ग्यारेन्टी दिन सक्छु सबै केटा उस्तै हँुदैनन । आऊ, विश्वास गर्न सिक ।
मानिसले एकअर्कालाई धोका दिइरहन्छन्, उसैगरेर विश्वास पनि गरिरहन्छन् । म तिम्रो विश्वासको पात्र बन्न चाहन्छु । तिमीसँग बसेर तिम्रो कहानी सुन्दै, केलाउँदै जीवनयापन गर्न चाहन्छु । उसो त मैले तिमीलाई धेरै पटक भेटेको छैन । फेसबुकमा तिमी भेटिँदा राहतको स्वास फेर्छु । मैले मन नपराएको तिम्रो कलेजको भीड र सँगैको बाटोमा आजकाल प्रेमिल आँखा लगाएर हेर्छु । बाटो पर्दा बाइक रोकेर हेर्छु र खुशी अनुभूत गर्छु । किनकि तिमी यही कलेजमा पढ्छौ भनेर ।
जीवनमा पर्खाइ सबभन्दा गाह्रो रहेछ । भावनाहरू चलखेल गरिरहन्छन् । कहिले साथीहरूलाई आफ्नो भावना पोख्छु । उनीहरूलाई आफ्नै कहानी हास्यस्पद बनाएर सुनाउँछु । उनीहरू हास्छन्, म पनि हाँस्छु । कहिले बाबालार्ई गएर सोध्छु एउटा केटी मन परेको छ के ग¥यौ भनी । अनि तिम्रोजस्तै बाबाको पनि मौनता भेट्छु । बाबाको मौनता मेरै हितका लागि भनी मूल्याङ्कन गर्छु । फेरि तिम्रो मौनता केको लागि ?
रातमा अनिन्द्रामा पर्दा तिमीलाई म्यासेज गर्छु । मानिस आफ्ना लागि सोचिरहन्छ । आफ्नो खुशी, आफ्नो भविष्य, आफ्नो परिवार ऊ यहीबीच हिँड्छ । हुन सक्छ तिम्रो प्रेमीले उसको खुशीका लागि तिमीलाई छाडिदियो । हुन सक्छ म मेरो खुशीको लागि तिमीलाई मेरो जीवनमा बोलाउँदैछु । फेरि तिम्रो खुसी केमा छ ? तिमी कहाँ रमाउन चाहन्छौ ? तिमी स्वतन्त्र भएर मनन गर र जवाफ देऊ ।
शाब्दिक जालमा बौद्धिक उत्तर पठाएर तिमी प्रश्नको श्रेय लिन्छौँ । तिमी जातको कुरा उठाउँछौ, समाजको विभेदको मूल्याङ्कन गर्छौं र मप्रति शङ्का व्यक्त गर्छौं । म परिवर्तन नचाहनेमध्येको एक हुँ झैँ गरेर । हो म माओवादी कालीन समयमा बन्दुक बोक्नेमा परिन, परिवर्तन हुनुपर्छ भनी भाषण गर्नेमा पर्दिनँ र परिवर्तनको लेख लेख्नेमा पर्दिनँ । खासमा मेरा लागि तिमी परिवर्तन हौ ।
मैले काठमाडौं विश्वविद्यालयबाट वातावरण इन्जिनियर सकेँ । दुई वर्षको श्रम प्रोजेक्टमा लगाएँ । छ महिना नगरपालिकामा बिताएँ र अहिले हाइड्रोलोजीमा मास्टर्स गर्दै छु । मैले आफ्नै आँखाले समाजलाई हेरिरहे । तिम्रो प्रश्नले, तिम्रो कथाको पात्रले, लेखले मैले समाजको भिन्न रूप पत्तो पाएको छु । मैले हेर्न छुटाएको भाग तिमी मार्फत हेर्दै छु । मेरै पिँढीमा जन्मेर, मेरो सोचलाई चुनौती दिँदै परिवर्तनका लागि आकृष्ट रहेकी तिमीमा मेरो सम्मान बढेको छ । तर तिमी विगतलाई काखी च्यापेर वर्तमानमा हुर्कन चाहेको मलाई बेवास्ता गर्दैछौ र मेरो पर्पोर्जको उत्तर तिमीमै सीमित पार्दैछौं ।
सत्य, कहिले कहिले ऐना हेर्छु । मोबाइलको इमेज ग्यालरी खोल्छु । आफ्नो हल्का कालो रूप खोट हो कि भनी शङ्का गर्छु । यथार्थमा अभिव्यक्त गरे पनि नगरे पनि शारीरिक बनोट मन पराउनु र माया लाउनुमा आधारभूत विषय पर्न जान्छ । फेरि आजकल बजारमा चलेका कालेसम्बन्धी चर्चाले जवाना हाम्रै भनी चित्त बुझाउँछु ।
तिमी मलाई सताउँछौ, गहन प्रश्नले, मौनताले । यी सबमा म खुशी भेट्छु । कहिले कहिले तिमी जस्तै दार्शनिक बन्न खोज्छु । कहिले कहिले हाम्रो सम्बन्धको परिभाषा खोज्छु । एक महिनाको हाम्रो अन्योलता सकाउन म उत्तरका लागि ढिपी गर्छु । तिमी मैले चाहेको उत्तर कि प्रेम भनी उल्टै प्रश्न गर्छौं । म तिम्रो तात्पर्यदेखि डराउँदै दुवै भन्छु । तिमी मेरो सोधाइलाई किशोरपन भनी व्याख्या गर्छौं । मानिसको व्यवहारमा बालापन र प्रेममा किशोरपन रहिरहनुपर्छ भनी आफ्नो बचाउ गर्छु । हाम्रो अन्तत्र्रिmया लम्बिरहन्छ । निक्र्यौल फेरि उस्तै अन्योलतामा सिद्धिन्छ ।
हुन सक्छ तिमी दोधारमा छौ । हुन सक्छ तिमी आफ्नो स्वतन्त्रतालाई ढाल बनाएर तिम्रो कहानीमा मलाई किनारा लगाउन चाहन्छौँ । हुन सक्छ तिमी पनि म पनि मलाई माया गर्छौं । हुन जे पनि सक्छ किनकि तिमीले स्पष्टीकरण दिएकी छैनौ । आकाङ्क्षाको त्यान्द्रो त्यही छलफलबाट टुङ्गिएको भनी एकातर्फी निर्णय लिन्छु । तिम्रो बारम्बारको कल म्यासेजमा रिस, पीडा मिसिएका भावनाहरू पठाउँछु । ‘आश्रय नपाएको भावनाहरू बिलाएर जान्छन् । त्यसैले भावनाको कदर गरिनुपर्छ । प्रेम अङ्कुरणको मरण अनादरबाट मात्र होइन बेवास्ताबाट पनि हुन्छ ।’ तिमी सुनिरहन्छौ । जसरी तिमीले मैले मन पराएको कुरा भन्दा सुनेकी थियौँ ।
तिमीलाई लगातार व्यङ्ग्य गरेपछि मेरो रिस शान्त हुन्छ, पीडा कम हुन्छ । मैले घटाएको तिमीसँगको दूरी र बातचित बढाउन तिमी आफै लागिपर्छौं । अहिले भने म तिम्रो गतिमा सम्बन्ध स्थापित गर्छु । तिमीलाई पाउने चरम इच्छाहरू सान्त्वना दिन्छु र यथागतिमा फर्कन्छु । म आफ्नोपनमा फर्कदा तिमी गुनासो गर्दिनौं । तिमी उही पहिलेजस्तै म्यासेजमा डट लेख्दै गफको सुरुवात गर्छौ । कलेजमा घटित घटनाको बयान गर्छौं ।
म पहिलेजस्तो अनाहकमा तिम्रो बयान गर्दिनँ । तिम्रो मन परेको, नपरेको बानी स्पष्ट राख्छु । म जति शान्त बन्दैछु, त्यति मैले चाल पाउन नसकेको तिमी भेट्दैछु । तिमी केमा विश्वास गर्छौ भनी तिम्रो लेखको विश्लेशण गर्छु । साँच्ची मैले कल्पना गरेको तिमी र यथार्थको तिमी फरक रहेछौ । विस्तारै तिम्रो लुकेको रूप र गुण पत्तो पाउँदैछु । प्रेम सबैको भागमा छ । अनुभूत गर्न जान्नेहरू आनन्द लिन्छन्, नजान्नेहरू माया गर्छु भन्दै हिँड्छन् । तिमीले पहिले लेखेको स्टाटस रहेछ, मलाई यसले अहिले आएर व्यङ्ग्य गरेजस्तै लाग्छ ।
तिमी मेरो खोज बनेकी छौ । पहिले म तिम्रो स्वतन्त्रताप्रति ईश्र्या गर्थे । तिमीले भाग्न चाहेको जीवन भनी व्याख्या गर्थें । आजकाल मलाई तिम्रो स्वतन्त्रताप्रति प्यार हुन थालेको छ । तिमीमा भर्खर भेटेको गुण मेरो मायाको गहिराइको आधार बनेको छ । तिमीसँग उत्तर खोजिरहँदा म पूर्ण रूपमा तिम्रो मायामा समर्पित हुन सकिरहेको थिइन । किनकि म डराउँथे तिमीले भन्ने सम्भावित नकरात्मक उत्तरदेखि । त्यसैले आफू सुरक्षित स्थानमा रहनुपर्छ भनी तिमीलाई प्रश्न गरिरहन्थे । प्रश्नहरू मौनतामा बदलिँदा दोषारोपण तिमीलाई लगाउँथे ।
तिमी एक्लै घुम्न जान्छौ । प्रकृतिसँगको तिम्रो सन्निध्या मानिसभन्दा निकटम छ जस्तो लाग्छ । तिमी आफ्नो जीवनमा रमाउँदैछौ अनि म तिमीलार्ई हेरेर रमाउँदैछु । तिमीलाई पाउन गरेको मेरो खोजमा, मैले आफ्नो स्पष्ट भावना भेट्दैछु र मेरो फरक पाटो देख्दैछु । बिहान उठ्दा देखिने सूर्यको चमक बढेको पाउँछु, दिनमा पट्यार लाग्दो अफिसमा रमाउन खोज्छु, बेलुकाको कलेजमा रमाउँछु र मेरो इनर्जीको स्फुर्तता फरक पाउँछु किनकि म आजकल म प्रेममा छु ।
तिमीलाई मैले विश्वास गर्न थालेको छु । तिम्रा हरेक क्रियाकलापहरू र प्रतिक्रियाहरू अर्थ बुझ्न थालेको छु । तिमी भाग्न चाहेको जीवनको पाटो मैले नजरअन्दाज गर्न भ्याएको छु । हे प्रिय पाउँदै नपाएको मलाई गुमाइन्छ भनी किन डराउँछौ ? किन मलाई तिम्रो पहिलेको प्रेमीसँग दाजिरहन्छौँ ? म तिम्रो मायाको गहिराइमा छु । म तिम्रो मायाको खोजीमा छु । म भरपुर तिम्रै लागि पर्खिरहेको छु । मेरो जीवन रङ्गीन चल्दै छ । मेरो प्रेमको अङ्कुरण मौलाउन खोज्दैछ । आउ प्रिय जीवन कठिन छ त्यसैले सँगै यात्रा ग¥यौ । विश्वास, समर्पण र प्रेमकोको यात्रा ग¥यौ ।
मेरो प्रेमको अङ्कुरण नमरोस् भन्ने चाहन्छु । तर तिमी खुशी छैनौ भने म यसलाई यहीँ छोड्न तयार छु । म तिमीलाई दोष लगाउने छैन । त्यसैले तिमी निक्र्यौल गर । तिम्रो रोजाई मेरो सहमति हुनेछ । आयौ भने साथमा यात्रा गरौँला । आइनौँ भने फेरि मायाको खोजमा हिँडौला । अनि के तिमीले निक्र्याैल ग¥यौ ? के मेरो मायाको अङ्कुरणले ठाउँ पायो ?
Previous Articleक्युबाको विमान दुर्घटनामा सयभन्दा बढीको मृत्यु
Next Article लघुकथा-भूपू प्रेमिका