म्याग्दी, २ जेठ– मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ । सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि ट्रयाक खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक कालोपत्रेको काम शुरु गरेको छभने जिल्ला समन्वय समितिले कृषि सडक आयोजना अन्तर्गत दरवाङदेखि बिम–ताकमहुँदै मुनासम्मको ट्रयाक निर्माण भएको छ ।
विसं २०६७ मा दरवाङबाट शुरु भएको सडकको ट्रयाक निर्माणको काम बिम–ताकमहुँदै मुनासम्म पु¥याइएको आयोजनाका प्राविधिक कृष्ण रायले बताए । उनका अनुसार, थप सात किलोमिटर विस्तार गरेपछि लुलाङहुँदै ढोरपाटनको सिमाना जलजला पुग्नेछ । आठ वर्षको अवधिमा रु चार करोड ७५ लाख लगानी भएको छ । जिल्ला समन्वय समितिले यसवर्ष विनियोजन गरेको रु ७२ लाख र गत वर्षको रु ६० लाख बजेटबाट मालिका गाउँपालिका–७ बिमको सिमानामा रहेको धौलागिरि गाउँपालिका–७ बगरदेखि ताकमसम्म पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएको उपभोक्ता समितिका अध्यक्ष खुमनाथ सुवेदीले बताए । ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्रयाक खोल्ने काम यसअघिनै सकिएको धौलागिरि गाउँपालिका–७ का वडाध्यक्ष कलानिधि सुवेदीले बताए ।
जिल्ला समन्वय समितिले शिवरात्रीखोलासम्म पु¥याएको सडकलाई धौलागिरि गाउँपालिकाले यस वर्ष विनियोजन गरेको रु २५ लाख बजेटबाट शिवरात्रीखोलाको पहाड फुटाउने काम सम्पन्न भएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ । शिवरात्रीखोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत् आयोजनाले तीन किलोमिटर सडक निर्माण गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले शिवरात्रीखोला तथा साउँबोट र बगरको सिमानामा पर्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माण गरेपछि बेनीदेखि मुनासम्म सिधा सडक सञ्जालमा जोडिने बताए ।
हाल दरवाङदेखि धारापानी, ताकमहुँदै मुना जोड्ने सडक प्रयोगमा छ । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले पश्चिम म्याग्दीको आर्थिक, सामाजिक र भौतिक विकासमा महत्वपूर्ण सम्भावना बोकेको सडकलाई ढोरपाटनसम्म जोडेर मध्यपहाडी लोकमार्गको विकल्प बनाउने लक्ष्य रहेको बताए । बागलुङ बजारदेखि बुर्तिवाङहुँदै ढोरपाटन जोड्ने सडकमध्ये यो सडक करीब ५० किलोमिटर कम दूरीको हुने उपाध्यक्ष छन्त्यालले बताए । शिवरात्रीखोला र म्याग्दी खोलामा पक्की मोटरेबल पुल निर्माण गर्न प्राथमिकता दिइएको उपाध्यक्ष छन्त्यालले बताए ।
Previous Articleबाढीबाट एक करोड भन्दा बढीको क्षति
Next Article जनप्रतिनिधिलाई मेलमिलाप तालिम