मुस्ताङ, २ जेठ– “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने । हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका–५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ । लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउँछन् ।
विसं २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन् । भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो । ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो । वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन् । तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाई छ । ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन् । उहाँका कपडा, जुत्ता र कपाल यहाँ अझै छन् । बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् ।
तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ । वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ । ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन् । नागको पूजा गरेमा पारिवारिक सुख शान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिमालको काखमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताए । “मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,” उनले भने । जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन् । समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ ।
Previous Articleउत्तर कोरियाद्वारा दक्षिणसँगको उच्चस्तरीय वार्ता रद्द
Next Article सर्वसाधारणमा सरसफाईको ज्ञान आवश्यक