म्याग्दी, २६ बैशाख– जिल्लाको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । प्रगतिशील आमा समूहमा आबद्ध महिलाले ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरिएको समूहकी अध्यक्ष रत्नकला जुक्जालीले बताइन् ।
अध्यक्ष जुक्जालीका अनुसार समूहको कोषबाट १० लाख ८२ हजार ३२१, गाउँपालिका, वडा, जिल्ला समन्वय समिति, सांसद विकास कोष र प्रवासीको नौ लाख ७६ हजार २५ र ४५ घरधुरीले ३० दिनका दरले नौ लाख ५० हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भवन परिसर घेराबारका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले तीन लाख ५० हजार उपलब्ध गराएको थियो ।
यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले तीन लाख २६ हजार २५ सहयोग गरेका छन् । भवन परिसरमा गाउँपालिका र वडाको थप दुई लाख अनुदानमा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको समूहकी सचिव टकमती पुनले जानकारी दिइन् । आमा समूहले मराङमा प्रवासबाट गाउँमा आएका लाहुरेलाई सांस्कृतिक कार्यक्रम गरेर स्वागत गर्छन् । यसैगरी विवाह, छेवार, व्रतबन्धमा परम्परागत खेली गीत, पुख्यौली नाच र भजनकीर्तन गर्छन् ।
गाउँमा कसैको मृत्यु भएमा किरिया कर्ममा आमा समूहले सघाउँछन् । भोज भतेरका लागि भाँडा भाडामा लगाउँछन् । आमा समूहले भवनको दुईवटा कोठा वडा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । संस्कृति संरक्षण, विकास निर्माण र विकृति न्यूनीकरणमा आमा समूहको प्रभावकारी भूमिका रहेको वडाध्यक्ष राजाराम सुवेदीले बताए । उक्त भवनको सोमबार पूर्वसांसद नवराज शर्माले उद्घाटन गरे । “सरकारी निकायको न्यून सहयोगका बाबजुद महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन बनाई विकासमा नमूना काम गरेका छन्” शर्माले भनेऋबस् । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक रुपान्तरणका लागि आमा समूहसँग सहकार्य गरिने बताए ।