म्याग्दी, २६ बैशाख – म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । प्रगतिशील आमा समूहमा आबद्ध महिलाले रु ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरिएको समूहकी अध्यक्ष रत्नकला जुक्जालीले जानकारी दिए ।
अध्यक्ष जुक्जालीका अनुसार समूहको कोषबाट रु १० लाख ८२ हजार ३२१, गाउँपालिका, वडा, जिल्ला समन्वय समिति, सांसद विकास कोष र प्रवासीको रु नौ लाख ७६ हजार २५ र ४५ घरधुरीले ३० दिनका दरले रु नौ लाख ५० हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो ।भवन परिसर घेराबारका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु तीन लाख ५० हजार उपलब्ध गराएको थियो । यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले रु तीन लाख २६ हजार २५ सहयोग गरेका छन् । भवन परिसरमा गाउँपालिका र वडाको थप रु दुई लाख अनुदानमा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको समूहकी सचिव टकमती पुनले जानकारी दिए ।
आमा समूहले मराङमा प्रवासबाट गाउँमा आएका लाहुरेलाई सांस्कृतिक कार्यक्रम गरेर स्वागत गर्छन् । यसैगरी विवाह, छेवार, व्रतबन्धमा परम्परागत खेली गीत, पुख्यौली नाच र भजनकीर्तन गर्छन् । गाउँमा कसैको मृत्यु भएमा किरिया कर्ममा आमा समूहले सघाउँछन् । भोज भतेरका लागि भाँडा भाडामा लगाउँछन् ।
आमा समूहले भवनको दुईवटा कोठा वडा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । संस्कृति संरक्षण, विकास निर्माण र विकृति न्यूनीकरणमा आमा समूहको प्रभावकारी भूमिका रहेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । उक्त भवनको सोमबार पूर्व सांसद नवराज शर्माले उद्घाटन गरे ।
“सरकारी निकायको न्यून सहयोगका बाबजुद दुर्गम गाउँका महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन बनाई विकासमा नमूना काम गरेका छन्” शर्माले भने । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक रुपान्तरणका लागि आमा समूहसँग सहकार्य गरिने बताए ।
Previous Articleअबको राजनीति व्यापार: विकास र समृद्धिको अभियान
Next Article बुढीगण्डकीमा टिपर खस्यो,चालकको मृत्यु