खिमलाल देवकोटा
कुनै जमाना विश्व दुई ध्रुव अमेरिकी धुरी र रुसी धुरीमा सारा विश्व बाँडिएको थियो । यसै क्रममा विश्वका दुई ठूला महाशक्तिले आफ्ना साम्राज्य फैल्याउने प्रयत्न गरेका थिए । परिणाम स्वरूप एउटै जर्मनी पूर्वी र पश्चिम जर्मनीमा विभाजित हुने, एउटै कोरिया उत्तर र दक्षिण कोरियामा विभाजन हुने अवस्था आइपरेको थियो । त्यो समय बदलियो । जर्मनीको बर्लिनमा लगाइएको पर्खाल भत्कियो र दुवै जर्मनी एक भए । उत्तर र दक्षिण कोरियाका बीचमा विगत झण्डै ७० वर्षदेखि रहिआएको शत्रुतापूर्ण अवस्थाको अन्त्य भई शिखरवार्ता हुने अवस्थामा पुगेको छ भने उता सिरियामा रुस सत्ताधारी लडाकु र अमेरिका विद्रोही लडाकुको समर्थनमा देखा परेका छन् । यता दक्षिण एशियामा नेपालका दुई छिमेकी उत्तरको चीन र दक्षिणको भारत आपसी व्यापारका नयाँ नयाँ सम्झौता गर्दै पनि गएका छन् । सँगसँगै केही मामलामा दुई धु्रव नै प्रतित हुने गरी विश्व रङ्गमञ्चमा देखापर्ने गरेका छन् । वेलायतको युरोपियन युनियनबाट बहिर्गमन, अमेरिकी चुनावमा ट्रम्पको विजय होस् वा भारतमा मोदी मेनिया र चीनमा सिको उदय– सबैको केन्द्रविन्दु विकास र समृद्धि नै देखा पर्दछ । यस्तो परिस्थितिमा नेपाली राजनीतिमा पर्ने प्रभावका बारेमा समीक्षा हुन नितान्त आवश्यक छ ।
अबको राजनीति व्यापार
कुनै जमाना राजनीति जमिनका लागि हुन्थ्यो । विश्वभर साम्राज्य फैल्याउन सक्ने राष्ट्र शक्तिशाली कहलिन्थ्यो । केही समयपछि यो अवस्था जसको हातमा शक्तिशाली हतियार र सेना छ त्यही मुलुक शक्तिशाली ठानिने अवस्था आयो । तर यतिबेलाको राजनीति त्यो भन्दा भिन्न, व्यापारमा केन्द्रित छ । कुन मुलुकको कुल गार्हस्थ आम्दानी कति छ, कसको व्यापारिक स्वार्थ कति र कोसँग गाँसिएको छ भन्ने कुरामा राजनीति अडेको छ । राजनैतिक मामलामा विल्कुल फरक ध्रुवमा उभिएका अमेरिका र चीनका बीचमा नै सबैभन्दा ठूलो व्यापार केन्द्रित हुने गरेको छ । जतिसुकै तिक्तता भए पनि अमेरिका चिनिया श्रम गुमाउन चाहँदैन भने चीन अमेरिकी बजार विस्तारमा तल्लिन रहन्छ । कुनै पनि बहानामा भारत चीनको पुँजी, प्रविधि र बजारलाई आँखा चिम्लिन गर्न सक्दैन भने चीन पनि भारतका हकमा यसै मामलामा सम्बन्ध बनाइराख्न बाध्य छ । दूतावासहरू व्यापारिक चासोका आधारमा खोलिने र बन्द हुने गरेका छन् । त्यसैले अबको राजनीति व्यापारको राजनीति हो । व्यापारलाई बेवास्ता गरी गरिएको राजनीति अब दिगो हुने छैन भन्ने ढुक्कले भन्न सकिन्छ । त्यसैले नेपालले बदलिएको राजनीतिको परिभाषा र क्षेत्रका बारेमा बेलैमा सोच्ने र विचार पु¥याउने बेला आएको छ ।
ध्यान आकाश, पानी र प्रविधिमा
कुनै जमाना थियो राज्य हुनका लागि भूगोल, जनसंख्या, सरकार र अन्तर्राष्ट्रिय मान्यता जरुरी पर्छ भनिन्थ्यो । आजको राज्यको ध्यान आकाश, पानी र प्रविधिमा छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकासका कारणले परम्परागत सोच शैली र व्यवहार नाकाम भए जस्तै आजको प्राथमिकतामा पनि परिवर्तन आएको छ । त्यो परिवर्तनले आकाश, पानी र प्रविधिमा साझेदारी गर्ने विषयमा ध्यान केन्द्रित गराएको छ । आकाश, पानी र प्रविधिको बाँडफाँडमा मुद्दा केन्द्रित हुने गरेका छन् । यसको अर्थ अबको संसार एकका लागि हैन एकअर्काका अन्तरसम्बन्धित र परिपूरक भएर रहन बाध्य भएका छन् । राज्यहरू बहुराष्ट्रिय कम्पनी जस्ता हुन पुगेका छन् । अब राज्य सञ्चालन गर्ने भनेको आफ्ना जनतालाई सुख र सुविधा दिने हो, त्यसका लागि अबको क्षेत्र आकाश, पानी र प्रविधिको उच्चतम प्रयोग भन्ने अर्थमा ग्रहण गरेको अवस्था छ ।
विज्ञान र प्रविधिको विकासको उच्चतम यो चरणमा प्रविधिमा फड्को मार्ने राज्य नै बलियो र बुद्धिमान ठान्ने गरिएको छ । अत्याधुनिक हतियारको विकास, प्रकृतिमाथिको अध्यधिक दोहन एवं नयाँ नयाँ खोज र अनुसन्धान आजका सफल राज्यका मापदण्ड हुन् । जल जमिन जंगल जडिबुटी र जनशक्तिको अत्यधिक उपयोग आजको आवश्यकता हो । प्रविधिको विकास विस्तार र साझेदारीमा कुनै पनि मुलुकको शाख र सान जोगिने गरेको छ । यसै प्रतिस्पर्धामा राज्यहरू लागेका छन् ।
चिनिया चमत्कार
जल, जमिन, जंगल, जटिवुटी र जनशक्ति सबैमा धनी देखिएको हाम्रो उत्तरी छिमेकी चीन आफ्ना सामथ्र्यहरू उपयोगको माध्यमबाट आफूलाई शक्तिशाली र समृद्ध बनाउने दौडमा छ । आफै विकासोन्मुख अवस्थामा रहँदा रहँदै विश्वको एक नम्बर अर्थतन्त्र बन्ने प्रकृयामा छ । प्रविधिको अत्यधिक विकासका दौडमा पनि पछि नपरेको चीन तीव्र गतिको रेलको आविष्कार सँगै सफलतापूर्वक व्यवसायिक प्रयोजनमा ल्याइदिँदा दुनियालाई चकित त पारेकै छ, जहाज चढ्न नसक्ने आफ्ना जनताका लागि राहत दिएको बताउँछ । जलविद्युत्को उत्पादन र विद्युत्को अध्यधिक खपत मार्फत स्वच्छ र स्वस्थ वातावरणको जगेर्ना गर्ने हैसियतमा आफूलाई उभ्याउँदै अमेरिकी र जर्मन कम्पनी समेतलाई खरिद गर्दै सौर्य ऊर्जाको माध्यमबाट जलविद्युत्लाई चुनौती दिने संकेत देखाएको छ । सोलार साइकल, सोलार कार, सोलार घर सँगसँगै सोलार हवाइजहाज समेत निर्माण गरेर ऊर्जा संकट हल गर्ने दिशामा फड्को मारेको छ । यो स्तरको छिमेकी मुलुकको समृद्धिलाई नेपालमा भित्र्याउने चासो हुन सक्यो भने मात्रै नेपाली राजनीतिको सफलता ठहरिनेछ ।
ग्लोबल भ्यालु चेन अवधारणा
विकास अवधारणामा अत्यधिक प्रयोग हुने यो पदावली सर्वप्रथम समाजशास्त्रका प्राध्यापक गरी गरेफीले प्रयोगमा ल्याएका हुन्ता पनि यसको उपयुक्त प्रचार र उपभोग हुन सकिराखेको थिएन । चीनले उत्पादन वितरण र उपयोगका सन्दर्भमा यसको प्रयोगलाई व्यापकता बनाउँदै यो अवधारणामा थप विकास गर्ने प्रयत्न गरेको छ । आइफोन निर्माणमा सबै मुलुकको योगदान छ र योगदानकै आधारमा मूल्य बाँडफाँडको मान्यताले पनि निरन्तरता पाएको छ । ग्लोबल भ्यालु चेनको यो अवधारणासँगै ग्लोबलाइजेशनको प्रकृयामा पनि थप योगदान हुने र यो योगदान गर्न पाएकोमा चीन गर्व गर्ने अवस्थामा पुगेको छ । यसैगरी वेल्ट एण्ड रोड इनिसियटिभका नाममा संसारलाई सडक सञ्जालमा जोड्ने महìवाकांक्षी योजनाले चिनिया उद्यमशीलता क्षमता र आँटको सर्वत्र प्रशंसा गरिएको छ । धन, जन र योजनाको एकिकृत सदुपयोग गर्दै विश्वलाई नै परियोजनाको माध्यमबाट एक सूत्रमा बाँध्ने परिकल्पना पनि आरम्भ गरेको देखिन्छ । यो अवस्थाको लाभ नेपालले कसरी लिन सक्ला ?
नेपालको भूमिका
नेपाल सानो मुलुक भन्ने पदावली नेपाली जनजिब्रोमा पाइन्छ । चीन र भारत जस्ता विशाल मुलुकहरूका बीचमा भएका कारणले बाहेक अरु कुनै पनि हिसाबले नेपाल सानो मुलुक होइन । अवस्थितिका हिसाबले जेसुकै होस् नेपाल विश्वका उदियमान शक्तिहरू र ठूला अर्थतन्त्रको बीचमा पर्दछ । एकातर्फ चीनको बेल्ट एण्ड इनिसियटिभ आयोजना अर्कातिर भारतको भारतमालाको विकासमा कायापलट पार्ने परियोजनाको पनि बीचमा छ यो मुलुक । यो अवसरको फाइदा लिन सक्ने कि नसक्ने ? यस अर्थमा नेपाल अबका केही दशक विकास र समृद्धिको योजनामा अघि बढ्ने मात्रै हैन अन्तर्राष्ट्रिय साझेदारी समेत गर्ने हैसियतमा उत्रन आवश्यक छ । विकास र समृद्धिका साझेदारीमा आइपर्ने असमझदारीहरूलाई समाधान गर्न आफ्नो तटस्थ भूमिका निर्वाह गर्नका लागि आवश्यक विश्वास आर्जनसहित विश्व रङ्गमञ्चमा आफ्नो हैसियत प्रदर्शन गर्न सक्ने अवस्थामा आफूलाई उभ्याउन पनि जरुरी छ ।
अन्तमा
नेपाल विकास र समृद्धिको माहोलमा छ । विश्वको ध्यान पनि अब परम्परागत राजनीतिको पटाक्षेप गर्दै व्यापारको राजनीतिमा फड्को मार्नुका साथै संसारभरका जनताको खुशी र सुखमा मात्रै आफ्नो भविश्य सुनिश्चित हुन्छ भन्ने विश्वासमा छ । विश्व स्तरमा यो तहको वातावरण निर्माण हुनु नेपालका लागि केवल संयोग मात्रै हैन, महìवपूर्ण अवसर पनि हो । यो अवसरको सदुपयोग संसारका जुनकुनै कुनाबाट पनि गर्न सक्ने र पर्ने अवस्था विद्यमान रहेकोमा नेपालका लागि दुई विशाल छिमेकीहरूकोे अभियान नै विकास र समृद्धिको अवसर बन्न पुगेको छ । नेपालले यो अवसरको भरपुर फाइदा लिन सक्छ कि सक्दैन भन्ने मात्रै यतिबेलाको चासोको विषय हो । यसका लागि राज्य, राज्यका अंगहरू र राज्य सञ्चालनको जिम्मेवारीमा रहेका प्रत्येकको दिमागमा घुस्न जरुरी छ । यसो भयो भने देशको विकास र समृद्धि सम्भव छ ।
अबको राजनीति व्यापार: विकास र समृद्धिको अभियान
Previous Article६ करोड मानिसले हेरिसके यो भिडियो !
Next Article नाचगान गरेर जुटाएको पैसाबाट सामुदायिक भवन निर्माण