बागलुङ, २६ बैशाख – अखिल नेपाल फुटबल संघ (एन्फा) मा पदाधिकारी मनोनित भएका छन् । साथै १० दिनभित्र राष्ट्रिय लिगको मिति घोषणा गर्ने गरी पूर्व डीआईजी विज्ञानराज शर्माको नेतृत्वमा लिग कमिटी गठन भएको छ ।
नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले पदबहाली गरे लगतै कार्यकारिणी समितिको बैठक बसेको थियो, जसले १५ बुँदे निर्णय गरेको छ । बैठकले महासचिवमा इन्द्रमान तुलाधर मनोनित गरेको छ । उनी पूर्वसीइओ हुन् ।
संघको मानार्थ अध्यक्षमा टासी घले, उपाध्यक्षमा किशोर राई मनोनित भएका छन् भने आर्थिक समितिको संयोजकमा शिक्षित पराजुली, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारीसहित सल्लाहकार समितिको संयोजकमा नविन पाण्डे र कोषाध्यक्षमा रवीन्द्र जोशी मनोनित भएका छन् ।
बैठकले पूर्व खेलाडी एवं डीआईजी शर्माको संयोजकत्वमा लिग कमिटी बनाएको छ । यो समितिले सरोकारबालाहरुसँग परामर्श गरेर १० दिनाभित्र लिगको मिति घोषणा गर्नुका साथै लिगको ढाँचाबारे निर्णय गर्ने प्रवक्ता किरण राईले बताए ।
मोफसलका फुटबल प्रतियोगिताहरुको स्तर निर्धारण र नियमन गर्न समिति बन्ने भएको छ । साथै जिल्लाहरुमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्न उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा समिति बनाउने निर्णय पनि भएको छ । कार्यकारिणी बैठकले एन्फाका एकेडेमीहरुलाई तत्काल सञ्चालनमा ल्याउने निर्णय गर्दै यसका लागि कार्ययोजना बनाउने जिम्मा उपाध्यक्ष राईलाई दिएको छ ।
अध्यक्ष र चार उपाध्यक्ष रहेको स्टेरिङ कमिटी बनेको छ, जसमा महासचिव, कोषाध्यक्ष र प्रवक्ता पदेन सदस्य हुनेछन् । साथै ललित स्मृति यू-१८ प्रतियोगिता आगामी जेठ २९ गतेबाट गर्ने निर्णय पनि भएको एन्फाले जनाएको छ ।
Previous Articleराष्ट्रियसभामा माओवादी संसदीय दलको नेतामा शर्मा
Next Article साँढे ३३ किलो सुन प्रकरण : ५० वकिलले बहस गर्ने