बागलुङ, २४ बैशाख–
ताराखोला गाउँपालिकाले उद्यमी बढाउने अभियान थालेको छ । प्राप्त साधन श्रोतको सहयोगमा गाउँपालिकाले आत्मनिर्भर बन्ने र युवालाई रोजगारी बनाउने तयारी गरेको हो । यो अभियानले युवाहरुमा उत्साह समेत थपेको छ । ‘उद्यमी भएर काम गर्नका लागि तालिम गरेकी छु’ ताराखोला–२ खलडाँडाकी अमृता छन्त्यालले भनिन्, ‘केही सहयोग पाएमा बुटिकको सामान बनाएर उद्यमी बन्ने चाहना छ ।’ उनले साथीहरुको समूह बनाएर बुटिक भरेका सामान बेचेर कमाई गर्न आवस्यक सामाग्रीको खोजीमा हिडेको बताईन् । गाउँका अन्यले पनि हजारौं खर्चेर बजारबाट ल्याउने सामान आँफै उत्पादन गर्न हौसिएको बताए ।
उनले आवस्यक सामाग्रीको सहयोग पाएमा १० जनाको समूहमा बसेर काम गर्ने तयारी गरेको बताईन् । ताराखोला गाउँपालिकाले रोजगारी बढाउन ‘घरघरमा उद्यमी उत्पादन’को काम थालेपछि युवा महिलाहरुमा काम गर्ने जोश पलाएको हो । गाउँपालिकाले ५ बर्षमा कम्तिमा ३ हजार ९ सय युवालाई आत्मनिर्भर व्यवसायमा लगाउने योजना बनाएको प्रमुख प्रकाश घर्तीले बताए । यो अभियानलाई घरेलु तथा साना उद्योग विकास समिति, लघुउद्यम विकास कार्यक्रम, जिल्ला लघुउद्यमी समूह संघ तथा संगम तालिम तथा परामर्श केन्द्रले सहयोग गरेका छन् । ‘गाउँभर उद्यमी बनाउने लहरै चलेको रहेछ, त्यसैले हामीले पनि तालिमका प्याकेज यहाँ ल्याएका छौं’ समितिकी उद्यम विकास सहजकर्ता छमाया घर्तीले भनिन् ‘व्यवसायमा आर्कर्षित गर्न १० दिने उद्यमशिलता तालिम र व्यवसाय छनौट गरेकालाई ४५ दिने व्यवसायिक तालिम दिईरहेका छौं ।’ यस्तो तालिमपछि उद्यमीले उत्पादन गर्ने बस्तुको बजारीकरणमा पनि सबै संस्थाले पहल गरिदिएका छन् । यहाँ अल्लोको धागो, सिस्नोको पाउडर, भाँङ्ग्रो बुनाई, साडीमा कडाई भर्ने तथा पच्छ्यौरा लगायतका कपडामा बुटिक भर्ने काममा अधिकांस महिलाहरु सक्रिय छन् ।
उनीहरुले त्यस्ता कामबाट राम्रो कमाई पनि गर्न थालेका छन् । पुरुषहरुले फर्निचर व्यवसाय, ढुंगा कुँद्ने तथा सिकर्मीको काम गरेर रोजगार बन्न थालेका छन् । उनीहरुको आर्कषणबाट गाउँपालिकाले सोचेको लक्ष्य समयमै पुरा हुने आशा पलाएको घर्तीले बताए । उनीका झोला बुन्ने, गलैचा बनाउने लगायतका काममा महिला उद्यमीलाई पुरुषहरुले पनि साथ दिएका छन् । घरघरमा र समूहमा बसेर पनि उद्यमीहरुले काम गरिरहेकोले केही समयमै आत्मनिर्भर र आर्थिक उन्नतीमा पुग्न सकिने घर्तीको विश्वास छ । यो अभियानमा गाउँपालिकाले आफ्नो बजेटको लगानी गरेको छ । त्यस्तै अन्य गैरसरकारी संस्था र सरकारका विभागीय कार्यालयले पनि कामका लागि ताराखोला गाउँपालिका छनौट गरेका छन् । ‘अन्य ठाउँमा पनि माग आएका छन्, तर सबैको सामुहिक तत्परता देखेर ताराखोलामा पहिलो चरणका काम थालेका हौं’ केन्द्रकी सदस्य अनिता तिवारीले भनिन्, ‘गाउँपालिकाका कर्मचारी, पदाधिकारी र सर्वसाधारणले मिलेर काम गरेकोले हामीलाई पनि यहाँ बढी आर्कषण गरेको छ ।’ धेरै उद्यमीहरुले जाँगर चलाएकोले एकैपटक बजार खोज्न पनि सहज हुने उनले बताईन् ।
यहाँ दलित महिला, जनजाती र अन्य समूहका छुट्टाछुट्टै र सामुहिक समूहहरु निर्माण भएका छन् । उनीहरुले आवस्यकताको आधारमा व्यवसाय छनौट गरेर काम थालेका हुन् । गाउँपालिकाले जस्तापाता ल्याउन रोक लगाएकोले स्थानीय ढुंगा खानीले पनि काम पाएका छन् । घर छाउनका लागि ती ढुंगा प्रयोग हुन्छन् । त्यस्तै रसायनिक मलमा प्रतिवन्ध लगाएर गाउँमै जैविक मलको प्रयोगले तरकारी खेती, आलु र अलैची खेतीलाई प्राथमिकता दिइएको छ । ती काममा पनि धेरै युवाहरुले काम पाउन थालेका छन् ।
Previous Articleआगामी दुई वर्षभित्र किसानलाई पेन्सन
Next Article २४ वैशाख २०७५, ढोरपाटन दैनिक