राजेशचन्द्र राजभण्डारी
नेपालमा सबैभन्दा बढी चर्चा कस्को छ भनेर प्रश्न सोध्ने होभने सानो बच्चाले पनि यसको जवाफ दिन सक्छन् । त्यो हो ३३ केजी सुनकाण्ड भनेर दिन प्रतिदिन पेचिलो बन्दै गइरहेको सुन काण्डले नयाँ–नयाँ रूप धारण गरिरहेको छ । साँच्चै यो प्रकरण कहाँ गएर टुंगिन्छ सबैको चासोको बिषय बनेको छ । अहिलेसम्म यो सुन काण्डमा जोडिएका ३ जनाको नियोजित रूपमा हत्या भइसकेको छ । प्रहरीका सानो तहकादेखि पुर्बप्रहरी प्रमुखको समेत ३३ केजी सुनकाण्डमा हात रहेको कुरा अहिले सार्वजनिक भएको छ । हुनतः जुन समयमा प्रहरी प्रमुखमा प्रकाश अर्याललाई सरकारले नियुक्ति गर्दै गर्दा घटेको सुनकाण्ड त्यतिबेला नै मुर्तरूप लिने थियो । जुन बेला उनलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गरेपछि सुनकाण्ड ओझेलमा परेको हो ।
बागलुङ जिल्लामा निर्माण भएको सरकारी वकिलको कार्यालय भवन उद्घाटन समारोहमा नेपाल सरकारका पुर्ब महान्यायधिबक्ता रमन कुमार श्रेष्ठले भाषणमै भनेका थिए– अहिले सरकारले जसलाई प्रहरी प्रमुख बनाएको छ त्यो ब्यक्ति ३३ केजी सुन प्रकरणमा जोडिएका हुन् । अहिले कार्वाही हुुनुुपर्ने मान्छे प्रहरी प्रमुख बनेको हुनाले सुनकाण्ड ओझेलमा परेको बताए थिए । अहिले जसरी घटनाक्रम अगाडि बढिरहेको छ यसबाट के कुरा स्पष्ट हुन्छ भने नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट हुने सुन तस्करीमा सबैको मिलोमतो छ । त्यो बिना यहाँ तस्करी संभव छैन भन्ने कुरा पुष्टि भएको छ । बागलुङमा एक बर्षअघि नेपाल सरकारका कानुन सल्लाहकार रमन कुमार श्रेष्ठले उद्घाटन भाषण मै सुन तस्करी कसरी ओझेलमा पर्न गयो भनेर भन्दै गर्दा उनको कुरालाई धेरैले हल्का ढंगले लिएको पाइयो । सायद त्यहीँ बेला सरकारले आँट गरेको भए सुनकाण्डमा मुछिएका मान्छेको हत्या हुने थिएन होला ।
लहोर तान्दै गर्दा पहरो थर्किन्छ भन्ने नेपाली उखान त्यसै बनेको हैन । नेपालमा दिनहुँ सुन तस्करी हुने गरेको कुरा दिनको घाम झै छर्लङ्ग छ । जब देशमा सरकार परिवर्तन हुन्छ तब त्रिभुवन विमानस्थलभित्र काम गर्ने प्रहरी प्रमुखदेखि कर्मचारी फेरबदल हुने गर्छ । त्यहाँ जान कर्मचारी र प्रहरीले टेन्डरनै खोल्छन् भन्दा फरक पर्दैन । किन हानथाप हुन्छ एअरपोर्ट भन्सारमा जान भनेर रहस्य बल्ल खुल्दै गएको छ । सुनको कारोबार गर्ने दलालले सबै क्षेत्रमा रहेका ब्यक्ति किनेर आफ्नो ठगीधन्दा मजाले चलाइरहेको छ । थोरै पैसाको लागि आफ्नो मान मर्यादा र पद प्रतिष्ठा सबै दाउमा राखेर काम गरेको कारणले आज एकपछि अर्को प्रहरी प्रमुख पक्राउ पर्दै गइरहेको छ । सुनकाण्डमा प्रहरी अधिकारी लोहनीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरूद्ध मुद्दा दर्ता भएको छ ।
सुन तस्करी प्रकरणमा संलग्न ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको छ । अहिले सरकारले गरेको काम हेर्दा साँच्चै यसपटक सुनकाण्डले नेपालमा अहिलेसम्म भएको सुन तस्करीको पर्दाफास गर्छ कि देखिने खाली भरिया मात्रै हो, मालिक को हो पत्तो नै नहुने त हैन प्रमुख प्रश्न यो हो । अहिलेसम्म सुनका भरिया भनेर चिनिने सनम शाक्यको हत्यापछि ३३ केजी सुन प्रकरण झन एकपछि अर्को रहस्यमय बन्दै जाँदा पुर्ब आइजिपी समेत सुन काण्डमा मुछिएपछि अब बाँकी के रह्यो र सबै कुरा छताछुल्ल भइसकेको छ । पैसाको लागि मालिकको नोकर बनिसकेका दलाल र दासहरू जबसम्म देशमा रहन्छन् तबसम्म माफिया तस्करले सुन तस्करी गराई रहन्छन् र काम भइरहन्छ ।
पन्चायत कालदेखि नै चलिरहेको सुन तस्करी अहिले गणतन्त्र आइसक्दा पनि क्रमभंग हुन सकेको भने छैन निरन्तर रूपमा चलिरहेको छ । देशमा जस्तोसुकै सरकार बनोस् तस्करलाई कुनै मतलब छैन । उसले गर्ने सुन तस्करीको सेटिङ भने कायमै छ । पन्चायत कालमा एकजना माननीय चन्द्रबहादुरले २५ केजीको सुनको कोट लाएर काठमाडौ एअरपोर्टमा झर्दा सुन गरूङगो भएर पल्टिँदा मात्रै थाहा भएको थियो । यतिबेला हामी सबै मिलेर देशलाई राम्रो बनाउने होभने जहाँ–जहाँ नराम्रो र गलत प्रबृत्ति छ त्यसलाई ठेगान लगाउन जरुरी छ । जसरी दिनहुँ जसो तस्करीका सुन अन्तराष्ट्रिय बिमानस्थलबाट भित्रिने काम जारी रहेको छ । यो हुनुको पछाडि सबै क्षेत्रको मिलोमतो नै हो भन्ने कुरामा कुनै शंका छैन ।
कुख्यात अपराधी चाल्र्स शोभराजले भनेका थिए– नेपालको अन्तराष्ट्रिय एअरपोर्टबाट मैले हात्ती छिराइदिन सक्छु भनेर खुलेआम भनेको भनाई साँच्चै सत्यता छ । सर्बसाधारणले घरायसी सामान ल्याउने बेलामा जर्बजस्ती दुःख दिने भन्सारका कर्मचारी टनका टन सुन पास हुँदा सिसि टिभी क्यामेराले किन काम गर्दैन त ? हामीले जतिसुकै ठुलो कुरा गरेपनि हामीभन्दा सुन तस्कर नै माहिर देखिन्छ । सरकारले ६२ जना सुन तस्करमा सहयोग गर्ने मतियारलाई मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिनुलाई पनि ठुलो उपलब्धि मान्नुपर्छ । अहिले भएको गतिविधिले भबिष्यमा कुनैपनि खालको तस्करी नहुने बाताबरण बनाउन सक्नुपर्छ । तस्करीमा सहयोगी भुमिका खेल्ने ६२ जनाको सम्पत्ति छानबिन गर्ने, बैंक तथा बित्तिय संस्थामा भएको खाता सबै छानवीन गर्न जरुरी देखिन्छ । सुन तस्करी भएको सरकारले सुनचाँदी ब्यबसायीले माग गरेबमोजिम सुन राष्ट्र बैंकले नदिएर हो भन्ने भनाई सान्र्दभिक छ । ब्यबसायीको माग दैनिक ५० केजी भए ५० केजी दिनुपर्छ हामीले एकातिर खुला अर्थ बजार भन्छौ अर्कोतिर सुन दिने कुरामा सिन्डिकेट गर्छाैं अनि किन हँुदैन त सुन तस्करी ? कारण हामी भित्र छ समाधान पनि हामीसंगै छ ।
सरकारले ल्याएको नीति कै कारणले सुन तस्करी भइरहेको देखिन्छ । अबदेखि ब्यबसायीले मागे जति सुन दिने नीति बनाउने होभने समस्याको समाधान हुने निश्चित छ । सरकारले ल्याएको नीति नै सुन तस्करी गराउने खालको भएको देखिन्छ । सुन तस्करीका भरिया मात्रै पक्राउ परिरहेका छन् । सधैं भरिया मात्रै मालिक कहिले पक्राउ पर्ने हो । मालिकसम्म कहिले पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ । जबसम्म मालिक र मलिकलाइ संरक्षण गर्ने हाम्रो परिपाटी भइरहन्छ तबसम्म पक्राउ परेका केही भरियाहरू पनि केही महिना भित्र धरौटीमा छुट्ने छन् । देशमा फेरि पनि सुनको तस्करीको निरन्तरता भने कायमै रहनेछ । सुन तस्करीका मुख्य नाइके भनेर प्रचारमा आएका चुडामणि उप्रेती गोरेलाई पक्राउ गरेर कानुनी कार्वाही गरि बाँकी भएका सुन काण्डका पात्रलाई पनि सार्वजनिक गर्न सकेमात्र तस्करीलाई न्युनिकरण गर्न सकिन्छ । हैन भने फेरि भोलि नयाँ भरियामार्फत सुन तस्करी हुँदै जानेछ । तस्करीको सिन्डिकेटलाई तोड्न जरुरी छ ।