बागलुङ, २३ बैशाख– बागलुङ नगरपालिका वडा नं. ५, ६ र ७ मा फैलिएका विभिन्न वनमा चिडियाखाना बनाउनका लागि अध्ययन शुरु गरिएको छ । नगरपालिकाको अगुवाईमा राष्ट्रिय बन्यजन्तु संरक्षण विभागले प्रारम्भिक तहको अध्ययन गरिसकेको छ । बिभागको टोलीले गरेको अध्ययनको प्रतिवेदन शुक्रबार नगरप्रमुख जनकराज पौडेललाई हस्तान्तरण समेत गरिसकेको छ । उक्त अवसरमा धार्मिक तथा पर्यटकीय क्षेत्र बन्दै गरेको पञ्चकोट आसपासमा भएकोले यो अभियानले ठूलो महत्व पाउने विश्वास लिइएको छ ।
साथै बन्यजन्तु संरक्षण गर्दा वातावरण संरक्षणमा पनि सहयोग पुग्ने बताइएको हो । शुक्रबार आयोजित एक कार्यक्रममा अध्ययन टोलीका प्रमुख नारायण रुपाखेतीले यो अभियानलाई मुर्त रुप दिन परियोजनाको विस्तृत प्रतिवेदन बनाएर लगानी भित्राउनु पर्नेमा जोड दिएका थिए । विज्ञ समूहको रुपमा नारायण रुपाखेती, शेरसिंह ठगुन्ना र राजकुमार गुरुङलाई खटाएको थियो । बिभागको मापदण्डमा कम्तिमा १५ हेक्टर जमिन तथा जंगल भएमा संरक्षण क्षेत्रको रुपमा बिकास गर्न सकिने प्रावधान अनुसार यो क्षेत्रलाई संभाव्यतामा राखिएको रुपाखेतीले बताए ।
रुपाखेतीले प्रस्तुत प्रतिवेदनका आधारमा संरक्षणका लागि काम अगाडि बढाउन सकिने भएकोले नगरपालिकालाई काम थाल्न आग्रह पनि गरे । नगर प्रमुख जनकराज पौडेलले पनि यो अभियानलाई अगाडि बढाउने तयारी भएको बताए । साथै उनले छिमेकी म्याग्दीको जनप्रतिनिधिसंग पनि छलफल बढाउने बताए । नगरपालिकाले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९, वन ऐन २०४९ र स्थानीय सरकार संचालन ऐन २०७४को परिधिभित्र रहेर संरक्षण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । यसरी संरक्षण क्षेत्र बनाउँदा बागलुङ बजारदेखि ढोरपाटनसम्म उच्च पहाडी जंगली क्षेत्रबाट पदमार्ग समेत बनाउन सकिने उनीहरुको सुझाव छ ।
संरक्षण क्षेत्र बनाउँदा सल्लोको बनमा आगलागी हुन सक्ने र भैहालेमा जंगली जनावरको खतराप्रति बिकल्प बनाउने, खानेपानीको व्यवस्थापन र हाल उक्त जंगलबाट बस्तीमा ल्याएको पानीका मुहान संरक्षण तथा जनावरमा सर्ने जुनोसिस् रोग बिरुद्धको अभियान संचालन गर्नुपर्ने बिज्ञटोलीले सुझाव दिएका छन् । नगर प्रमुख पौडेलले नगर विकास कोषले पनि अनुदान सहयोग गर्न चाहेकोले कामले छिटै मुर्त रुप लिने बताएका छन् ।
Previous Articleबसपार्कबाट फालियो सबै यातायात समितिका काउन्टर
Next Article शुल्क वृद्विविरुद्व विद्यार्थी आन्दोलित