काठमाडौं, २१ वैशाख – सरकारले राजधानीको गोंगबुस्थित नयाँ बसपार्कबाट सबै यातायात समिति र संघका काउन्टर हटाएको छ । यातायात व्यवस्था विभागका अनुसार समिति र संघका सबै काउन्टर र त्यहाँ राखिएका बोर्ड हटाएर विभिन्न यातायात कम्पनीहरुका बोर्ड राख्न निर्देशन दिए लगत्तै सबै पुराना काउन्टर हटाइएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुलसी अर्यालका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने क्रममा नयाँ बसपार्कबाट समिति र संघका बोर्ड हटाइएको हो ।
‘मन्त्रालयको निर्णयानुसार विभागले बसपार्क व्यवस्थापन हेरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई समिति र संघका सबै बोर्ड खाली गर्न निर्देशन दिइसकेका छौं’, अर्यालले भने, ‘खाली गरिएका काउन्टरमा विभिन्न कम्पनीहरुका बोर्ड राख्न पनि भनिसकेका छौँ ।’ विभागका प्रवक्ता अर्यालले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार यस्तो निर्णय गरिएको हो ।
गाडी ग्यारेजमा थन्काएर सरकारलाई असहयोग गर्ने २६ वटा माइक्रोको रुट इजाजत पनि खारेज गरिएको अर्यालले बताए । मन्त्रालयको निर्णयपछि विभागले नयाँ बसपार्कमा अब कम्पनीहरुका मात्रै बोर्ड राख्न पनि ल्होत्से प्रालिलाई निर्देशन दिएको छ ।
अर्यालले ल्होत्सेले काउन्टर हटाउन सुरक्षा मागेपछि त्यहाँस्थित प्रहरीलाई आवश्यक सुरक्षा प्रबन्ध गर्न पनि भनिसकिएको जानकारी दिए । विभिन्न समिति र संघको नाममा नयाँ बसपार्कबाट यात्रा गर्ने यात्रुले दैनिक ठगिनुपरेको छ । बसपार्कमा टिकटका लागि हुने दलाली र बिचौलियाका कारण यात्रुले समस्या बेहोर्नुपरेका बेला सरकारको यस्तो कदम आएको हो ।
Previous Articleवनबाट एक बर्षमा एक लाख रोजगारी सिर्जना गरिदै
Next Article मालिकामा चिडियाखाना बनाउन अध्ययन शुरु